ब्रम्हशील ज्ञान

ब्रम्हशील ज्ञान


अनाथ अङ्कल

मृत पहाड
सुन्यतामा झरीको आवाज झैँ
हावाको पिसाईले खुम्चिँदै
फेदीबाट रसाउन थाल्छ,
अमृतको वर्षा
आफूमा रोक्न नसकेर
अभिमानको उचाई निचोर्दै
तलाउमा खसाउन थाल्छ।

पहाड अहंकारमा रित्तिँदै
अन्जुली धारा समेटेर
खाली मैदानमा झिल
ज्ञानको सानो सागर
गोधुलीमा ज्योति झैँ
परेली झिम्काउन थाल्दछ,
माथि सकिनु
आफूलाई खाली गर्नु
सकिनु नभएर भरिनु
ओइलाउनु नभएर फुल्नु
विरोधाभाषले सम्झाउदै
इशाराले बोलाउन थाल्दछ।

अहंकारको पहाड
आफू खाली भएर
धमिलो भेल र मूल डोऱ्याउँदै
तलाउ र खोलामा निखारे झैँ
सम्पूर्ण सृष्टि धारण गरेको
समुन्द्रमा लगेर मिलाउँछ
खाली हुनु भरिनुको अन्तरविरोधमा
समयको बहावमा फेरिंदै
आफूलाई अज्ञात गन्तब्यतिर
उर्जाले चलाई रहन्छ
समुन्द्रले बादल बनेर
पहाडभरि,
चाहे ति नाङ्गा किन नहुन्
वा हरिया वृक्षलतामय किन नहुन्
थोपा थोपाबाट गलाई दिन्छ,
विराटतामा गहनताले
सागरलाई नुघाइदिन्छ,
विनयशीलताको प्रेमले
नदी, झरना र नाली
एउटै आँगनमा सुकाएर
पवनको देशमा
कोशेली बनाइ पठाइदिन्छ।

अहा ! ब्रह्म रित !!
ब्याप्त उर्जा र गतिशीलता
खालिभित्र पूर्णता
पूर्णताभित्र रिक्तता !
कला ! सागर कला !!
जति तल उति गहन
जति गहन उति विशाल
जति विशाल उति विनयी
जति विनयी उति ज्ञानी
जति ज्ञानी उति समर्पित !
सागर !
समर्पणमा सागर
ग्रहण कलामा सागर
वाष्प कलामा सागर
वर्षातमा सागर
चोटीभन्दा माथि
वाष्प बनेर सागर
सागर कला नभएर के हो त ?
वर्षातमा थोपा
खोँचमा पसिना
ओरालीमा झरना
खाडलमा तलाउ
मिलनमा नदी
योग्यतामा महासागर
जलचक्र कला नभएर के हो त ?

जो माथि आवाज र गड्गडाहट
जुन तल ऊ शान्त
जो सबैभन्दा माथि ऊ आक्रान्त
जो समानतामा बसेको छ ऊ शान्त
तर चाहनाको उर्जा
अज्ञात जोतिर्मय यात्रामा
सुस्केराहरुको कोलाहलले
एकदिन थकाइ मेट्छ
हो त्यहिबाट,
हो त्यहि समयको विरोधाभाषमा
जलचक्र, ब्रह्मचक्र बन्दछ
हामी अलमलिन्छौँ
अन्तिम विश्रान्तिको भ्रमले
हामी भ्रमित हुन्छौँ।
कहाँ छ ब्रमाण्डमा विश्राम
हिजोको पानि
देखेको ठाउँमा अहिले कहाँ छ ?
सुतेको बिरामीको चाल
समुन्द्रको छाल झैँ
चलायमान छ सबैतिर
बिहानीको सुर्य उस्तै देखिए पनि
उहीँ उर्जाको प्रकाश कहाँ छ ?

ब्रम्हशील
प्रकृति कला
समुन्द्र विनयी
सबैभन्दा निम्न स्थान
जहाँ पुग्नकोलागि खोला कुद्छन
जसलाई चुम्नको लागि नदी बहन्छिन्
विनयशीलताको पराकाष्टा
ज्ञानको शितलाकार
सत्यको अनुभव
रुपान्तरणको प्रथम चरण !
प्रेमको अभ्युदय
प्रेम भावना
प्रेम वाष्प
प्रेम समर्पण
त्यहिँबाट शुरु हुन्छ आकाशतर्फको यात्रा
भावमा भावना बनेर
खालीमा भारी बनेर
सुद्धतामा अमृत बनेर
मृत अस्थी झैं
त्यसपछिको अर्को अन्त्य हुँदैन,
गन्तब्यको कुनै श्रब्य हुँदैन,
जीवात्माको तस्बिर नभए झैं
रुपान्तरणको कुनै दृश्य हुँदैन ।
आउ समाउ तलतिरको यात्रा
अहमताको गद्दी त्याग र जमिनमा टेक
मिथक त्याग र मस्तिष्क रित्याउ
गतिको पहिचानमा
एक तपस्वी बन
उर्जाको समर्पणमा समुन्द्र बन
समयको विरोधाभाषमा पृथ्वी बन
र अन्तमा,
ज्ञानको बिशालातामा बुद्ध बन !