धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका-८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले रु ५० लाख रकम माग गरेका थिए । विष्णुको परिवार अपहरणकारीलाई रु २० लाख दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए ।
अपहरणकारीले रु २० लाख लिएर सर्लाहीको मलङ्गवानजिक नेपाल-भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । ‘हामीले यसबारे भारतीय प्रहरीलाई खबर गऱ्यौँ’, धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भने- ‘भारतीय प्रहरीले दुई शव भेटेपछि आज हामीलाई खबर गरेको हो ।’
भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको डिएसपी क्षेत्रीको भनाइ छ । हत्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जनाइएको छ ।
प्रतिक्रिया