बरखीको तितामिठा अनुभूति

बरखीको तितामिठा अनुभूति


बलराम उपाध्याय सिलवाल

आफ्नो बाबुआमा लाखौँ वर्षतक बाँच्दिए हुन्थ्यो लाग्छ छोराछोरीलाई । दैवको लाठो बज्रन्छ, अनि कामना धूलिसात् । चाहेर नि चाहेको नपुग्दो रहेछ । २०७८ साल माघ २७ गते मैले बुबा गुमाएँ । मैले बुबाको चाहनाअनुसार निष्ठापूर्वक अनुशासित ढङ्गले (अहिलेको जुग बमोजिम) बरखी बार्ने निधो गरेँ । २०३७ सालतिर हो जस्तो लाग्छ, बुबाले हजुरआमाको बरखी बार्नु भएको मैले देखेको थिएँ । उहाँ चुवाडीको पानी पिउनुहुन्थ्यो, भुइँमा पराल ओछ्याएर सुत्नु हुन्थ्यो । टाँक नभएको सेतो पहिरन पहिरिनु हुन्थ्यो, अस्पृश्य/परधर्मीसित बोल्नु हुन्नथ्यो । सात्विक भोजन ग्रहण गर्नुहुन्थ्यो । बुबाले बार्नुभएको जति नसके नि पचास फिसदी बारेँ हुँला । मान्छेको भिडभाडमा गइनँ, झगडा गरेको ठाउँमा गइनँ । मिथ्या बोलिनँ, परनिन्दा गरिनँ । हुटेल/रेस्टुरेन्ट धाइनँ । ब्रम्हचर्य पालन गरेँ । तामसी भोजन खाइनँ । गफक्कड/परधर्मीसित वञ्चित रहें । परधर्मीहरू मसित रिसाए । रिसाएर के गर्नु र ? हाम्रो वैदिक सनातन धर्मले यस्तै व्यवस्था गरेको छ । मान्छे बन्न आफ्नो धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, भेषभुषा, साहित्य, शास्त्र, दर्शन र मूल्यमान्यता मान्नुपर्छ । यी तत्वहरूबाट बाहिरेसि लिक छोडेको रेलगाडी जस्तो हुन्छ ।

वार्तालापको उपक्रममा गुरूबाले लुगा फुकाउने हो, बरखी फुकाउने भन्ने कुरा हुन्न भन्नुभयो । बरखी फुकाउने सन्दर्भमा निर्णय सिन्धु÷धर्म सिन्धुले बोलेको जस्तो लागेन । कारणले गर्दा कमिस्टको नेता झैं भूमिगत हुनुपरो । पितृकर्म करले गर्ने होओइन । यो स्वेच्छिक र शास्त्रगत हो । छोराछोरीले पितृऋण चुकाउनु पर्छ, ऋण तिर्न पछि पर्नुहुन्न । पितृऋण नचुकाउने मोरोले चुकाउने छोरोको डाढो गर्छ ।

आफू चिन्तन-मननमा कमजोर भएसि पुरोहित/पण्डितलाई दोस्याएर मात्र हुन्न ।

कलियुगको आयु ४ लाख ३२ हजार वर्ष । ६ हजार वर्ष कलि नबित्दै मान्छेहरू भविष्य पुराण र देवी भागवतले भविष्यवाणी गरे झैँ किन भ्रष्ट, अधर्मी र पापी भए भन्ने मेरो सोधाइमा जानिफकारले यस्तो जवाफ दिए, ‘तपाईंको भनाइ मुनासिव हो तर सूर्य ग्रहण/चन्द्र ग्रहण र सोमबारे औंसीहरूले प्रत्येक १२ वर्षको दरले कलियुगको आयु छिन्न पार्ने भएकोले ४ लाख ३२ हजार वर्ष कुर्नु पर्दैन । १० हजार वर्ष बित्दा नबित्दै विश्वब्रम्हाण्डको विनाश हुन्छ । सनातनी दर्शन वैज्ञानिक र ताथ्यिक हुनाले यसमा विश्वास गर्नुपर्ने धेरै आधारहरू छन् ।’

आफ्नो सर परे विश्वास असर गरे अन्धविश्वास भन्ने बेहोर उति गतिलो जँच्दैन । गरुड पुराणको अनर्थ लगाउने अनि यसको नीति पछ्याउने । परोपकार पुण्याय पापाय परपीडनम् मूलमन्त्रले भने झैं परोपकार गरे पुण्य मिल्छ पीडा दिए पाप भोग्नुपर्छ । पुण्यात्माले केही पुण्य यही मर्त्यलोकमा र बाँकी पुण्य स्वर्गमा भोग्छ । यस्तै पापात्माले केही पाप यहीं र बाँकी पाप नर्कमा भोग्छ । पुण्य गरे पाप र पाप गरे पुण्य हुन्न । मरेसि हुने परिणाम चेतेर बेला छँदै परब्रह्मीय मार्ग पछ्याउनु पर्छ ।

यी मेरा नितान्त व्यक्तिगत विचारहरू हुन् । आफ्नो ब्रम्हले देखेको कर्म गर्ने हो । अर्काको आँखाले किन हेर्नुपऱ्यो र ? बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।