परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन विज्ञसँग परामर्श गरिने

परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन विज्ञसँग परामर्श गरिने


  • तस्बिर रासस

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति-२०७७ लाई समयसापेक्ष बनाउन आवश्यकताअनुसार विज्ञसँग परामर्श गरिने बताउनुभएको छ ।

सञ्चारकर्मीसँग बुधबार गरिएको अन्तरक्रियामा उहाँले बदलिँदो केही परिस्थितिअनुसार पनि परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयबाट जनतालाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै राहदानीका सम्बन्धमा देखिएको समस्या हल गरी सुधार गरिएको जानकारी समेत गराउनुभयो ।

सो अवसरमा मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदीले मन्त्री पौड्यालले श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन श्रीलङ्काको भ्रमण गर्नुहुने जानकारी गराउनुभयो ।

उहाँ आफ्ना श्रीलङ्काली समकक्षी अली साब्रीको निमन्त्रणमा कोलोम्बोमा यही माघ २० र २१ गतेमा हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुहुनेछ ।

परराष्ट्रमन्त्री पौड्यालले माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उहाँ माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुनुहुने, श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुहुने र राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । परराष्ट्रमन्त्री डा. पौड्याल माघ २० गते कोलम्बो प्रस्थान गर्नुहुने र माघ २५ गते काठमाडौँ फर्कनुहुने छ ।