कानून व्यवसायीहरूका माझमा ‘निर्झर भावगङ्गा’ तरङ्गित

कानून व्यवसायीहरूका माझमा ‘निर्झर भावगङ्गा’ तरङ्गित


‘असंवैधानिक इम्बोष्ड आवरणको पासो रद्ध नभए भाषाघातीहरू सर्वनाश हुने उद्घोष’

माता सरस्वतीको देदिव्यमान तस्बिरलाई प्रमुख अतिथिको आशनमा राखेर कानून व्यवसायीहरूका माझमा ‘निर्झर – भावगङ्गा’ तरङ्गित भएको छ । नेपाल कानून व्यवसायी भाषासाहित्य प्रतिष्ठा तथा निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त समारोहको अध्यक्षता प्रा. गुणनिधि न्यौपानेले गर्नुभएको थियो ।

उक्त निर्झर भावगङ्गामा वरिष्ठ अधिवक्ता हरि उप्रेती, विष्णु लुइँटेल, जुक्तिजङ्ग लामिछाने, ठाकुरराज आचार्य, रारामा, रामकृष्ण काफ्ले, तुलसीराम पोखरेल, भोजराज आचार्य, घमा भट्टराई आदि कानून व्यवसायी कविहरूले आ-आफ्ना ओजस्वी सिर्जनाहरू प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा गत पौष २३ गते सम्पन्न सर्वोच्च अदालत बार एशोसिएशन कार्यसमितिमा निर्वाचित हुनुभएका पदाधिकारी महानुभावहरूको कार्यकालको सफलताको कामना गरिएको थियो ।

समारोहमा विशिष्ठ अतिथि ने.बा.एका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, पूर्वउपाध्यक्ष्य व.अ. हरि उप्रेती, वर्तमान अध्यक्ष व.अ. हरिशंकर निरौलाले कानून व्यवसायी, न्यायलय, न्यायाधीश मात्र नभएर समग्र समाजका लागि भाषाको प्रभावकारिता र महत्त्व अत्यन्त प्रभावशाली रहने हुनाले भाषाको रक्षा, सेवा, संरक्षण र सम्मानका लागि आम कानून व्यवसायीहरू सधैं सचेत र जागरूक रहनुपर्ने तथ्य प्रकाश पारिएको थियो ।

सोही समारोहका वक्ताहरूले नेपालमा सञ्चालित सवारीका साधनहरूमा जोर-जबर्जस्ती लादिएको गैरकानूनी एवं असंवैधानिक ‘इम्बोष्ड आवरणको पासो’लाई यथाशीघ्र रद्द र बन्द गरेर हाम्रा सबै सवारीका साधनहरूमा सर्वसाधारण नागरिकहरूले बुझ्न सक्ने मौजुदा संविधानसम्मत हुने देवनागरी लिपिमा आधारित अक्षर र अंकहरू नै यथावत कायम हुनुपर्ने दर्बिलो अभिमत वक्ताहरूले राख्नुभएको थियो ।

असंवैधानिक ‘इम्बोष्ड नम्बर प्लेट’का विरोध र विरूद्धमा स्वदेश एवं विदेशका विभिन्न भूभागमा बसोबास गर्दै आइरहनु भएका जिम्दा नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा आम नानून व्यवसायीहरूले असहमति राख्तै आइराख्नुभएको तथ्यगत वास्तविकता उक्त समारोहमा प्रष्ट्याइएको थियो । ने.बा.ए.को सभाकक्षमा सम्पन्न उक्त कार्यक्रममा अधिवक्ता सल्लु तिवारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रको संयोजन प्रतिष्ठानका अध्यक्ष कवि/अधिवक्ता मातृदासले गर्नुभएको थियो ।