दुई महिलाको सहयोगमा अहेबद्वारा बालिका बलात्कृत, तीनै जना पक्राउ

दुई महिलाको सहयोगमा अहेबद्वारा बालिका बलात्कृत, तीनै जना पक्राउ


एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको र मानव बेचबिखनमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक स्वास्थ्यकर्मीसहित दुई महिलालाई पक्राउ गरी मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार बालिकालाई ललाइफकाइ होटलमा लगेर बलात्कार गरेको कसुरमा जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका स्वास्थ्यकर्मी तथा अहेब राजीवकुमार यादव पक्राउ परेका छन् ।

यादवसँगै बालिका बलात्कारमा सहयोग गर्ने गाईघाटका १९ वर्षीया सूचना राई र अर्का ४८ वर्षीया तीर्थमाया तामाङलाई पनि पक्राउ गरिएको छ ।

अनुसन्धानपछि म्याद थप गरेर अहेव यादवलाई बलात्कार र मानव बेचबिखन तथा दुई महिलालाई मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

खोटाङ घर भइ उदयपुरको गाईघाटमा डेरा गरी बस्दै आएकी कक्षा ८ मा अध्ययनरत बालिकालाई अहेव यादवले दुई महिलाको सहयोगमा दुई साताअगाडि गाईघाटस्थित एक होटलमा बलात्कार गरेका थिए । बालिका बलात्कृत भएको र अन्यत्र लाने तयारीसमेत गरेको भन्ने सूचना पाएपछि प्रहरीले आइतबार तीनै जना अभियुक्तलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि लागेको आरोपबारे थप अनुसन्धानका लागि मङ्गलबार म्याद थप गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षणछि अहिले सेफहाउसमा राखिएको छ ।