महाशिवरात्रिको अवशरमा पुरी शंकराचार्यको पशुपतिनाथमा विशेष कार्यक्रम

महाशिवरात्रिको अवशरमा पुरी शंकराचार्यको पशुपतिनाथमा विशेष कार्यक्रम


यस वर्ष महाशिवरात्रिको अवसर पारेर अनन्त विभूषित ऋग्वेदीय पूर्वाम्नाय श्रीगोवर्द्धनमठ-पुरीपीठाधीश्वर श्रीमज्जगद्गुरुशङ्कराचार्य स्वामीश्रीनिश्चलानन्द सरस्वती जी महाराजको आगमन हुने भएको छ । पशुपतिनाथ क्षेत्र विकाश कोषको प्रमुख आयोजना तथा शंकराचार्य मठ, पशुपतिनाथको सह-आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

भूकम्पबाट क्षतिग्रस्त बनेको पशुपतिनाथस्थित एक प्राचिन मन्दिरको पुननिर्माण भएको र सो मन्दिरको प्राण प्रतिष्ठासहित अनावरण शंकराचार्यको आगमनको अवसर पारेर गर्न लागिएको छ। फाल्गुन ४ गते गुरुको आगमन हुने र ७ गतेसम्म वहाँको कार्यक्रम तय भएको छ ।

हरेक दिन सत्संग, प्रश्नोत्तरी कार्यक्रम तथा गुरूबाट आशीर्वचन हुनेछ । श्रद्धालु भक्तजनहरूले महाशिवरात्रिको दिन श्री पशुपतिनाथस्थित शंकराचार्य मठको प्राङ्गणमा उपस्थित भएर तथा अन्य दिन गुरुको निवास स्थानमा मध्यान्हको समयमा गुरुको दर्शन गर्न र गुरुसमक्ष आफ्नो जिज्ञासा समेत राख्न सक्नेछन् ।

पुरी शंकराचार्य एक निष्ठावान धार्मिक सन्त, गुरु साथै महान गणितज्ञ तथा दार्शनिक समेत हुनुहुन्छ। विश्वका प्रशिद्ध वैज्ञानिकहरू तथा गणितज्ञहरू आफ्नो समस्या लिएर मार्गदर्शनका लागि शंकराचार्यकहाँ पुग्ने गर्दछन् । उहाँका करिब एकसय पचास भन्दा धेरै विविध विषयका ग्रन्थहरू समेत प्रकाशित छन्।

पुरीका शंकराचार्यलाई नेपाल तथा भारतमा अत्यन्त आदरका साथ सम्मान गरिन्छ । आजको आधुनिक र वैज्ञानिक भनिएको युगमा वेदरहित विज्ञानको कारण दिशाहीन सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रलाई सुधार गरी वेदसम्मत तथा वेदअनुकुल मार्गमा अघि बढि स्वस्थ क्रान्ति गर्नुपर्ने कुरामा जोड दिनुहुन्छ । धर्मनियन्त्रित, पक्षपातविहीन, शोषणविनिर्मुक्त, सर्वहितप्रद व्यक्ति तथा समाजको संरचनाका लागि स्वस्थ क्रान्ति आवश्यक भएको उहाँले बताउँदै आउनुभएको छ ।

ज्ञातव्य छ, नेपाललाई अत्यन्त आदर गर्ने शंकराचार्यले नेपालप्रति आफ्नो अपनत्व भएको बताउनुहुन्छ भने विगतका केहि वर्षहरूमा नेपालमा नियमित उहाँको कार्यक्रम हुँदै आएको छ।