नेपालको दुईदिने भ्रमण गर्दै भारतका विदेशसचिव क्वात्रा

नेपालको दुईदिने भ्रमण गर्दै भारतका विदेशसचिव क्वात्रा


छिमेकी मित्रराष्ट्र भारतका विदेश सचिव विनय क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिवसीय भ्रमण गर्न लाग्नुभएको छ । आगामी फाल्गुण १ र २ गते विदेश सचिव विनय क्वात्राले नेपाल भ्रमण गर्न लाग्नुभएको हो । विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हुनेछ ।

दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय दूतावासले जनाएको छ । भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र परराष्ट्र सचिव पौड्यालले भारत र नेपालबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्नुहुने बताइएको छ ।

भारत र नेपालबीच सभ्यतागत एवम् ऐतिहासिक सम्बन्ध रहेको छ । यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटि परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ । यो भ्रमणले हामीबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।