फागुन ४ गतेदेखि चौथो संस्करणको काहुँ धरहरा महोत्सव

फागुन ४ गतेदेखि चौथो संस्करणको काहुँ धरहरा महोत्सव


७ किलोमिटर पर्वतिय दौड आयोजना हुने

चौथो संस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतिय दौड आयोजना हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बढावा दिने उद्देश्यसहित आयोजित महोत्सवमा खेल पर्यटनलाईसमेत जोड्ने गरी पर्वतिय दौड समावेश गरिएको हो ।

आयोजक जनकल्याण युवा क्लबका अध्यक्ष देवबहादुर गुरुङ्गका अनुसार आगामी फागुन ४ गते देखि सुरु हुने महोत्सवमा ७ किलोमिटर दूरीमा पर्वतिय दौड हुनेछ । पोखरा महानगरपालिकाको रानीपौवादेखि काहुँडाडासम्मको ७ किलोमिटर दूरीमा दौड प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा सहभागिताका लागि दर्ता खुलिसकेको अध्यक्ष गुरुङ्गले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले १० हजार , दोश्रो हुनेले ७ हजार, तेश्रोले ५ हजार पाउनेछन् भने चौथो स्थान प्राप्त गर्नेले ३ हजार रुपैयाँ नगद र उत्कृष्ट २० जनालाई मेडल प्रदान गरिनेछ । महिलातर्फको इभेण्टमा पनि सोही बराबरको पुरस्कार राशी राखिएको छ । फागुन ४ गते हुने महोत्सवको उद्घाटनका दिन बिहान दौड आयोजना हुनेछ ।

पोखराको मुख्य बजारदेखि करिब ६ किलोमिटरको दूरीमा रहेको काहुँमा चौथो पटक काहुँ धरहरा पर्यटन महोत्सव हुन लागेको हो । महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकको छ । क्लबका अध्यक्ष गुरुङले काहूँको शुन्दरता र त्यहाँ अवस्थित धरहरालाई प्रचारप्रसार गरी आन्तरिक पर्यटनको वृद्धि गर्ने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए । २०२६ सालमा निर्मित काँहु धरहरा मुख्य बजारबाट नजिकै रहेरपनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको उनको ठम्याइ छ ।

काहुँ घरहरालाई पोखराको दृष्यावलोकनको गन्तब्य स्थानको रुपमा विकास गर्न महोत्सवको उल्लेख्य भूमिका रहने उनको भनाई छ । यसअघि २०६२, २०६५ र २०७५ सालमा क्वलवले महोत्सव सम्पन्न गरिसकेको छ । काहुँ धरहरा तथा काहुँ डाँडाबाट बाट सुर्यदय, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमश्रृंखला, वनजंगल, सेती नदी, लगायतका दृश्यवलोकन गर्न सकिन्छ । काहुँ धरहरासम्म पुग्न अहिले पिच सडक निर्माण भएको छ । काहुँ समुन्द्री सतहबाट १ हजार ४ सय ६० मिटरको उचाइमा रहेको छ ।