कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरु

कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन सुरु


  • तस्बिर : रासस

लोकवार्ता परिषद् नेपालको आयोजनामा पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन सुरु भएको छ । समूदायमा रहेका कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सम्मेलन सुरु गरिएको हो ।

जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष टङ्क खनालले सम्मेलनको उद्घाटन गर्नुहुँदै कतिपय लोक संस्कृति लोप हुने अवस्था रहेकोले यस्ता कार्यक्रमले संरक्षणमा सघाउ पुग्ने बताउनुभयो । “हाम्रा लोक सम्पदा, संस्कृति, परम्परा पछिल्लो पुस्तालाई पनि हस्तान्तरण गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “लोकवार्ताका विषयलाई कसरी आधुनिक समयानुकूल प्रयोग र उपयोग गर्ने भन्ने विषयमा पनि विज्ञहरुको सुझाव लिएर काम गर्नुपर्नेछ ।” उहाँले लोकवार्तालाई विज्ञानसँग जोडेर उपयोग गर्न सके आयआर्जनको माध्यम बनाउन सकिने बताउनुभयो ।

पाल्पाका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक महत्वका वस्तु तथा स्थानको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँको भनाइ छ । यहाँका स्थानीय संस्था, स्थानीय सरकारले लोकवार्ता परिषद्को अभियानलाई पछ्याउन पनि उहाँले सुझाव दिनुभयो । सम्मेलनको दोस्रो सत्रमा विभिन्न शीर्षकका कार्यपत्र प्रस्तुत तथा छलफल र बहस भएका छन् ।

प्रा डा माधवप्रसाद पोखरेलले संयोजन गर्नुभएको कार्यपत्र प्रस्तुति सत्रमा प्रा डा सावित्री मल्ल कक्षपतिले नेवार समुदायले मनाउने गथामुःग, झपेन्द्र जिसीले कडुवा गीत नृत्य : जीवन्त पाल्पाली संस्कृति एक झलक, कृष्णप्रसाद कोइरालाले रूरू क्षेत्र-एक प्रमुख धाार्मिक, पर्यटकीयस्थल, मन गैरेले तानसेनको ऐतिहासिक धरोहर अमरनारायण, रोहित ज्ञवालीले पाल्पाका ब्राह्मणको कुलायन पूजा परम्पराः यसको सांस्कृतिक तथा सामाजिक महत्वका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

यस्तै मदन देउरालीले पाल्पामा भएका मन्दिर र मनाइने जात्रा, प्रा डा भवेश्वर पङ्गेनीले पाल्पा र यसको गौरव ९पाल्पाको ऐतिहासिक तथा सांस्कृतिक महत्व०, विष्णु घर्ती ‘भनभनेली’ ले गुल्मेली घर्ती÷भुजेलः ऐतिहासिक परिचय, सभ्यता र वर्तमान अवस्था र रुवि सत्याल बिडारीले सर्वहितकारी चूर्णको परिचय शीर्षकका कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

सम्मेलनमा ६७ वटा कार्यपत्र प्रस्तुत हुने परिषद्का महासचिव प्रा डा ध्रुवप्रसाद भट्टराईले जानकारी दिनुभयो । स्थलगत अध्ययन गरेर त्यस ठाउँको लोककला लोकजीवन हेर्ने र अर्कोवर्ष त्यसैलाई कार्यपत्र तयार पारेर किताव छाप्ने काम गरिएको छ । कला संस्कृतिसहितको संरक्षण गर्दै मूर्तअमूर्त कला संस्कृतिको अध्ययन अवलोकन गर्दै कार्यपत्र प्रस्तुत गर्ने, प्रचारप्रसार गर्ने र त्यसलाई पुस्ककका रुपमा प्रकाशित गर्ने गरी सम्मेलनको आयोजना गरिएको लोकवार्ता परिषद नेपालका अध्यक्ष प्राध्यापक डा प्रेमकुमार खत्रीले बताउनुभयो ।

“राम्रा कुरा नयाँ पुस्तामा हस्तान्तरण गर्न, कला संस्कृतिको विकास गर्दै ज्ञान लिन र दिनका लागि चरणबद्ध रुपमा जिल्ला जिल्लामा स्थलगत रुपमा अवलोकन गरी लोकवार्ता सम्मेलन गरिरहेका छौँ, हाम्रा परम्परागत लोक संस्कृतिलाई बचाउन र त्यसलाई अभिलेखीकरण गर्नका लागि सम्मेलन आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो ।

सम्मेलन पाल्पाको रानीमहल, अर्गली, रिडी हुँदै गुल्मीको रिडी, तम्घास र अर्घाखाँचीको सन्धिखर्कमा पुगेर फागुन ११ गते सम्पन्न हुने परिषद्का अध्यक्ष प्रा डा खत्रीले जानकारी दिनुभयो । तानसेनमा भएको सम्मेलनलाई सफल बनाउन तानसेन नगरपालिकाका साथै बगनासकाली, रैनादेवीछहरा र रिब्दिकोट गाउँपालिका तथा पाल्पा बाँसटारी ढाकाटोपी उद्योग, ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पा, पौडेल ढाका उद्योग पाल्पाको सहयोग गरेका छन् ।

नेपालका ७७ वटै जिल्ला तथा भारतको सिक्किमबाट प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेको छ । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका छात्राहरुले मगर जातिको मौलिक पहिरनमा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । विसं २०७१ मा संस्था स्थापना गरी लोकजीवन, लोक संस्कृति, लोक साहित्य, भाषा संरक्षण तथा जगेर्ना गर्दै आइरहेको छ । यस संस्थाले नेपालका करिब २२ जिल्लामा सम्मेलन आयोजना गरेको बताइएको छ ।