नेपाल/नेपाली विकासमा किन पछि ?

नेपाल/नेपाली विकासमा किन पछि ?


वर्षौंदेखि राजनेता खोजियो, भेटिएन । चोट्टाहरूको फेरमा पर्नाले आयात बढ्यो, निर्यात घट्यो, रिन बढ्यो र चप्पल पड्काउनेहरू नवधनाढ्य बने । निष्ठाको राजनीति ‘लाजनीति’ बन्यो ।

✍ बलराम सिलवाल

जदौ । शीर्षकको जवाफ फर्काउँदा वर्तमान हेरेर मात्र पुग्दैन, इतिहास कोट्याउनुपर्छ । सोम वर्माको बखतमा नेपालको सिमाना कन्याकुमारीतक विस्तारित थियो । हामी कति शक्तिशाली, वैभवशाली र गौरवशाली थियौं, यही दृष्टान्तले पुष्ट्याउँछ । लिच्छविकाललाई स्वर्ण युग ठानिन्थ्यो । पृथ्वीनारायणको दूरदर्शितालाई कम आँक्न मिल्दैन । उनले चन्द्रागिरी डाँडोबाट काठमाडौं खाल्टोलाई नियाले, योजनाअनुरूप नेपाल मुलुकको एकीकरण गरे फगत उनले गोर्खा राज्य विस्तार गरेका होइनन् । अङ्ग्रेजीमा एउटा भनाइ छ- Everything is fair in love and war. (माया र लडाइँमा सबै कुरा जायज हुन्छ । ) लडाइँ सरल रेखामा हुन्न, अनेकौं हण्डरहरू खेप्नुपर्छ । ऊतिबेला यातायातको साधन थिएन, नदीनालाउपर पुलपुलेसा थिएन । सीमित जनशक्ति र हतियारको भरमा टिष्टादेखि देहरादूनसम्म विजयी हुनु भनेको चानचुने कुरो होइन । तत्कालीन बेलाइती साम्राज्यसित जुधेर उसको उपनिवेशबाट नेपाललाई मुक्त राख्नु, निश्चय नै साहसिक कार्य हो । त्यसबेला एउटा आहान प्रख्यात थियो- The sun never sets in the British Empire. (बेलाइती साम्राज्यमा सूर्य कहिल्यै नि अस्ताउन्न ।) अद्यापि कमनवेल्थको नाउँमा बग्रेल्ती मुलुकहरूले बेलाइती उपनिवेशवाद खेपेकै छन् । लडाइँको सानुतिनु अर्घेल्याइँ उधिनेर पृथ्वीनारायणको मानमर्दन गर्ने युरेलीहरू पक्कै कृतघ्न नराधमहरू हुन् । उनले एकीकरण नगर्देका भए अहिलेसम्म हामी भारतीय कि चीनिया भइसक्थ्यौं ।

रणबहादुर, गिर्वाण, राजेन्द्र, सुरेन्द्र जस्ता अक्षम राजाहरू र राज्यलक्ष्मी जस्ती नकुली रानी नभएका भए जहानियाँ शासनको शुरुवात किमार्थ हुने थिएन । यही कालखण्डमा हुनु नहुनु भो – विदेशीको ठाडो हस्तक्षेप । चन्द्र सम्शेरले नेपाललाई भाडाको सिपाही जन्माउने देशको नाउँमा चिनाए । पछिल्लो छिमलका राजाहरूले नि पूर्ववर्तीहरूको गल्ती दोहोऱ्याउनु हुन्नथ्यो- सच्याउनुपर्थ्यो, सच्चिनुपर्थ्यो । जहानियाँ शासन, पञ्चायत फ्याँकेर गणतन्त्र ल्याएसि त राम्रो परिपाटी आउनुपर्थ्यो होला नि त । अहँ, नेपाल/नेपालीको नियति फेरिएन बरू नयाँ राजाहरू जन्मिए । यो वा त्योको नाउँमा जनता ठगिए, नेपालको आयतन घट्यो, नेपाली नाम मात्रका रहे । वर्षौंदेखि राजनेता खोजियो, भेटिएन । चोट्टाहरूको फेरमा पर्नाले आयात बढ्यो, निर्यात घट्यो, रिन बढ्यो र चप्पल पड्काउनेहरू नवधनाढ्य बने । निष्ठाको राजनीति ‘लाजनीति’ बन्यो । चण्डमुण्ड कुबेरहरूले संसदलाई खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल बनाए । नोटमा भोट बिकेसि चुनाव महङ्गो भो, हात लाग्यो सुन्ना । सामानको निर्यात घटे नि मान्छेको निर्यात त बढेको छ है । डलरपिचाश मानवाधिकारकर्मी, न्यायकर्मी, बुद्धिजीवी, सर्कारी/गैरसर्कारी संस्था भएसि मुलुकले के न्याय पाउला ? नेताजन दूतावासमा झुकेका, नीतिमा चुकेका र छात्रवृत्तिमा भुलेका छन् भने नेपालको अधोगति नभएर उँभो गति होला त ?

झ्याऊ/च्याऊसरी दलहरू उम्रिए, स्वतन्त्रहरू जन्मिए । जनताले विश्वासघात भेटेसि सबैलाई एकै घानमा हालेका छन्- कसैको विश्वास छैन । अब सबै सच्चिनुपर्छः अर्कोलाई मात्र धारे हात लगाएर केही हुन्न । आफ्नो गल्ती आफैले सच्याउने हो; अर्कोलाई दोष्याउने होइन । आत्मसमीक्षा गर्नुपर्छ । नेपालीले अल्छ्याइँ त्याग्नुपर्छ; हुटेल-हुटेल/चोक-चोकमा नानाभाँती बगम्फुसे गफ चुट्ने होओइन । स्वावलम्बी हुने हो, परालम्बी हैन । हाम्रो समाज नकारात्मक स्वरूपको छ । हात दिन जान्दैन गोडा मात्र तान्छ । घरपरिवार समाज संस्कारिलो हुनुपर्छ । शिक्षालयमा गोठालो हैन शिक्षक भर्ना गर्नुपर्छ । आध्यात्मिकता/नैतिकता पाठ्यक्रममा समाविष्ट हुनुपर्छ । कर्मचारी/न्यायाधीशहरूलाई गीता छुवाएर मात्र जागिर दिनुपर्छ । नेपाली सर्वज्ञ होइन विषय विज्ञ हुनुपर्छ । भुलभुलैयामा नभुल्ने । ब्रम्हरूपी विवेकको प्रयोग गर्ने । ताइँ न तुईंका गफमा अमूल्य जीवन खेर नफाल्ने । आवधिक चुनावहरूमा चरित्रवान्/विवेकशील मनुवा चुन्नुपर्छ; पातकी/व्यभिचारीहरूलाई होइन । भुटभुटीहरू आउँदा संस्करणहरूमा पोख्दै रहुँला । बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।