आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग आज सोमबार खेल्दैछ ।
त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत दुबई इन्टरनेशलनल क्रिकेट स्टेडियममा आज हुने खेलमा नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
यसै साता स्कटल्यान्ड र नामिबियाविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिजमा सबै खेल जितेकाले नेपाली खेलाडीको मनोबल उच्च छ । नेपाल उच्च प्रदर्शन गर्ने सोचसहित मैदानमा उत्रँदै छ ।
तर, विदेश जान रोक लगाएका कारण क्रिकेटर सन्दिप लामिछानेबिनाको यो खेलमा नेपाललाई जीत हासिल गर्न भने निकै सकस हुने अनुमान गरिएको छ । यस अघिका चारवटै खेलमा सन्दिपले कुल ११ बिकेट लिएको स्मरण भने दुबईमा गरिनेछ । लामिछानेबिनाको यो खेललाई लिएर क्रिकेटप्रेमी धेरैले आशंका जनाए पनि लगातार चार खेल जितेका नेपाली खेलाडी पपुवा न्यगिनीलाई सहजै हराउने विश्वासमा छन् ।
तथापि, नेपालले पपुवा न्युगिनीलाई कमजोर भने आँक्नु मनासिव हुँदैन, किनकि गतवर्ष पपुवा न्युगिनीले नेपाललाई टियु मैदानमा दुवै खेलमा पराजित गरेको इतिहास छ । त्यसैले यो खेलमा नेपालले धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
दुबईमा हुने यो प्रदर्शनसँगै नेपाली क्रिकेटको आगामी चार वर्षको भविष्य निर्धारण हुनेछ । यो खेलमा जीत हासिल गर्ने नेपाल, युएई र नामिबियामध्ये एक टोली सोझै विश्वकप छनोटमा पुग्दैछन् ।
यस समुहका स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् भने अब तीन देश मध्ये एक विश्वकपमा जाने भएकाले दुबईमा हुने खेललाई महत्वका साथ हेरिएको छ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । उसको विश्वकप यात्रा यसअघि नै रोकिसकिएको भए पनि नेपाललाई भने जित्नुपर्ने दबाब छ ।
प्रतिक्रिया