‘मिसन पैसा’बाट उदाएकी निशाले मागिन् श्रीमान्सँग अंश

‘मिसन पैसा’बाट उदाएकी निशाले मागिन् श्रीमान्सँग अंश


मोडलिङको मार्गहुँदै अभिनेतृ बनेर कुनैबेला चर्चा कमाएकी निशा अधिकारी र क्रिकेटर शरद भेषावकरबीचको वैवाहिक सम्बन्ध सङ्कटमा परेको चर्चा यतिबेला ‘ग्ल्यामर’ क्षेत्रमा ब्याप्त छ । निशाले शरदविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी छन् । एकल सन्तानका रुपमा रहेको नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् भने न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी माग गर्ने आदेश गरिसकेको छ ।

केही वर्षको प्रेम सम्बन्धपछि शरद र निशा २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । निशाले अमेरिकामा गएर २०७५ सालमा छोरालाई जन्म दिएकी थिइन् । अहिले निशा र शरद दुवै नेपालमै बस्छन् । निशा कलाकारितामा र शरद क्रिकेटमा छन् । शरदले पछिल्लो समय राष्ट्रिय टीमबाट खेल्ने अवसर भने गुमाएका छन् ।

गजब के छ भने श्रीमान्सँग आफू र छोराको लागि अलग-अलग अंश माग गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दिएकी छैनन् । सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानका कारण शरदमाथि यसप्रकारको मुद्दा हाल्न उनलाई सजिलो परेको छ । डिभोर्सको मुद्दा दायर गरेमा स्वतः अंशबण्डा हुन्छ, तर अंशमुद्दा दायर गर्दैमा चाहिँ स्वतः सम्बन्धविच्छेद हुँदैन ।

निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र ‘मिसन पैसा’बाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थिइन् । अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले सन् २०१३ मै विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छन् ।