टाढा छ यात्रा

टाढा छ यात्रा


✍ ई. गणेशराज वस्ती

पहाडको फेद समाइ
लगलग लगलग…
खुट्टा कँपाइ…
कति कति…
टाढा छ यात्रा !

निकै माथि छ…
डाँडाको टुप्पो !

न छन् बीचमा
कोही हाम्रा
तानी राखी
पानी खुवाउने
उठाइ हात
रुमाल्ले हम्काउने !

न चल्छ हावा
कतैबाट यहाँ !
निथ्रक्क यी सारा…
पसिना सुकाउने !

फेद ठूलो !
हात छोटा !
फेरो लाउन यिनले…
कहिल्यै नभ्याउने !

लाग्छ उँभो
जागेर लाग्न !
मान्दैन मन…
थाक्न वा फर्किन !

भएन भन्छ…
मन हिँडी थाक्न !
तर,
यो पहाड !
कति कति छ अग्लो !

दुवैतिर भिर…
बीचबाट छ बाटो !
तर, कति ठाडो !
कतिकति…
छ निकै उकालो !

न छन् ठूला…
रूख यहाँनेर !
न साना बिरुवा…
भोलिका भरोसा कतै !
चढ्दा उकालो…
खुट्टा हुन्छन्…
त्यस्तै सारै फतक्कै !

पहाडको फेद समाइ
लगलग लगलग…
खुट्टा कँपाइ
कति कति…
टाढा छ यात्रा !