युवाकवि किशमा किशोरलाई प्रगति साहित्य सम्मान

युवाकवि किशमा किशोरलाई प्रगति साहित्य सम्मान


सिन्धुपाल्चोक-प्रगति साहित्य सम्मान-२०७९ बाट किशमा किशोर बुढाथोकी सम्मानित भएका छन् । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ११ स्थित संस्थागत विद्यालय प्रगति अंग्रेजी माविले बुढाथोकीलाई यस वर्षको साहित्य सम्मान प्रदान गरेको हो । उनीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित भए । विद्यालयले हरेक वर्ष विभिन्न विधाबाट समाज विकासमा लागि योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेको छ ।

साहित्य विधाबाट सम्मानित भएका बुढाथोकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिको उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेको विद्यालयले जनाएको छ । बुढाथोकीले कतारमा रहँदा नवोदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रपासमा नेपाली साहित्यको विकासमा योगदान गरेका थिए ।

सिन्धुपाल्चोकमा रहेर उनले स्पन्दन साहित्यिक मासिक र गजल सिन्धु मासिकको सम्पादन गरेका थिए । सिन्धु साहित्य अभिलेखालयको संयोजक, गजल सिन्धुको अध्यक्ष, शब्द सारथि, आधुनिक नेपाली गजल अभियानलगायत संस्थामा आवद्ध रही उनी साहित्यको विकासमा क्रियाशील छन् । उनको मरूभूमिको साहित्य यात्रा र जुनका आभाहरू कृति प्रकाशित छ ।

त्यस्तै, पत्रकारिता सम्मानबाट सम्मानित थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन् । २०६० सालबाट पत्रकारिता सुरू गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुन् । उनले जिल्लामा भएका विपदलगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएको विद्यालयले जनाएको छ । लोकगायक पदम दुलाललाई गीत संगीतबाट मनोरञ्जन मात्रै नभई जिल्लाको कला तथा पर्यटन विकासमा सघाउ पुऱ्याएकाले सम्मान गरिएको हो ।

हरेक वर्ष प्रदान गर्दै आएको प्रगति सम्मानबाट यस वर्ष सिन्धुपाल्चोकका तीनजना सम्मानित भएका छन् । सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई योगदान गर्ने विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि निरन्तर सम्मान प्रदान गर्दै आएको सो विद्यालयले आफ्नो विद्यालयको ३१औं वार्षिकोत्सव समारोहको अवसरमा सम्मान प्रदान गरेको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले उनीहरूलाई सम्मान पत्र प्रदान गरे ।