राष्ट्रवादी राष्ट्रपतिको सातवर्षे कार्यकाल !

राष्ट्रवादी राष्ट्रपतिको सातवर्षे कार्यकाल !


✍ देवप्रकाश त्रिपाठी

विक्रम सम्वत् २०५० सम्म विद्या पाण्डेका रूपमा परिचित, सोही साल जेठ ३ गतेको दुःखद् घटनापश्चात् सबैले विद्या भण्डारी मात्र भन्न मनपराएकी नेतृ हुनुहुन्छ विद्या पाण्डे भण्डारी । भीमसेन थापाले आफ्ना विरोधीहरूलाई भौतिक रूपमै समाप्त गर्ने क्रममा वीर कालू पाण्डेका बङ्शज सबैलाई लक्षित गरेर हिंसात्मक आक्रमण गर्न थालेपछि सबैजसो पाण्डेहरू रातारात राजधानीबाट पलायन हुनुपरेको तथ्य इतिहास बताउँछ । हो, त्यसक्रममा थापाहरूको प्राणघातक हमलाबाट जोगिन काठमाडौंबाट बाहिरिने पाण्डेहरूमध्येकै एक भाइ भोजपुरको एकान्त स्थानमा पुगेका थिए । तिनैका सन्तान भविष्यमा नेपालको राष्ट्रपति बन्लान् भन्ने कसले कल्पना गरेको थियो र !? स्वयम् विद्या भण्डारीले पनि आफूले कुनै दिन राष्ट्रप्रमुखको जिम्मेवारी प्राप्त गर्ने कुरा शायद कल्पना गर्नुभएको थिएन । तर नियतिले आखिर कालू पाण्डेकै बङ्शमा पैदा भएकी एक नारीलाई राष्ट्रपति बनाएरै छोड्यो, त्यो पनि एक होइन दुई पटक ! २०७२ देखि २०७९ सम्म राष्ट्रपतिका रूपमा रहँदा विद्या भण्डारीको भूमिका र योगदान कस्तो रह्यो ? यहाँ यही जिज्ञासाको जवाफ खोज्ने प्रयास गरिएको छ ।

विद्या भण्डारीभन्दा अगाडि जनकपुरका रामवरण यादवलाई नेपालको राष्ट्रपति बनाइएको थियो । मधेश तराईतिर सक्रिय राजनीतिकर्मीहरू मध्ये यादवलाई तुलनात्मक रूपमा राष्ट्रवादी/देशभक्त मानिन्थ्यो । आफू देशको सर्वोच्च पदीय जिम्मेवारीमा पुगेपछि यादव बीपी कोइराला र उनैका जैविक भाइ गिरिजाप्रसाद कोइरालालाई सम्झेर द्रवीभूत भएको कथा खुब हालिन्थ्यो त्यसबेला ! आफूले सर्वसम्मत राष्ट्रपति बन्ने अवसर नपाएर चुनाव हुने भएपछि गिरिजाप्रसादले हार्नका निम्ति रामवरण यादवलाई उम्मेदवार बनाइदिएका थिए । परिस्थितिले भनौँ या अदृष्य शक्तिको कृपाले भनौँ या नियतिले यदवलाई नै प्रथम राष्ट्रपति बनाइदियो । त्यसरी देशको सर्वोच्च पदमा पुग्दा यादवले बीपी र गिरिजाप्रसादप्रति कृतज्ञता जाहेर गर्नुभयो, शायद समयमै काङ्ग्रेस पार्टीमा लागेर कति सही निर्णय गरिएछ भन्ने अनुभूति भएर पनि हुन सक्छ उहाँले दिवङ्गत बीपी र कृपादाता गिरिजाप्रसादप्रति कृतज्ञता प्रकट गर्नुभएको ।

चिकित्सा विषय पढेका रामवरणलाई देश कसले बनाएको थियो भन्ने हेक्का नहुनु अस्वाभाविक होइन, उहाँका निम्ति आफू राष्ट्रपति बन्नु जति महत्वपूर्ण घटना नेपाल एकीकरणको घटना हुन सक्दैनथ्यो । त्यसैले उहाँले पृथ्वीनारायणलाई नभएर गिरिजाप्रसादहरूलाई सम्झनुभयो । तर विद्या भण्डारीले आफू राष्ट्रपति बन्न पाउनुको पहिलो जस (यश) राष्ट्रनिर्मातालाई दिनुभयो ।

तर, २०७२ सालमा पहिलोपटक राष्ट्रपति बन्नुभएपछि विद्या भण्डारीले सबैभन्दा पहिले कसलाई स्मरण गर्नुभयो होला ? मदन भण्डारी, पुष्पलाल या आफूलाई राष्ट्रपति बन्न सहयोग पुऱ्याउने केपी शर्मा ओलीलाई ? हो, उहाँले पुष्पलाल, मदन र केपीलाई स्मरण गर्दैगर्नुभएन भन्ने होइन, तर उहाँले सबैभन्दा पहिले नेपाल देशका निर्माता पृथ्वीनारायण शाहलाई सम्झनुभयो, त्यसपछि वीर पुर्खा कालू पाण्डेलाई । राष्ट्रपतिको शपथ लिनेवित्तिकै विद्या भण्डारी पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न चाहनुहुन्थ्यो, तर उहाँलाई त्यसो गर्न रोकियो र, पुष्पलालको शालिकमा माल्यार्पण गर्न कुँदाइएको थियो ! त्यसबेला विद्या भण्डारीलाई कति दुखेको थियो भन्ने कुराको महसूस धेरै कमले मात्र गरेका हुँदाहुन् । चिकित्सा विषय पढेका रामवरणलाई देश कसले बनाएको थियो भन्ने हेक्का नहुनु अस्वाभाविक होइन, उहाँका निम्ति आफू राष्ट्रपति बन्नु जति महत्वपूर्ण घटना नेपाल एकीकरणको घटना हुन सक्दैनथ्यो । त्यसैले उहाँले पृथ्वीनारायणलाई नभएर गिरिजाप्रसादहरूलाई सम्झनुभयो । तर विद्या भण्डारीले आफू राष्ट्रपति बन्न पाउनुको पहिलो जस (यश) राष्ट्रनिर्मातालाई दिनुभयो ।

राजा/महाराजाहरूप्रति निन्दा र घृणा फैलाउन सक्नुलाई क्रान्तिकारिता र अग्रगमनको संज्ञा दिने त्यस कालखण्डमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर विद्याले आफूमा निहित देशभक्ति र राष्ट्रवादी भावनाको उजागर गर्नुभयो । पहिलो कार्यकालमा उहाँलाई रोक्नेहरूले दोस्रो कार्यकालमा रोक्न सकेनन् । सिंहदरबारअगाडिको चौबाटोमा शालिक बनेर उभिएका पृथ्वीनारायण शाह समीप पुगेर अगाध सम्मान र श्रद्धा दर्शाउने कार्यलाई विद्याले आफू राष्ट्रपति रहुन्जेल निरन्तरता दिइरहनुभयो । पौष २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा सार्वजनिक बिदा दिन पनि भण्डारीले नै जोडबल लगाउनुभएको हो । उहाँले कालू पाण्डेप्रति सम्मान दर्शाउने नयाँ परम्पराको विकाश पनि गर्नुभएको हो । तेस्रा राष्ट्रपति रामचन्द्र पौडेलले पनि कुनै बिन्दुमा पुगेपछि राष्ट्रनिर्माताको स्मरण गर्ने अपेक्षा राखिएको छ ।

विद्या भण्डारीको कार्यकालमा उहाँ विवादमा आउँदैआउनुभएन भन्ने होइन, कुनै औपचारिक समारोहमा सहभागी हुन जाँदा सुरक्षा निकायले सवारी आवागमनमा रोक लगाउँथे, जनतामध्येका केही मानिस विद्या भण्डारीलाई गाली र आलोचनात्मक टिप्पणी गरेर सन्तुष्टि लिन्थे । कुनै ब्यक्ति दशैँको टीका थाप्न जाँदा राष्ट्रपतिलाई उच्च सम्मान दिँदै घुँडा मारेर बस्थे, गाली राष्ट्रपतिले खानुपर्थ्यो । नेपाल प्रहरीको तालिम केन्द्र स्थानान्तरण गर्ने निर्णय वर्षौंअघि भएको थियो, त्यसलाई पनि राष्ट्रपतिलाई ‘डिष्टर्ब’ भएकोले तालिम केन्द्र सार्न खोजेको भन्ने अर्थ लगाउँदै बदनामी गरियो । राष्ट्रप्रमुखको हैसियतले पशुपतिनाथ मन्दिर जाँदा होस् या संसद्लाई सम्बोधन गर्न जाने क्रममा होस्, गालीको हकदार विद्या भण्डारीले बनिरहनु परेको हो । केपी ओली प्रधानमन्त्रीको जिम्मेवारीमा रहँदा राष्ट्रपतिबाट भएका हरेक कार्यलाई ओलीको राजनीतिक हितसँग जोडेर हेर्ने र, विद्या भण्डारीमाथि अस्वाभाविक ढङ्गले लान्छित गर्ने प्रयास पनि भएकै हुन् । राम-जानकी मन्दिरको दर्शनार्थ पुग्नुभएकी राष्ट्रपतिको मानमर्दन गर्न भएको प्रयास पनि स्मृतिमा राख्न योग्य छ । निन्दा र आलोचनाको कुनै शीर्षक फेला नपरेको अवस्थामा विद्या भण्डारीले लगाउनुभएको माला र साडीका विषयलाई लिएर पनि उहाँको आलोचना गर्ने गरिन्थ्यो ।

विद्या भण्डारीले राष्ट्रपतिको जिम्मेवारीमा रहँदा देशलाई भार पर्ने कुनै काम गर्नुभएको प्रमाण आजसम्म भेटिएको छैन । पदमूक्त भएर घर फर्कंदा पनि उहाँ त्यसतर्फ सचेत रहनुभयो । आफ्नो घर हुँदाहुँदै राज्यकोषबाट नगद असुल्ने पहिलो दृष्टान्तलाई उहाँले पछ्याउनुभएन, आफ्नो घर निर्माणले पूर्णता नपाउन्जेल रकम लिएर भाडाको घरमा सर्नुभन्दा बिनाभाडाको (छोरीको) घर उहाँको रोजाइमा प¥यो । सूरक्षाकर्मीको लावालस्कर राखेर विशिष्टताको स्वाङ पार्ने व्यवहार पनि उहाँले दर्शाउनुभएन ।

रक्षामन्त्रीको जिम्मेवारीमा रहँदा माओवादी पार्टीका दशौँ हजार गुरिल्लालाई राष्ट्रिय सेनामा प्रवेश गराउन भएको अवान्छित प्रयासलाई रोक्ने बहादुर महिला विद्या नै हुनुहुन्थ्यो भन्ने यथार्थलाई भुल्न सकिँदैन । त्यसबेलाको प्रधानमन्त्री माधव नेपालसँग उहाँले कसरी लड्नु परेको थियो र, माओवादीबाट सेनाकै जनरलसम्मलाई ‘आफ्नो’ बनाएर घुसपैठ गर्न भएको दुष्प्रयत्नलाई विद्याले कसरी परास्त गर्नुभएको थियो भन्ने तथ्य इतिहासमा अवश्य अङ्कित हुने नै छ ।

विद्या भण्डारीको आवाजमा ‘कमाण्डिङ’ नभएको भन्दै कतिपयले उहाँलाई कमजोर नेतृका रूपमा चित्रण गरेको पनि सुनिन्थ्यो । वास्तवमा विद्या भण्डारी कति दृढ अडान भएकी ब्यक्ति भन्ने कुराको हेक्का धेरैले राख्न खोजेका छैनन् । आफूलाई सही लागेको कार्य गरेरै छोड्ने र, गलत काम जसले भने पनि गर्दैनगर्ने उहाँको स्वभाव/चरित्र हो । रक्षामन्त्रीको जिम्मेवारीमा रहँदा माओवादी पार्टीका दशौँ हजार गुरिल्लालाई राष्ट्रिय सेनामा प्रवेश गराउन भएको अवान्छित प्रयासलाई रोक्ने बहादुर महिला विद्या नै हुनुहुन्थ्यो भन्ने यथार्थलाई भुल्न सकिँदैन । त्यसबेलाको प्रधानमन्त्री माधव नेपालसँग उहाँले कसरी लड्नु परेको थियो र, माओवादीबाट सेनाकै जनरलसम्मलाई ‘आफ्नो’ बनाएर घुसपैठ गर्न भएको दुष्प्रयत्नलाई विद्याले कसरी परास्त गर्नुभएको थियो भन्ने तथ्य इतिहासमा अवश्य अङ्कित हुने नै छ ।

राष्ट्रियता र राष्ट्रहित विपरीत उत्पन्न गराइएको नागरिकता विधेयक कार्यान्वयनमा आउन नदिन विद्या भण्डारीले निर्वाह गर्नुभएको भूमिकाले उहाँको देशभक्ति मात्र दर्शाएको होइन, आफ्नो अडानमा दृढ रहनसक्ने ब्यक्तिको परिचय पनि त्यस घटनाले स्थापित गरेको छ । संविधानको रक्षा गर्ने मूल दायित्व राष्ट्रपतिको हुनु भनेको देशको रक्षालाई प्राथमिकता नदिनु होइन भन्ने नजीर विद्याले स्थापित गर्नुभएको छ । विद्याबाहेक जो-कोही ब्यक्ति राष्ट्रपतिको जिम्मेवारीमा रहेका भए विवादास्पद नागरिकता विधेयक अनुमोदित हुनबाट शायद रोकिने थिएन । र, अबका राष्ट्रपतिको निम्ति पनि यो एउटा महा चुनौतीका रूपमा रहेको छ ।

राष्ट्रपतिको रूपमा विद्या भण्डारीको पछिल्लो कार्यकाल सिधा रेखामा नहिँडे पनि पूर्ण सफल रहेको मान्न सकिन्छ । समग्र क्रियाकलापले उहाँ एक देशभक्त, राष्ट्रवादी, आध्यात्मिक, धार्मिक, संस्कृतिप्रेमी, दृढनिश्चयी, प्रजातन्त्रप्रेमी, कुशल नेतृ भएको पुष्टि गर्दछ । उहाँको भूमिकाबाट समय तृप्त भइसकेको बुझिन्न, त्यसैले नयाँ भूमिका र जिम्मेवारीमा रहेर विद्या भण्डारीले राष्ट्रलाई पुनः योगदान पुऱ्याउने अपेक्षा राखिएको छ, जय मातृभूमि !