आजबाट नयाँ संवत्सर सुरू

आजबाट नयाँ संवत्सर सुरू


ज्योतिषी सुरेशचन्द्र रिजाल भन्छन्- ‘नेतृत्वको अपरिपक्व निर्णयका कारणजनताले समस्या झेल्नुपर्नेछ’

ज्योतिषीय गणनाकाआधारमा चैत महिनाको शुक्लपक्षको प्रतिपदा तिथिदेखि नयाँ संवत्सर प्रारम्भ हुने गर्छ । यसवर्ष चैत ८ गते बुधबारदेखि पिंङ्गल नामक संवत्सर प्रारम्भ भएको छ । बुधबारदेखि नयाँ संवत्सर प्रारम्भ भएकाले यसवर्ष बुध ग्रह राजाको भूमिकामा वर्षभरि रहने शास्त्रीय नियम रहेको छ ।

‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माले सृष्टिको प्रारम्भ यसै दिनबाट सुरुवात गरेको विभिन्न पुराणहरुमा व्याख्या गरिएको छ । आजैदेखि चैत्र नवरात्र पनि प्रारम्भ भएको छ । देवीको उपाशाना तथा नौ दिनसम्म भगवतीको पूजा गर्नाले सुख,शान्ति तथा सम्पूर्ण मनोकामना पुराहुने मार्कण्य पुराणमा व्याख्या गरिएको छ ।

ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यसवर्ष पिंङ्गल नामक संवत्सर २०८० भरि रहनेछ । नयाँ सम्वत्सरको फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक मात्रामा बढ्नेछ । हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आमनागरिकले कठिनाई वर्षभरि नै झेल्नुपर्ने देखिएको छ। वर्षामा एकरुपता नहुँदा कतै थोरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भोग्नुपर्ने योग रहेको छ ।

प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताहरुका लागि यो वर्ष कष्टकर रहने संवत्सरको फलमा उल्लेख गरिएको छ । यसवर्षका राजा (शासनाध्यक्ष) बुध ग्रह रहनेछन् । ज्योतिष शास्त्रमा बुध ग्रहलाई अपरिपक्व राजकुमार ग्रहका रुपमा व्याख्या गरिएको छ ।अतः उच्चस्तरीय नेतृत्वबाट अपरिपक्व निर्णय हुनाले बारम्बार नागरिकले समस्या झेल्नुपर्ने देखिएको छ। खेलकुद तथा कलाकारिता क्षेत्रमा भने वर्षभरि नै सम्मानित हुने योग रहेको छ ।

शान्तिसुरक्षाको स्थितिमा सुधार आउनेछ, आम जनताले शान्तिको सास फेर्न पाउने छन् । यद्यपि पशुपन्छी र चौपायाको कारोबार र व्यवसायमा हानी-नोक्सानी हुनेछ, दलहन र तेलहन सामग्रीको दाम बढ्नेछ । बेमौसमी वर्षा, अतिवृष्टि, अनावृष्टि आदि प्रकोपका कारण तुलफूल र बालीनालीमा समेत नोक्सानी हुने सम्भावना छ । आर्थिक रुपमा वर्षभरि नै समस्या देखापरिरहने योग रहेको छ । वैदेशिक सहयोगमा कमि रहने योग रहेकाले विकासका आयोजना विस्तारै अगाडि बढ्नेछन् ।