भैरहवामा पहिलो पटक इण्डो-नेपाल बक्सिङ खेल

भैरहवामा पहिलो पटक इण्डो-नेपाल बक्सिङ खेल


शनिबार भैरहवामा इण्डो-नेपाल बक्सिङ खेलको आयोजना हुने भएको छ । भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङको आयोजनामा हुने खेलमा तीन जना नेपाली बक्सर भिड्ने आयोजकको भनाइ छ ।

भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा हुने प्रतियोगितामा सात वटा खेल खेलाइने छ । युनाइटेड प्रोफेसनल बक्सिङका अनिलमान रोयका अनुसार फिदरवेट विधामा नेपाली बक्सर सुजन र भारतीय बक्सर विनयको बक्सिङ हुनेछ ।

यस्तै, फ्लाइवेटअन्तर्गत नेपाली बक्सर लक्ष्मण र भारतीय बक्सर शुभम भिड्ने छन् । सुपर मिडलवेटअन्तर्गत भारतीय बक्सर कुलदीप र नेपाली बक्सर मनोज भिड्ने छन् ।

यसबाहेक वेल्टरवेटअन्तरगत भारतीय बक्सरहरु आरभ र गौरव, अनुज र सुमित तथा राहुल र सुरेश भिड्दै छन् । सुपर फेदरवेटअन्तर्गत भारतीय बक्सर उमेश र बरुन लड्ने छन् ।

नेपालको काठमाडौं लगायतका शहरमा बक्सिङ प्रतियोगिता भए पनि भैरहवामा इण्डो-नेपाल बक्सिङ प्रतियोगिता पहिलो पटक आयोजना हुन थालेको युनाइटेड प्रोफेसनल बक्सिङका आदित्य ओबरायले बताएका छन् ।

‘भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, होटलहरुको उपलब्धतालगायतको सुविधालाई ध्यानमा राख्दै प्रतियोगिता यहाँ आयोजना गर्ने निर्णय गरेका हौँ, आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई यहाँ निरन्तरता दिने सोच बनाएका छौँ’, ओबरायको भनाइ छ ।

टाइगर प्यालेस रिसोर्टमा हुने उक्त प्रतियोगिताको प्रवेश शुल्क रु. दुई हजार राखिएको छ । प्रतियोगिता करिब तीन सय बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । उक्त शुल्कमा पुल पार्टी, डिजे, बक्सिङलगायतको अवलोकन गर्न सकिनेछ ।

भारतीय कम्पनी युनाइटेड प्रोफेसनल बक्सिङले भारतमा ७० भन्दा बढी कार्यक्रम गरिसकेको र नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको हो ।