अविरल इन्द्रावतीका धारा

अविरल इन्द्रावतीका धारा


✍ रामेश्वर राउत ‘मातृदास’

घाम-पानी घाम-पानी स्यालको बिहे
जाँड-रक्सी खोलोबाढी, बुढी भैंसीको मासु
र देश – यी प्रताडित जनताको आँशु
न्याय खोलोबाढी लागेको छ,
युगको भाग्य र भविष्य कठै ! हुरीका चरा भएका छन्
लोकतन्त्र खाए खाऽ नखाए घिच !
फागुनेको ताउलो भएको छ देश
बिसे नगर्चीको सियो च्यातिएका छन् मान्छेहरू झन
धुरुधुरु रोएको छ कठै पृथ्वीनारायण शाहहरूको मन !

।।१।।

भताभुङ्ग भत्काइएको छ भन्न जाने बाटो
खाउँ रोटी खान सकिन्न
दाउँ गोरु दाउन सकिन्न
जीवनभरि लगाएको अजम्बरी बाली
चैते वन्करहरूको उखरमाउलो छ आज समय
चारजात छत्तीस वर्णको यो सुन्दर साझा फुलबारी !
बगालका-बगाल झ्याप्सीबारी भुस्याहा कुकुरहरू,
रेविजको हूल देखिन्छन् सर्वत्र
जानेलाई जाउँ-जाउँले सक्यो
नजानेलाई खोर्सानी व्यापार !

।।२।।

देशको मुटु र समाजको मेरुदण्ड
युवायुवतीहरू कठै सारा जवान-जवानीहरू
क¥याङकुरुङका ताँती देशको शान-मान
धमाधम देश छाडेर बेपत्ता भइराखेका छन् अलपत्र युग,
गल्लैगल्लाहरूको गल्ली व्याप्त विस्तारित भइराखेको छ समय
न्या नपाए गोर्खा जानु विद्या हराए काशी भनिन्थ्यो
शौर्यशक्तिमय थियो पूर्वजहरूको पौरखी युग !

।।३।।

कठै ! आफ्नै भाषाको लिपि-अक्षर र अङकहरूमाथिको अत्याचार,
न्यायालयको आँगन सातैसमुद्र भरिएको छ न्यायको आँशु
आफ्नै भाग्य र भविष्यमाथि राँको लगाएर
खरानी बटुलिराखेका छन् दरिद्रहरू !
घामपानी-घामपानी स्यालको बिहे !!

।।३।।

अविरल इनद्रावती धारा,
सिन्धुको आँगनमा मुस्कुराइराखेका छन्
न्यायिक-निर्भिक र अदम्य अचल सगरमाथाहरू,
जीवनको आशावरी धून निरन्तर बजिरहेको छ बाँसुरी
र हामी हृदयमा अकण्टक सजाइरहनेछौँ चन्द्र/सूर्य,
आमाको मन/बुबाको जीवन हो हाम्रो धरती/आकाश
आँधीको उखरमाउलो मन अवश्य सङ्लने छ समय !

  • रारामा, वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती