भाषाघात जघन्य र अक्षम्य अपराध

भाषाघात जघन्य र अक्षम्य अपराध


नेपाल वार एशोसिएशनको सभाकक्ष्यमा सम्पन्न भएको कानूनी नेपाली भाषा र साहित्य कृतिको घुम्टी खोली (विमोचन) एवं अन्तर्विमर्श भएको छ ।

प्रा. गोविन्दप्रसाद घिमिरेको सभाध्यक्षमा सम्पन्न उक्त समारोहको प्रमुख आतिथ्यता नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभू घिमिरे र विशिष्ठ आतिथ्यता न्याय कानून क्षेत्रका मूर्धन्य व्यक्तित्त्व सर्वोच्च अदालतका पूर्व न्यायाधीश टोपबहादुर सिंहले गर्नुभएको थियो । विमोचित कृतिका सम्पादक सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले गर्नुभएको छ ।

पैरवी प्रकाशनले प्रकाशित गरेको ७२४ पृष्ठमा बिस्तारित उक्त कृतिले नेपाली भाषाको ओजस्वी गरिमालाई जीवन्त बनाएको तथ्य समारोहका वक्ताहरूले व्यक्त गर्नुभएको थियो । आज आफ्नै भाषाको अस्तित्त्व र महत्त्वलाई समाप्त पार्ने जघन्य र अक्षम्य अपराध व्यप्त भएकाले यो भाषिक अन्यायलाई रोक्न न्याय कानून क्षेत्रका व्यक्तिहरू, कविलेखक, साहित्यकारहरू, विद्यालय, विश्वविद्यालयका प्रध्यापकहरू, पत्रकारहरू र समाजका सम्पूर्ण जिम्दा नागरीकहरू एकजुट भएर लाग्नुपर्ने वास्तविकतालाई वक्ताहरूले उजागर गर्नुभएको थियो ।

प्रा. गोविन्दप्रसाद घिमिरे, डा. विष्णुविभू घिमिरे, सर्वोच्चका पूर्व न्यायाधीशद्वय टोपबहादुर सिंह, प्रकाश वस्ती, कवि एवं अधिवक्ता रामेश्वर राउत मातृदास, प्रा. पूर्णिमा रजौरे, मनमाया पाठक, दिनदयाल रेग्मी, रामचन्द्र फुँयाल, दिल्लीराम गौतम आदि वक्ताहरूले भाषामाथि भैराखेको लापर्वाही र अन्यायप्रति सचेत हुनैपर्ने वास्तविकता व्यक्त गर्नुभएको थियो । पाञ्चजन्य शंखध्वनिकासाथ आरम्भ भएको उक्त समारोहमा वरिष्ठ अधिवक्ताहरू, पत्रकारहरू, समाजका प्रबुद्ध विद्वान विदुषीहरूको घनीभूत उपस्थिति रहेको थियो ।

पैरवी प्रकाशन, नेपाल कानून व्यवसायी भाषा साहित्य प्रतिष्ठान र निर्झर दिलचेत वाङ्मय प्रतिष्ठान, नेपालको संयुक्त आयोजनामा आयोजित समारोहको सञ्चालन तथा उदघोषण कवि रारामाले गर्नुभएको थियो ।