बाटो !

बाटो !


✍ गणेशराज वस्ती

त्यो बाटो
तिमी हाम्रो सहारा हौ !
तिमी यहाँबाट सुरु हुन्छौ
र त्यहाँ पुग्छौ
स्पष्ट देखिन्छौ
दोधारमा परेकालाई
स्पष्ट पार्छौ
र त तिमी बाटो हौ !

गोरेटो हौ
वा घोडेटो नै किन नहौ !
तिमी हामीलाई डोऱ्याउँछौ !

सबै तिम्रो सल्लाहमा हिँड्छन्
तिम्रै इशारामा पाइला बढाउँछन्
तिमीप्रति आम मानिसका
आशा भरोसा कति कति !

तिमी नहुँदा
वा हराउँदा
मानिस अत्तालिन्छन् !
ऊनीहरूको
उस्तै पर्दा होसै गुम्छ !

तिमीलाई नभेटेसम्म उनीहरुको
फड्को बेफड्को हुन्छ !
ऊनीहरूको भविष्य रून्छ !
ऊनीहरूको वर्तमान नै
गिल्गिलिन्छ, थिलथिलिन्छ !

आफ्नो अतितबाट ऊर्जा लिएर
तिमी बाटोलाई ऊनीहरूले
खोज्नैपर्ने हुन्छ !
तिमीलाई बनाउनैपर्ने हुन्छ !
तिमीलाई ठम्याउनै पर्ने हुन्छ !

कति कति !
असल चिज बाटो !
तिमी गोरेटो
वा घोडेटो !

तिम्रो सेवा जारी रहोस् !
हामीहरू साराको उद्दार होस् !
त्यो सहृदयी बाटो !
त्यो सहधर्मी बाटो !
तिमी !
जुनीजुनी जिउनू
युगयुग रहनू !