म आमा

म आमा


✍ आचार्य प्रभा (अमेरिका)

म,
आमा बन्नुको अर्थमा
ममता बाँचेकी छु,
मनभरी पीडा बोकेर पनि
झुटो खुशी हाँसेकी छु
किनकि, म आमा
मैले मेरो मनको दहबाट
ममत्व र मातृत्वका असंख्य मायाहरू
आफ्ना सन्तानहरुलाई बाँड्नु छ
बाँचुन्जेलसम्म,
आफू पीडाको बोझले लखतरान भएर पनि
चरा झैँ भुर्र उडेर आफ्नो जाँगर चलाउनु छ
उनीहरुको पेट भराउन
र, आफ्ना सन्तानहरुलाई मजबूत बनाउन ।

आफ्नो सन्तानको वात्शल्यतालाई
आत्मासात गरेर प्रेमको वर्षा बन्दै
कहिले मायाको अमृत बनेर बर्सिनु छ
कहिले दुधको धारा बनेर बग्नु छ ।

हो, म आमा
यो मेरो धर्म हो अनि कर्म पनि
मैले मेरा शिशुहरूलाई यो धर्तीमा
अवतरण गरेर मात्र धर पाउँदिनँ
मेरो अर्को कर्तब्य पनि छ
मेरा सन्तानहरुलाई समाजमा उभ्याउन
संस्कार र प्रेमको पाठ पनि
घोकाउनु छ,
अनि यो सुन्दर प्रकृतिसँग रमाउन पनि
सिकाउनु छ।

म आमा,
उनीहरुको मनभित्र रहन
उनीहरुका जिब्रामा
आमा शब्द झुण्डाइरहन
साँच्चै ममत्वको अचुक औषधि
पिलाउनु छ,
आफ्ना वक्षस्थललाई
भकारी बनाउनु छ
जहाँ उनीहरुको भोकप्यास मेटियोस्
अनि बनाउनु छ
आफ्नो काखलाई न्यानो गुफा
जहाँ सन्तानहरुले आफ्नो जिउज्यानलाई
घामपानीबाट जोगाउन सकुन्
हो, म आमा बन्नुको अर्थमा
सन्तानको बलियो आधार
बन्नु छ।