त्रिवेणीधामलाई पहिचानसहितको तीर्थस्थल बनाउन पहल

त्रिवेणीधामलाई पहिचानसहितको तीर्थस्थल बनाउन पहल


  • आरपी उपाध्याय, नवलपरासी

पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा आयोजित एक कार्यक्रमका वक्ताहरुले विकासको पुर्वाधारहरु विकसित गर्दै लगिएमा त्रिवेणीधामलाई पहिचानसहितको तीर्थस्थल बनाउन सकिने धारणा राखेका छन् । उनीहरुले ज्ञान र विज्ञानको अन्तरसम्बन्ध बलियो बनाउन सकियो भने मानिसलाई वैचारिक रुपमा पनि सुखी बनाउन सकिने बिचार ब्यक्त गरे ।

त्रिवेणी गजेन्द्र मोक्षधामको गुरुयोजना तर्जुमासम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले उक्त धारणा राखेका हुन् । त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास समिति त्रिवेणी–६ का अध्यक्ष करपात्रि स्वामी कृष्ण प्रपन्नाचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश सदस्य लक्ष्मण पाण्डेले गण्डकी प्रदेशको समग्र विकासको अवधारणा अनुसार नै दिव्यधाम क्षेत्र विकास समितिको अवधारणा ल्याइएको बताउँदै पुरानो कर्मचारीतन्त्रलाई सुधार नगरेसम्म जनताले चाहेअनुसारको परिवर्तन गर्न नसकिने विचार ब्यक्त गरे । गण्डकी प्रदेशसभा सदस्य पाण्डेले समाजमा रहने सबै सम्प्रदायको अस्तित्वलाई सम्मान गर्दै धर्मको नाममा होडबाजी नगरेर ज्ञानप्राप्तिको होडबाजी गर्नुपर्ने तर्क अघिसारे ।

अन्तरक्रिया कार्यक्रममा बैंकटेस मन्दिर त्रिवेणीका पिठाधीश चक्रपाणी आचार्य, राधाकृष्ण मन्दिरका पिठाधीश हरिशरण उपाध्याय, ब्रम्हकुमारी ईश्वरी विश्व विद्यालय त्रिवेणीकी सञ्चालिका जानकी बहिनीलगायतले आफ्नो धारणा राखेका थिए । सो अवसरमा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुषालले ०७८ बमोजिम संशोधनसहित ०७९ साल श्रावण महिनामा गठन भएको समितिमा हाल १० सदस्य रहेका र समितिको कार्यावधि ५ वर्षको रहने जानकारी दिए ।

अन्तरकृया कार्यक्रममा राजनैतिक दल, संघसंस्थाका प्रतिनिधि, विभिन्न मठमन्दिरका प्रतिनिधि एवं पिठाधीश र स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो । अन्तरक्रियामा प्राप्त सल्लाह सुझावअनुसार क्षेत्र विकास समितिले भावी रणनीति र विकाशको प्रकृया अगाडि बढाइने बताइएको छ ।