सदा साथ रहोस् ल ?

सदा साथ रहोस् ल ?


✍ ईं. गणेशराज वस्ती

यी भीरहरू
यी पहाडहरू
यी वन अनि जङ्गल
यी रूखहरू
यी पत्थर !
यी ढुङ्गाहरू
साराका सारा
यी मानिसहरू
यी चेत वा
अचेत बस्तुहरू !
सबैसँग म रत्तिएको छु !
यिनीहरूका सहयोगमा !
म मख्खिएको छु
असहयोग हुँदा
म आत्तिने छु !

तिम्रो सहयोगमा
म जन्मिएको छु !
हुर्किएको छु !
ठमठम गरेर
हिँड्ने भएको छु !

त्यो हरियालीले
मुख मेरो
हँसिलो भएको छ !
त्यो देउराली देखेर
मनभित्रको न्याउली
बेस्सरी रमाएको छ !

ती सेता छहरामा
यी आँतहरू
राम्रोगरि
लस्सिएको छ !
पत्थरमाथि
यी खुट्टाहरू
दह्रो गरि
कस्सिएको छ !

यी साराका सारा
यी मेरा पृयतमहरू
जोसबैसँग
म सन्निहित छु !
समन्वित छु !
जोसँग म
अत्यन्तै
अभिन्न छु !

जो छन् र त
म छु !
जोबिना
म कहाँ हुन्छु ?
जोसंगै म सदा बाँच्न चाहन्छु
जोसँग म बास्नाउँछु
मगमगाउँछु !

जो सबैको
यौटै जिऊ छ !
यता चिमोट्दा
उता दुख्छ !

पग्लिएका मुटुहरू
खोला बनी
जोडिएका छन् !
नौनीजस्ता आँतहरू
एक अर्कामा
गाँसिएका छन् !

कोमल भावका !
हार्दिकतापूर्ण ती बातहरू !
एक अर्कालाई
सागर सयर गराउने
जहाज बनिरहेका छन् !

हे प्रकृति !
तिमी धन्य छौ !
तिमीले मलाई
सबचिज दिएकी छौ
मलाई तिम्रो
सदा साथ रहोस् ल ?