कति बुझ्यौ ?

कति बुझ्यौ ?


✍ इ. गणेशराज वस्ती

तिम्रो शहरमा
तिम्रो मात्र काम छ।
केहीको त
न काम छ
न नाम छ !
उ बेकाम छ !

तिमी त्यति बेफुर्सदिलो छौ
तिम्रो शहरमा !

तिमीजस्ताकै भिडभाड छ
तिम्रो शहरमा !

जिब्रो त्यस्ताकै छ
हाड त्यस्ताकै छ
पहाड त्यस्ताकै छ !

तर तिमीलाई
कति थाहा छ ?
तिम्रो शहरमा
तिमीभन्दा फरक मान्छे पनि छन् !

तिनीहरूले
झुक्किएर थानकोट काट्ने
अनुमति पाउँछन् !
तिमीले खटाएको
हवल्दार झुक्किन्छन्
वा तिम्रो आदेश तिनले टेर्दैनन् !

र त !
तिम्रा शहरमा
अर्काथरि मानिस पनि
निकै भेटिन्छन् !

हवल्दार झुक्किँदा
वा तिम्रो आदेश
उसले नमान्दा
अर्काथरिलाई
यस शहरमा भिसा मिल्छ !

तिनको दिन आउँछ
तिनीहरु खुशी हुन्छन् !

छिर्दैमा खुशी भएका तिनीहरु
तर, त्यसपछि…
तिम्रो शहरको भिडभाड देखेर
के कति खुशी छन् कुन्नि !

दुई गाँस खान
अर्को हवल्दार झुक्कियो कि झुक्किएन !
कुन्नि ?

एकहर लाउन
हवल्दारले आँखा चिम्लियो कि चिम्लिएन !
कुन्नि !

एकठाउँ बास बस्न
त्यस्तै यहाँ
तिम्रा नियम कसैले उल्लंघन गरे कि गरेनन्
कुन्नि ?

तिम्रो शहर तिमीलाई त
राम्रै शहर भएको छ !
अरूलाई
कहर भएको
तिमीले कति बुझ्यौ ?
कुन्नि !