अमेरिकी दूरदर्शिता !

अमेरिकी दूरदर्शिता !


राजनीति या प्रशासनिक भूमिका निर्वाह गर्ने ब्यक्ति कानूनी रूपले समेत शुद्ध भएर आउनुपर्छ भन्दा विदेशमा बसोबास गर्ने नेपालीजनले मन दुःखाउनु नपर्ने हो । नेपालमा जो मानिस जतिसुकै दुःख र कष्ट ब्यहोर्नु परेपनि यहीँ लड्छु, बाँच्छु र मर्छु भन्ने चाहना राख्नेहरूको सङ्ख्या सानो छैन । स्वदेशमै बसेर स्वदेशका निम्ति केही गर्न खोजिरहेका या खोज्नेहरूलाई निरुत्साहित तुल्याउने किसिमको व्यवहार बाहिर बस्ने नेपालीजनले गर्नु शोभनीय होइन ।
✍ देवप्रकाश त्रिपाठी

आफूलाई शक्ति र शानको पर्याय ठान्ने संयुक्त राज्य अमेरिका प्रजातन्त्र र प्रजातान्त्रिक प्रणालीको पनि नमुना मुलुक बन्न सकेकोमा गौरवान्वित देखिन्छ । नेपालमा अमेरिकी चासोलाई लिएर अनेकौँ आशङ्का उत्पन्न हुनु एउटा पक्ष हो, अमेरिकालाई विश्वको नयाँ सभ्यता मानिन्छ, तर उसको संविधान विश्वकै सबैभन्दा पुरानो लिखित दस्ताबेज मध्ये पर्दछ । सन् १९८७ मा प्रस्तावित भएर अनुमोदित भइ सन् १७८९ देखि कार्यान्वयनमा आएको अमेरिकी संविधान आधुनिक विश्वको पुरानो दस्तावेज भएर पनि त्यसको सान्दर्भिकतामा कुनै कमी आएको छैन । विभिन्न मुलुकहरूमा संवैधानिक अभ्यास हुँदै जादा जब कुनै समस्या देखापर्छ त्यस्तो बेलामा अमेरिकी अभ्यास र उसका दस्तावेजहरू जवाफ बनेर प्रकट हुने सामर्थ्य राख्दछन् । आजको मितिमा २३४ वर्ष पुरानो अमेरिकी संविधानका निर्माताहरूबाट दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने अनिवार्य ब्यवस्था किन गरिएको रहेछ भन्ने कुराको जवाफ एकपटक निर्वाचनका माध्यमबाट सत्तामा पुगेर जिन्दगीभर सत्ताको मालिक बन्न खोज्ने मार्कोस, रोबर्ट मुगावे, हिटलर र मुसोलिनीलगायतले दिइसकेका छन् । अमेरिकीहरू निर्वाचनका माध्यमबाट पनि तानाशाहको जन्म हुनसक्छ भन्नेमा करिब अढाई शताब्दीअघि नै सचेत रहेको यस प्रावधानले देखाउँछ ।

त्यस्तै अर्को एउटा प्रावधान जसको बारेमा जहिले पनि जिज्ञासा पैदा भइरहन्थ्यो, त्यसको समेत जवाफ संसारमा भइरहेका प्रजातान्त्रिक अभ्यासका क्रममा उत्पन्न परिणामहरूले दिइरहेका छन् । अमेरिकामा अन्य सबै प्रतिनिधिमूलक निकायको चयन आम मतदातामार्फत हुने गर्दछ, तर देशको कार्यकारी प्रमुख राष्ट्रपतिलाई प्रत्यक्ष मतदान गर्नबाट आम मतदाता वन्चित छन् । जसले आफूमाथि प्रत्यक्ष शासन गर्छ उसैलाई आमजनताले प्रत्यक्ष मतदान गर्न नपाउने ब्यवस्थालाई कति प्रजातान्त्रिक मान्ने भन्ने प्रश्न पनि समय-समयमा विभिन्न कुनाबाट नउठेका होइनन् । तर अमेरिकीहरू निर्वाचनमा आम मतदाताले रुचाएकै कारण कुनै ब्यक्ति असल, इमान्दार तथा योग्य हुन सक्दैनन् र, आम मतदाताले देशलाई केन्द्रमा राखेर गम्भीर विचार/विश्लेषण नगरी आवेगमा मतदान गर्न सक्छन्, जसले अमेरिकाको भविष्य सङ्कटग्रस्त तुल्याउन सक्छ भन्ने तथ्यप्रति त्यतिबेलै सचेत रहेको बुझ्न सकिन्छ ।

वास्तवमा आम जनताले कसैलाई मन पराउने या नपराउने कारण अनेक हुनसक्छन्, जसको सम्बन्ध राज्य सञ्चालन गर्नसक्ने योग्यता, क्षमता र इमान्दारीसँग नरहन पनि सक्छ । चुनावमा विजयी बनेकै कारण कोही सबैभन्दा असल, योग्य र इमान्दार हुन्छ भन्ने होइन । हाम्रै परिवेशलाई दृष्टान्तका रूपमा लिने हो भने निर्वाचनमा त हेमबहादुर मल्ल र खोभारी रायहरू पनि विजयी बनेका हुन्छन्, बबन सिंह, फुलनदेवी र लालुप्रसादहरू पनि आम मतदाताबाट रुचाइएकै पात्रमा परेका हुन् । अनेक सन्दर्भमा उदाहरणीय पात्र बनेका लेण्डुप दोर्जी पनि आम जनताले औधी मन पराएर भारी बहुमतसहित संसदमा पुऱ्याइएका ब्यक्ति हुन् । यस्ता अनेकौँ दृष्टान्त संसारमा प्रकट हुनुभन्दा दशकौँ दशकअघि नै अमेरिकी नेताहरू आम मतदाताले छानेका मानिस पनि गलत हुन सक्छन् भन्ने निष्कर्षमा पुगे र, देशको कार्यकारी प्रमुखको चयन योग्य मतदाताहरूबाट मात्र हुने वैधानिक ब्यवस्था गरे । ज्ञातब्य छ, अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिको चयन इलेक्टोरल कलेजका माध्यमबाट हुने गर्दछ । कुन राज्यबाट कति जना प्रतिनिधि इलेक्टोरल कलेजका निम्ति चयन हुने भन्ने पहिले नै निर्धारित छ । राष्ट्रपतिका उम्मेदवार बनेका ब्यक्तिहरूको पक्षबाट हरेक राज्यमा इलेक्टोरल कलेजका निम्ति उम्मेदवार चयन हुन्छन् र, जनताको रोजाइमा परेका ब्यक्ति विजयी बन्छन् । यसरी जनताबाट छानिएका ब्यक्तिको समूहलाई इलेक्टोरल कलेज भनिन्छ र, राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचित भइसकेपछि केही दिनको अन्तरमा नै उक्त इलेक्टोरल कलेज औचित्यहीन हुनेछ । यो ब्यवस्थाले मतदाता बन्ने ब्यक्ति पनि राष्ट्रपतिको उम्मेदवार बनेका ब्यक्ति भन्दा कमजोर चैतन्यतहका हुनुहुन्न भन्ने सन्देश दिएको छ । यसले कमजोर चेतनास्तरका मानिस भएका देशमा आम जनताले गर्ने गल्तीका कारण प्रजातन्त्र नै बिथोलिन सक्छ भन्नेतर्फ पनि अमेरिकी संस्थापक नेताहरू पहिले नै स्पष्ट रहेको सङ्केत गर्दछ ।

सारा संसारले सिंह र बाघलाई आफ्नो शान र शक्तिको प्रतीक बनाइरहेका बेला चील जस्तो पन्छीलाई प्रतीक बनाउने अमेरिकी प्रणेताहरूको दूरदर्शिता अनुकरणीय छ । सिंहभन्दा चीलको दृष्टिक्षमता हज्जारौँ गुणा बढी हुन्छ र, आफूलाई पूर्ण सूरक्षित राखेर घातक हमला र, सिकार गर्ने क्षमता चीलमा हुने देखेर नै अमेरिकाले आफ्नो शान र शक्तिको सिम्बोल चीललाई बनाएको बुझ्न सकिन्छ ।

यदि अमेरिकाले इलेक्टोरल कलेजमार्फत राष्ट्रपति निर्वाचित हुने ब्यवस्था नगरेको भए त्यहाँ ब्राड पिट, एन्जेलिना जोली या माइकल ज्याक्सन टाइपका सेलिब्रेटीहरू राष्ट्रपति निर्वाचित भइकन देशको स्थिति कहाँ पुऱ्याइसकेका हुन्थे भन्न सकिन्न । सेलिब्रेटीहरू कुनै कार्यकारी भूमिकाका निम्ति अयोग्य हुन्छन् भन्ने कुरालाई निरपेक्ष ढङ्गले बुझ्नु उचित होइन । रोनाल्ड रिगन कुनै बेलाका सेलिब्रेटी नै थिए, तर सेलिब्रेटी भएकै कारण उनी राष्ट्रपति छानिएका थिएनन् । परिपक्वतासँगै रिगनले कार्यकारी प्रमुखको जिम्मेवारी लिनसक्ने हैसियतको विकाश गरे र, उनी इलेक्टोरल कलेजका बहुमत सदस्यको रोजाइमा परेका थिए । सेलेब्रेटी रहिरहेको अवस्थामा भारतमा अमिताभ बच्चन, सत्रुघ्न सिन्हालगायत कैयनले राजनीतिक मञ्च पाए, तर राजनीतिक जिम्मेवारीमा उनिहरू सफल हुनसकेको ठानिँदैन ।

नेपालमा पछिल्लो समय अनौठा प्रवृत्ति, मनोविज्ञान र संस्कार देखापरेको छ । अर्को पक्षलाई जसले मिलाएर मज्जाले गाली दिनसक्छ उ रातारात ‘नायक, विश्लेषक’ आदि के के हो बनिसक्छ । मानिस त्यस्तैको पछि लाग्न थाल्छन् । अमेरिकातिरको जिन्दगी बिताइरहेकाहरूलाई पहिले-पहिले कन्याका पिताहरूले मात्र महत्व दिने गर्थे, अहिले मतदाताहरूको रोजाइमा समेत त्यस्तै मानिस पर्न थालेका छन् । हो, नेपालमा बेथिति, विसङ्गति, अराजकता, अनुशासनहीनता, बेरोजगारी, अतिराजनीतिकरण र गरिबीको पराकाष्ठा छ । यहाँको दैनिक जीवन सहज र सरल छैन । त्यसैले युवापुस्ता नेपालमा आफ्नो भविष्य देख्दैन, यहाँको राजनीति र प्रशासनिक ब्यवहारसँग लडेर यहीँ बस्नुभन्दा बाहिरिनुलाई उपयुक्त ठान्छन् उनीहरू । रहरले विदेशिनेहरू पनि छन् र त्योभन्दा बढी बाध्यताले बाहिरिनेहरूको सङ्ख्या ठूलो छ । यसरी नयाँ पुस्तालाई आफ्नै देशप्रति आकर्षण पैदा गराउन नसक्नुमा यहाँको राजनीति र प्रशासनिक ब्यवस्था नै मुख्य रूपले जिम्मेवार छ ।

त्यस्तै, कोही ब्यक्ति नेपालको नागरिकता त्यागेर कुनै अर्को देशको नागरिक बन्छ भने त्यो उसको निजी इच्छा र अधिकारको कुरा हो । निजी जिन्दगी बिताउने मानिसको हकमा त्यस्ता कैयन कुरा क्षम्य हुनसक्छन्, जुन सार्वजनिक जिम्मेवारी लिने या लिएका ब्यक्तिको हकमा अक्षम्य हुनेछ । एकपटकको नेपाली सधैंको नेपाली हुन्, यो विवाद या बहसको विषय होइन । एकपटक विदेशकै नागरिकता लिएका रहेछन् भने पनि कसैले उक्त नागरिकता विधिवत त्यागेर या नत्यागीकन पनि स्वदेशको सेवा गर्न सक्छन्, पाउँछन् । तर राज्य सञ्चालन प्रक्रियामा औपचारिक रूपमै सामेल भएर जिम्मेवारी निर्वाह गर्न ब्यक्तिले आफूलाई कानूनसम्मत तुल्याउनै पर्दछ । अर्को देशको नागरिकता र राहदानी यथावत राखेर नेपालको प्रशासक, मन्त्री या प्रधानमन्त्री बन्न खोज्नुलाई चाहिँ कुनै पनि मुलुकले आपराधिक कार्य होइन भन्न सक्दैन ।

चुनावमा विजयी बनेकै कारण कोही सबैभन्दा असल, योग्य र इमान्दार हुन्छ भन्ने होइन । हाम्रै परिवेशलाई दृष्टान्तका रूपमा लिने हो भने निर्वाचनमा त हेमबहादुर मल्ल र खोभारी रायहरू पनि विजयी बनेका हुन्छन्, बबन सिंह, फुलनदेवी र लालुप्रसादहरू पनि आम मतदाताबाट रुचाइएकै पात्रमा परेका हुन् । अनेक सन्दर्भमा उदाहरणीय पात्र बनेका लेण्डुप दोर्जी पनि आम जनताले औधी मन पराएर भारी बहुमतसहित संसदमा पुऱ्याइएका ब्यक्ति हुन् ।

यहीँ नेपालमै कुनै ब्यक्तिले दुई जिल्लाको नागरिकता र त्यस आधारमा दुईवटा राहदानी बनाएको रहेछ भने त्यसलाई अपराध मानेर दण्ड दिइन्छ । दुई देशको नागरिकता एकसाथ प्रयोग गर्न पाउनुपर्छ र, त्यस्ता ब्यक्तिले कानूनी प्रक्रिया पूरा नगरिकन राज्य सञ्चालनको जिम्मेवारी पाउनुपर्छ भन्नु कति जायज हो ? अमेरिका र त्यस्तै कोटिका मुलुकबाट सिक्ने धेरै कुरा छन, तीमध्ये एक कानूनको पालना सबैभन्दा महत्वपूर्ण मानिन्छ । अमेरिकामा बसेर पनि कसैले कानूनको महत्व बुझेको हुँदैन भने त्यस्ता ब्यक्तिले या त मानसिक सन्तुलन गुमाएका हुन्छन् या तिनमा आपराधिक मानसिकता जीवित रहेको हुन्छ, या ती अर्कै नियतले बाँचेका हुन्छन् । दोहोरो नागरिकता र पासपोर्ट चार्ल्स सोभराजले पनि बोक्ने गर्थ्यो भन्दैमा दोहोरो पासपोर्ट र नागरिकता बोक्ने सबै सोभराजजस्तै हुन् भन्ने कदापि होइन । तर स्वदेश आगमनपश्चात् स्वदेशको सेवामा समर्पित हुन औपचारिक रूपमै खोज्नेले कानूनसम्मत व्यवहार गरेर आफूलाई शुद्ध तुल्याउन सक्नुपर्छ । दोहोरो नागरिकता र पासपोर्टले ब्यक्तिलाई देशप्रति समर्पित र निष्ठावान बन्न दिँदैन ।

अमेरिका जस्तो आप्रवाशीहरूको मुलुकले समेत दोहोरो नागरिकता र पासपोर्टलाई ग्राह्य तुल्याउन नखोजेबाट नै त्यसको सम्वेदनशीलता झल्काउँछ । कम्तिमा राजनीति या प्रशासनिक भूमिका निर्वाह गर्ने ब्यक्ति कानूनी रूपले समेत शुद्ध भएर आउनुपर्छ भन्दा विदेशमा बसोबास गर्ने नेपालीजनले मन दुःखाउनु नपर्ने हो । नेपालमा जो मानिस जतिसुकै दुःख र कष्ट ब्यहोर्नु परेपनि यहीँ लड्छु, बाँच्छु र मर्छु भन्ने चाहना राख्नेहरूको सङ्ख्या सानो छैन । स्वदेशमै बसेर स्वदेशका निम्ति केही गर्न खोजिरहेका या खोज्नेहरूलाई निरुत्साहित तुल्याउने किसिमको व्यवहार बाहिर बस्ने नेपालीजनले गर्नु शोभनीय होइन । बसोबास र जिन्दगी बदल्ने अवसर पाएर पनि त्यसलाई उपेक्षा गर्दै नेपालमा सङ्घर्ष गर्नु भन्दा विदेशको नागरिकता र पासपोर्ट प्राप्त गर्नुचाहिँ उत्तम कार्य हुन्छ भन्ने सन्देश प्रवाह हुने व्यवहार एउटा सच्चा नेपालीबाट हुन सक्दैन ।

यहाँ बसेका सबै नेपाली अयोग्य, नालायक र भ्रष्ट छन् भन्ने सन्देश जाने किसिमको व्यवहार कतैबाट पनि आउनु नपर्ने/नहुने हो । तर पछिल्लो समयमा उत्पन्न अभिव्यक्ति र ब्यवहारले देशमै बसेर देशका निम्ति सङ्घर्ष गरिरहेकाहरू र विदेशमा बसिरहेका नेपालीबीच नयाँ प्रकारको अन्तरविरोध उत्पन्न गराउनसक्ने खतरा बढाएको छ ।

आफूलाई केन्द्र मानेर बनाइने धारणा र देशलाई केन्द्रमा राख्दा बन्ने धारणामा भारी अन्तर रहने गर्दछ । समृद्ध मुलुकको बासिन्दा बनेका नेपालीमा नेपालप्रतिको ममता जसरी बढी हुन्छ त्यसरी नै स्वदेशलाई केन्द्रमा राखेर बन्ने धारणाहरूप्रति पनि सम्मानजनक दृष्टि रहोस् भन्ने अपेक्षा राखिएको हुन्छ । नेपालमै बसेर नेपाल र नेपालीका निम्ति पुराना राजनीतिजीवी तथा प्रशासनजीवीहरूले केही गर्न नखोज्नुको या नसक्नुको दोष यहाँ रहेका अन्य नेपालीले बोक्नु नपर्ने हो ! यहाँ बसेका सबै नेपाली अयोग्य, नालायक र भ्रष्ट छन् भन्ने सन्देश जाने किसिमको व्यवहार कतैबाट पनि आउनु नपर्ने/नहुने हो । तर पछिल्लो समयमा उत्पन्न अभिव्यक्ति र ब्यवहारले देशमै बसेर देशका निम्ति सङ्घर्ष गरिरहेकाहरू र विदेशमा बसिरहेका नेपालीबीच नयाँ प्रकारको अन्तरविरोध उत्पन्न गराउनसक्ने खतरा बढाएको छ । यस्तै अन्तरविरोधको स्थिति उत्पन्न नहोस् भनेर हुनसक्छ भारतमा ‘एनआरआई’हरूले सरकारी सेवामा प्रवेश गर्ने, मतदान गर्ने र, उम्मेदवार बन्नेबाहेकका सबै कार्य गर्न पाउने नीति अपनाएको छ । स्पष्ट नीति र कानूनको अभावमा यहाँ भने आपसमै अन्तरविरोध बढ्ने परिस्थिति उत्पन्न हुन खोज्दैछ ।

हमिद कारजायी र मिखाइल गोर्वाचोवहरूको पृष्ठभूमिबारे अध्ययन गरेमा अदृष्य शक्तिहरू कति मिठोसँग आफ्नो पक्षमा काम गर्नसक्छन् भन्ने देखाउँछ । एउटा निर्वाचनमा गलत ब्यक्तिको चयन हुनुको परिणाम कहिल्यै भुल्न नसकिने गरी युक्रेनले भोग्दैछ । पुरानाहरूप्रतिको आक्रोश र असन्तुष्टिले हामीलाई यस्तो अवस्थामा पुऱ्याइदिएको छ कि हाम्रा आँखा र कान बन्द हुन पुगेका छन् । आँखा खुल्दा हामीलाई पश्चाताप गर्ने मौका मिल्ने सम्भावना पनि देखिन्न । त्यसैले नेपालभित्र र बाहिर रहेका नेपालीहरूको समन्वय भएर राष्ट्रनिर्माणमा योगदान पुग्ने वातावरण बनाउन अब विलम्ब हुन मिल्दैन । अमेरिका जस्तो आप्रवाशीहरूको देशबाट हामी धेरै कुराहरू सिक्न सक्छौँ । उसले गरेका संवैधानिक, कानूनी र राजनीतिक अभ्यासहरूबाट पाठ लिन सकियो भने त्यसले नेपाललाई लाभ पु¥याउन सक्ने देखिन्छ । सारा संसारले सिंह र बाघलाई आफ्नो शान र शक्तिको प्रतीक बनाइरहेका बेला चील जस्तो पन्छीलाई प्रतीक बनाउने अमेरिकी प्रणेताहरूको दूरदर्शिता अनुकरणीय छ । सिंहभन्दा चीलको दृष्टिक्षमता हज्जारौँ गुणा बढी हुन्छ र, आफूलाई पूर्ण सूरक्षित राखेर घातक हमला र, सिकार गर्ने क्षमता चीलमा हुने देखेर नै अमेरिकाले आफ्नो शान र शक्तिको सिम्बोल चीललाई बनाएको बुझ्न सकिन्छ । हो, नेपालमा उसका इच्छा र योजना नेपालले धान्नै नसक्ने स्तरका भएको महसूस हुन्छ । हामी हाम्रो भूमिको दुरुपयोग कसैबाट नहोस् भन्ने चाहन्छौँ । अमेरिकी चासो नेपालमा बढ्दै जाँदा धेरै नेपाली सशङ्कित बनेका पनि छन्, तथापि उसका संवैधानिक अभ्यास र त्यसक्रममा प्रकट भएका दूरदर्शिता हाम्रा निम्ति अनुकरणीय छन् । आफूलाई अमेरिकी बनाउन भन्दा देशलाई अमेरिका जस्तै बनाउनसक्ने क्षमता र इमानदारी हामी सबैमा पैदा होस्, जय मातृभूमि !