मानव, खुल्ला आकाशमा निस्क

मानव, खुल्ला आकाशमा निस्क


✍ डिल्ली अम्माई

आज उसँग सबै छ
लुटको धन, नीजि कमाइ
पृथ्वीको उपहारमा निजी दाबी
आफ्नै परिवारको लागि कामदार
अरुका भन्दा फरक केटाकेटी
भएभरको सबै छ उसँग ।
तह मिलेकाहरुसँग मन मिसिएको छ
जात, धर्म र देशको ढोकामा थुनिएको छ
किताब, दर्शन र जिवनमा समेत
यो सबै उसको निजी छ,
आमा-बुबादेखि
समुदाय र जात
सम्पत्ति र आडम्बर निजी ।

थाह छ ? मनुवा तिमीलाई
केही दिनमा तिमी सुत्दैछौ
तिमीले गर्व गर्ने प्यारा सबै छोडेर
कहिल्यै नउठ्ने गरि,
नफर्कने गरि
मायालु सबै त्यागेर
दुख्ने दुःख र भोग्ने देह त्यागेर
खाने गास र फेर्ने स्वास त्यागेर
सधैंको लागि तिम्रो पदचाप
सधैंका लागि तिम्रो मोह
उर्जामा एकाकार हुनेछ।

जम्मा भएको तिम्रो शरीरभित्र
जम्मा भएको तिम्रो घरभित्र
जम्मा भएको तिम्रो समाज अनि
तिम्रो देश जातको कुहिरोभित्र
सबै सकिने छ तिम्रो शरीरसँगै
शरीर माटोमा
स्वास हावामा
उर्जा सृष्टिमा
सबैका लागि छरिने छ
सँधैका लागि पोखिने छ।

मानव,
रहने छ केवल रश्मि
तिम्रो जीव चन्द्रमाभित्र
ब्रह्माण्डसँगै चुहिरहेको आभा
सम्झना बनेर अर्को सिँढीमा ।

अत्तासिने गरी थुनिएको तिम्रो प्राण
थरि थरिका बन्धनले
बाँधिएको तिम्रो सुगन्ध
बन्धन टुटेपछि सम्झना
मोहमुक्त भएपछिको याद
तिम्रो देहबाट मुक्त हुँदै
थाहा नपाउने गरी तिम्रो कस्तुरी
तिमी बाहिर अर्को सृष्टिमा
छिरलिएर समेलिँदै
अँध्यारिएर उज्यालो बन्दै
प्रकाशमा नुहाएर कन्चन हुँदै
इन्द्रेणीमा रंगिने छ।

तिमी पानीमा सागर हुनेछौ
तिमी फैलिँदै फैलिदै
साँघुरो गल्लीबाट बाहिर निस्कने छौ
जति फैलिने छौ सृष्टिमा
सम्झना साघुँरिदै जाने छ
जति उज्यालिने छौ प्रकाशमा
दुःखसुखको भोग छाप मेटिने छ।

त्यो निकट भविष्यको यात्रा
सम्झेका छौ मनुष्य ?
पढ भविष्यको आफ्नो परिचय
जोख तिम्रो वजन र
नाप तिम्रो आगामी गन्तव्यको दूरी
बन्धनबाट आजै निस्क
सक्छौ भने मानव
खुल्ला आकाशलाई हेर्न सिक
बन्धनबाट निस्क
ब्रह्माण्ड बन मानव
भेदरहित
सीमारहित
निर्मित ढोँग छोड र
चेतनाको पराकाष्टा बन ।