मजदुरहरु… मुल्य माग !

मजदुरहरु… मुल्य माग !


✍ डिल्ली अम्माई (अनाथ अंकल)

मजदुरहरु
महलमा मुछिएको पसिनाको मुल्य माग
सभ्यताको उचाइका सुस्केराको मुल्य माग
रगतले सिँगारेको सिंहासनको मुल्य माग
उडिरहने वायुपंखी कारखानाको मुल्य माग

श्रमिकहरु !
कोइलाखानी बिस्फोटनमा टुटेकाको मुल्य माग
दलित भन्दै युगौँदेखि लुटेकाको मुल्य माग
खलिफको धुरीबाट झरेकाको मुल्य माग
अस्पातलको दबाइ नपाइ मरेकाको मुल्य माग

गरीबहरु !
घरघरमा रखैल बनाइ लुटिएकाको मुल्य माग
देशविहीन बनाएर कुटिएकाको मुल्य माग
सम्भ्रान्तको मोजको लागि बेचिएकाको मुल्य माग
नाफामुखी उपभोगमा मेटिएकाको मुल्य माग

क्रान्तिवीरहरु !
पावेलका आमाहरुको जुलुसको मुल्य माग
ब्यभिचारले च्यातिएका बुलुजहरुको मुल्य माग
भियतनामी चिहानका आस्थाहरुको मुल्य माग
इन्डोचीनमा बगाइएको रगतको मुल्य माग

निर्धाहरु !
पेरिसबाट फुकिएका आवाजको मुल्य माग
मजदुरहरुको खोसिएको इन्क्लाबको मुल्य माग
जापानमा जलाइएका शहरको मुल्य माग
झुपडिमा सुकाइएका रहरको मुल्य माग

अन्तरराष्ट्रिय पथिकहरु !
देश माग्दा झुण्ड्याइएका भगतहरुको मुल्य माग
गास माग्दा पोखिएका रगतको मुल्य माग
देश माग्दा थुनिएका मण्डेलाको मुल्य माग
आशा माग्दा मारिएका गोभेराको मुल्य माग

निर्धनहरु हो !
उत्पिडनको जुवाभित्र जोतिएकाको मुल्य माग
साम्राज्यवादी मेसिनगनले भुटिएकाको मुल्य माग
जाग श्रमिकहरु यो धर्तीका निद्राबाट अब जाग
आपसमा फुट्ने हैन जुट्दै मुक्तिपथमा लाग