व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित डडेल्धुराका राउटे

व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित डडेल्धुराका राउटे


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्लाका राउटे जाति व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने, जंगलमै रमाउने डडेल्धुराका राउटे बिस्तारै समाजमा घुलमिल हुन थालेका हुन् ।

दशकौँदेखि डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नं. ४ को रज्यौडा र १२ को जोगबुढा, आमपानीमा बस्दै आएका लोपोन्मुख जाति राउटेले व्यवसायिक रूपमा तरकारीको खेती गर्न थालेपछि उनीहरूको पारिवारिक जीवनशैलीमा पनि सुधार आउनुका साथै मनग्गे आम्दानी गर्नसमेत सफल भएका छन् ।

जंगल बसेर गिठ्ठा, भ्याकुर खाएर जीवन धान्दै आएकोमा जंगल छोडेर गाउँमा बसोबास गर्न थालेपछि सिमान्तकृत समुदायमा परिभाषित राउटेहरू व्यवसायिक खेतीतर्फ उन्मुख भएपछि तिनका बसोबास गर्दै आएको ठाउँ पनि परिवर्तन हुँदै आएको छ ।

पहिले–पहिले बोल्नै डराउने राउटे जातिका महिला तथा पुरुषहरू साम्प्रदायिक समाजबाट मिश्रित समाजसँग अभ्यस्त हुन थालेसँगै समाजको सिको गर्दै अहिले आलु, भन्टा, टमाटर, सिमला, काँक्रा मुला लगायतका तरकारी बाली लगाएर वार्षिक लाखौैँ आम्दानी गरिरहेका छन् ।

भारतका विभिन्न ठाउँमा रोजगारका लागि धाउने यो समुदायका युवाहरू तरकारी खेती गर्न थालेसँगै विदेशिनबाट रोकिएका छन् भने उत्पादन गरेको तरकारी बजारमा बिक्री गरी सोचेजतिको आम्दानी पाउँदा उत्साहित भएको अगुवा कृषक गगन राउटेले बताए ।

परम्परागत जीवनपद्धति अनुसार जंगलमा छँदा गिठ्ठा, भ्याकुर र जंगली जनावरको खोजीमै दिन बिताउने राउटे परिवारका युवाहरूलाई कृषि ज्ञान केन्द्र डडेल्धुरामार्फत चार लाख अनुदान पाएपछि उनीहरू प्रविधियुक्त कृषक मात्र भएका छैनन् तरकारी खेतीबाट मनग्गे आम्दानी हुँदा हर्षित पनि भएका छन् ।