एनआरएनएलाई प्राग बैठकले दिएको सन्देश र आगामी रणनीतिबारे

एनआरएनएलाई प्राग बैठकले दिएको सन्देश र आगामी रणनीतिबारे


एनआरएनएमा आईएलओ राहत काण्ड मच्चाएर संस्था लुट्नेहरू, विभिन्न परियोजना र फाउण्डेशन बनाएर संस्थामा लगानीको पहुँच बढाउने, राहत काउन्सिलिङको नाममा सहयोग लुट्ने र मानव तस्करीमार्फत निमुखा लुट्ने घृणित डफ्फाको पहिल्यैदेखि मनपरी थियो । त्यही डफ्फाको एउटा टुकडीले नेतृत्वमा सदाबहार पहुँच स्थापित गर्न चाहन्छ भन्ने कुरा यस सम्मेलनमा पनि देखियो ।
✍ डिल्ली अम्माई

भर्खरै सकिएको गैरआवासीय नेपाली संघ (संस्थापन पक्ष)को १५औँ युरोपेली प्राग बैठक (सम्मेलन)मा पङ्क्तिकार त सहभागी भएन, हुन चाहेन वा पुग्न सकेन, जे भन्दा पनि कसले प्रतिप्रश्न गर्ला र ? प्राग बैठकमा भएको बहसको अन्तर्यबारे शब्दहरूको वर्षाका तरङ्गहरूबारे अनभिज्ञ भए पनि सम्मेलनको तौरतरिका र बहसका विषयबारे बाहिरबाट जे-जति बुझियो त्यो नै काफी छ जस्तो लागेर केही लेख्न मन लाग्यो ।

एनआरएनको विगतबारे समीक्षा गर्दै कार्यदिशाबारे प्रष्ट पार्न, भुइँ तहसम्मको आशा, अपेक्षा र कार्यशैलीबारे सुन्न सुनाउन र आपसी भाइचाराको लागि बैठक वा सम्मेलन अपेक्षित हुनु स्वाभाविक हुन्छ । मुख्य त सम्मेलनले संगठनमा देखापरेका गतिरोधबारे गाँठो फुकाउने काम पनि गर्छ र सफलताका कथाहरू सँगै उल्झनहरूलाई पनि भुइँतहसम्म लगेर छलफल गर्छ । ती सबै कुराको लागि बैठक कति सफल भयो यसैको सेरोफेरोमा संगठनको भविष्य निर्धारित हुने हो ।

संसारमा मान्छे दुई थरिका हुन्छन् । एकथरिले सपना देखाउँछन् तर काम गर्दैनन् । अगाडिका घोषणाहरू कति पूरा भए वा भएनन् त्यसको समीक्षा नगरी केवल भविष्यको सपना देखाउने परम्पराले समुदायमा निराशाको वितरण गर्दछ । अर्को खालका मानिसहरूले काम गरेरमात्र आगामी कार्यभारबारे घोषणा गर्दछन् । उनीहरूले गरेका कामहरूले समुदायको प्रतिक्रियात्मक अपेक्षालाई आशावादी बनाइरहन्छ । उच्च तहको सामुदायिक प्रतिक्रियाले नै समाज वा सामाजिक संघ-संगठनको रूपान्तरण गर्दछ । खासमा रूपान्तरण आन्तरिक प्रगतिको श्रृङ्खलाले तय गर्दछ । समुहगत घोषणाले व्यवहारिक उपलब्धिलाई वास्ता नगरी अर्को घोषणालाई जन्माउनु धोकामात्र हुन जान्छ । उपलब्धिलाई जाँच्ने त्यो मात्रै एक वैज्ञानिक काइदा हो ।

अहिले एनआरएनएको एक पक्षले गरेको युरोपियन बैठकमा के त्यस्तो नयाँ कुरा भयो भन्ने प्रश्न उठ्ने नै भयो । प्राग बैठक रूपमा केही रूपान्तरित बैठक जस्तो देखियो । मिडियाले आफ्नो कुरा राख्न सक्यो । बहसमा एकताको कुराले प्रधानता पायो र सबैले सुधारको आवाज उठाए । त्यो राम्रो प्रयास हो ।

तर सारमा भन्नुपर्दा, एनआरएनए विदेशमा बसेर अरुको लगानीमा रमाउने क्लब भन्दा खासै फरक नदेखिएको प्रतिक्रिया र वितरित भिजुअलबाट ज्ञात हुन आयो । युरोपियन बैठकभित्रका प्रस्तुति, बस्तुगत र आत्मगत आधारहरूले पुरानै शास्त्रीय अवस्थाको पुष्टि गरेका छन् । एनआरएनएको पूरानो आधार खल्बलिने चरणमा पुगेपनि कार्य-सफलताको कसी लगाउँदा त्यो देखिएन । नेपालबाट प्रभावित दुवै राजनैतिक खेमाको छिनाझपट हरेक अधिवेशनमा देखिए झैँ अहिलेको युरोप क्षेत्रीय बैठकमा पनि देखियो । केही नयाँ पुस्ताका युवाहरू, श्रमिक र मझौला तहका व्यापारीहरू बढी असन्तुष्ट देखिए । युवालगायत कहिले त बैठकका केही सेसन बहिष्कार नै गरेका कुराहरू पनि सुनिए । युवाहरूको सेसन नै भएन । समयको सम्वेदनशीलतालाई खासै ख्याल नगरिएका गुनासाहरू आए ।

डायस्पोराका श्रमिक तथा मझौला व्यवसायीहरूले समेत आफ्नो पहुँच स्थापित गर्दै संस्थालाई मानव तस्कर र माफियाहरूको चङ्गुलबाट मुक्त गर्ने उपाएको खोजि र अनुशासनका बहस भन्दा आक्रोश र कुण्ठा पोखेर सम्मेलन सकिएको छ । यो बैठकमा मुद्धा र एजेण्डाको बहस भएन वा तयारी पुगेन । यसलाई आयोजकको रुचि नै रहेन पनि भन्न सकिने भयो । युरोपियन बैठक स्वायत्त हुन नसक्ने संघको पुरानै रोग हो ।

शेष घले समुहसँग एकताका स्पष्ट आधार र योजनाबारे गनगन भए तर गहन कुराहरू बहसमा आएनन् भन्ने गुनासो ब्यापक छ अहिले । आगामी अधिवेशनमा उम्मेदवार हुनेहरूले भित्री रूपमा उम्मेदवारको रूपमा आफूलाई चिनाउने र चुनाव प्रचार गर्ने कामको शुरुवात भने मजैले भयो । समीक्षा र आगामी कार्यनीतिको बहस भन्दा चुनावको लविङ बढी देखिएको बताउँछन् बैठकबाट फर्केकाहरू ।

यो संस्थामा आईएलओ राहत काण्ड मच्चाएर संस्था लुट्नेहरू, विभिन्न परियोजना र फाउण्डेशन बनाएर संस्थामा लगानीको पहुँच बढाउने, राहत काउन्सिलिङको नाममा सहयोग लुट्ने र मानव तस्करीमार्फत निमुखा लुट्ने घृणित डफ्फाको पहिल्यैदेखि मनपरी थियो । त्यही डफ्फाको एउटा टुकडीले नेतृत्वमा सदाबहार पहुँच स्थापित गर्न चाहन्छ भन्ने कुरा यस सम्मेलनमा पनि देखियो । त्यो डफ्फालाई फटाहाकर्मी, सडेगलेका सुदखोर र हुण्डी खान पल्केका केहीबाहेक कसैको समर्थन छैन भन्ने कुरा सदस्यता बढाउन नसकिरहेको अवस्थाले प्रमाणित गरिरहेको छ ।

शक्तिमा पहुँच बनाएर मनपरी गर्ने शैलीको भने यो सम्मेलनमा अब्यवस्थित भएपनि प्रतिरोध भएका कुराहरू बाहिर आए । कार्यक्रममा दोश्रो र तेश्रो सेसनको छलफल अलिक बढी प्रभावकारी हुनुमा त्यही हस्तक्षेपले काम गरेको बैठकबाट फर्केकाहरूले बताएका छन् । उनीहरूका अनुसार, नेपालमा सरकारको केन्द्रिय तहबाट भैरहेको मानव बेथितिको पर्दाफास भएपछि एनआरएनएभित्रबाट चर्को आवाज उठेको बताइन्छ । बेथितिका यिनै रोगले नै मुख्य गरेर एनआरएनए थला परेको हो भन्नेहरू संस्थाभित्र धेरै छन् र त्यसको लागि निर्णायक हस्तक्षेप गर्ने तयारीमा लागेको बैठकबाट फर्केकाहरूले बताएका छन् । त्यसकारण बैठकले अलिकति आशा भने जगाएको छ ।

नेपालबाट बोलाएका भनिएका पत्रकार लगायतका केही चराहरू (उनीहरूकै सांकेतिक शब्दमा) यो पटक पनि हराए भन्ने कुराले अहिले पनि विशेष चर्चा पाइरहेको छ । एकथरि संगठनकर्ताहरूले भन्दैछन, ‘एनआरएनहरूमा अब यी संस्थागत लुट र मानवतस्करी जस्ता तुच्छ समस्याहरूसँग लड्ने हिम्मत हुनैपर्छ । अन्यथा सम्मेलनको नाममा आएका चराहरू सधैं हराइरहने छन् र एकथरीले आफ्नो अवैध लुट धन्दा चलाइरहने छन् ।’

एनआरएनएको त्रि-अध्यक्ष पक्षमा रूपान्तरण त के पूर्ण एकताको आधारबिना सुधार पनि असम्भव देख्छन् बैठकबाट पÞmर्किएकाहरू । उनीहरूका अनुसार कुमार पन्तले घोषणा गरेको रूपान्तरित एनआरएनएको मुद्धा समय नपुगी गरिएको घोषणा थियो भन्ने कुरा चेक रिपब्लिकको राजधानी प्रागमा भएको युरोपियन क्षेत्रीय बैठकले समेत पुष्टि गरेको छ ।

आधारभूत तहका नेपाली आप्रवासीहरूले भने पन्तको तात्कालिक घोषणालाई आशाको रूपमा हेरेका थिए । त्यो बेला घोषणा गरिएको एजेण्डा रूपान्तरणको एक संकल्प प्रस्ताव जस्तो थियो । तर बुझ्नेले सुधारको एकतहबाट लगेर, अर्को तहमा प्रवेश गराउने उक्त घोषणालाई हल्का रूपमा लिए । तात्कालिक नेतृत्वमा धेरैजसो रूपान्तरणको लागि इमान्दार नदेखिनु र नेपालको छाया–राजनीति छिराएर एनआरएनए रूपान्तरणको सट्टा फुटमा पुर्याइनु रूपान्तरण योजना असफल हुनुको अर्को कारण हुन सक्छ ।

पन्तले कार्यकालको अन्त्यतिरको एक मञ्चमा भनेका थिए, ‘एनआरएनए रूपान्तरणमा क्रमशः मानविय मुद्धा पहिलो, पहिचान वा भाषा साहित्य र कलाको पुस्ता हस्तान्तरणको मुद्धा दोश्रो र मुलुक समृद्धि, लगानी र समुदायबीचको भाइचारा अभिवृद्धि तेश्रो मुद्धा हुनुपर्थ्यो । उनका अनुसार संगठनको संरचना, परिचालन विधि र पद्धतिको सवालमा अत्यान्त अनुशासित, पारदर्शी तथा वैज्ञानिक हुनुपर्थ्यो । कार्यालयको संचालनमा पनि पारदर्शिता र शुद्धता ह हुनुपर्थ्यो । यी सबैको इमान्दारीपूर्वक कार्यान्वयनले नै संगठन रूपान्तरण लैजान सक्थ्यो ।’

भनिन्छ, ‘पन्तले एनआरएनए रूपान्तरणको घोषणा पनि गरे, प्रयास पनि गरे तर इमान्दार टिम पाएनन् । त्यसमा हरेक प्रकारका राजनीति भए, अदृश्य चलखेल भए र अन्त्यमा संगठन नै फुटाए ।’ त्यसमा कसको कति दोष थियो समीक्षाको विषय हुन सक्ला । तर एक इमान्दार समीक्षकको विश्लेषणबाट भन्नुपर्दा संस्था रूपान्तरणको बाटो क्लासिकल एनआरएनए पङ्क्तिबाट नै भत्काउने काम भयो । क्लासिकल पक्षले आधुनिक पारदर्शी बाटो नचाहेको प्रष्ट देखियो । हजारौँ चोरगल्लीहरूलाई सम्म्याएर बनाएको उज्यालो राजमार्ग उनीहरूलाई मन परेन । पारदर्शिताको उज्यालोमा उनीहरूको गोप्य खेती रोकिने भयो । त्यसमा स्वयम् पन्त पनि झुण्डको अकर्मण्यतामा फसे । अन्ततः कुमार पन्तद्वारा लागु गर्न खोजिएको रूपान्तरित एनआरएनएको एजेन्डाले हावा खायो ।

केही विकल्पका तर्कहरू :

रूपान्तरणको पहिलो कुरा, टाउकाले टेकेका एनआरएनएलाई खुट्टाले टेकाउनुपर्छ भन्ने हो । अर्थात् एनआरएनएमा ओझेलमा परेको मानविय मुद्धालाई बहसको प्रथम एजेन्डा बनाउनु हो । त्यो जायज नै कुरा थियो किनकि त्यो भन्दा अगाडि लगानीको मुद्धाको वरिपरि संघ घुमिरहेको थियो । माफिया र मानव तस्करहरूको घेरामा थियो एनआरएनए ।

नेपालमा लगानीको सन्दर्भमा पन्तले ‘शिल्पीहरूको क्षमतालाई प्रोत्साहन गर्दै उनीहरूको उत्पादनमा सहयोग गरौँ, त्यसले उनीहरूको जीवनस्तर उठ्छ र त्यसले मुलुकलाई पनि एकखालको आन्तरिक निर्भरतामा लैजान्छ भनेका हुन् । त्यस्तै कतारको रंगशाला बनाउँदा होस् वा अन्य क्षेत्रमा नेपालीहरूले धेरैको संख्यामा ज्यान गुमाएका छन्, अंगभंग भएका छन्, जेलमा परेका छन्, चेलीहरूले नारकीय जीवन बिताएका छन् । एउटा विश्वब्यापी संजाल भएको संगठनको हिसाबले जीवनको मूल्य अगाडि आउँछ भन्ने संदेश दिनुपर्ने हो । तर चेक रिपब्लिकको राजधानी प्रागमा भएको बैठकमा ति बाकसमा फर्केका हाम्रा हजारौँ बन्धुहरूलाई श्रद्धान्जली त परको कुरा औपचारिक रूपले सम्झने काम पनि भएन ।

त्यस्तै आप्रवासी नेपाली समुदायको अर्को महत्वपूर्ण सवाल नेपाली मुल्यमान्यताको प्रचार, रक्षा, विकास र पुस्ता हस्तान्तरण नै हो । बेलैमा पहल नगरिने हो भने हाम्रा पूर्वीय सभ्यताले निर्माण गरेका भाषा, कला, साहित्य र सांस्कृतिक मुल्यहरू हराउँदै जान्छन् । नेपाल जोड्ने महत्वपुर्ण सेतु मेटिन्छ । पहिचान मेटिएको समुदायसँग आफ्नो भन्ने केही पनि बाँकी रहँदैन । नेपाली आप्रबासीको लागि यो चुनौती दिर्घकालीन महत्वको मुद्धा हो । तेश्रो कुरा, नेपालमा ज्ञान, सिप तथा आर्थिक लगानी, पर्यटन, ब्यापार प्रवर्धन र अन्य आर्थिक गतिविधि क्रमश महत्वपुर्ण हुन सक्ने भए ।

संगठनको बैठकमा उठ्नुपर्ने, नउठाइएका वा उठाएर पनि कार्यान्वयन गर्न चासो नदिएका धेरै मुद्धाहरू थिए । तीमध्ये प्रागमा भएको एनआरएनए युरोपियन क्षेत्रीय बैठकमा खासै समीक्षा गर्न जाँगर देखाएको जस्तो लागेन । जस्तो कि ः

१) फुटेको संगठन निःशर्त रूपमा जोड्ने कुरा सर्वप्रथम राखिनुपर्छ । सर्त सहितको एकताले फुटको बिज सुरक्षित राख्ने हुँदा घले पक्षसँग निशर्त एकताको पहल गरिनुपर्छ । त्यसको पूर्वतयारीको लागि आगामी अधिवेशनको तयारी समिति बनाउँदा दुवै पक्षको सहमतिलाई मध्यनजर गर्दै संयुक्त समिति बनाउनुपर्छ । एकताका आधारहरू के–के हुन सक्छन् भन्नेबारे केन्द्रले संयुक्त वार्ता गर्नु अनिवार्य देखिन्छ । यो फुटले पुर्याएको क्षतिले समुदायलाई निरास बनाएको छ । जसले कालान्तरमा यो संस्थालाई कल्पनै नगरेको क्षति पुर्याउने छ । गैरआवासीय नेपाली संघको जारी १५औँ युरोपेली बैठकमा यसबारे घनिभूत रूपले जिज्ञासा उठेको थियो, जसको सम्बोधन हुन अनिवार्य छ ।

२) संघलाई खुट्टाले टेकेर हिँड्ने बनाउन हिजोसम्म संस्थामा रहेका भद्दा कार्यप्रणालीहरूलाई परिवर्तन गर्न यो बहस अनिवार्य थियो । बालुवाटार जग्गा काण्ड र लाप्राक बस्ती निर्माण छनौटपछि एनआरएनए अभियान विकराल समस्याहरूले घेरिएको थियो । यी दुवै निर्णयमा नेतृत्वको चरम अपरिपक्व निर्णयकै कारण केही समय अगाडिसम्म संस्था ऋणको पहाडले थिचिएको थियो । त्यसको उपलब्धिको मिहीन समीक्षा कतै भएको देखिँदैन । गल्ति र कमजोरी भएका कुरामा यो संस्थाले अहिलेसम्म समुदायसँग माफी माग्ने परम्परा शुरु नै गरेको छैन । घडेरी प्रकरण र आइएलओ प्रकरणमा चुर्लुम्म डुबेको नेतृत्वले राहतको नाममा ब्रम्हलुट मच्चाएर पनि अझैसम्म एनआरएनहरूसँगै माफी नमाग्नु आफैंमा दुःखद हो । त्यो विषय कहीँ–कतै बहसको विषय बनाउन समेत आनाकानी गरियो । यस्ता बहस गर्नुपर्ने, समीक्षा र सुधार गर्नु पर्ने विषयहरू यो सँस्थामा अनगिन्ति छन् ।

प्रत्यक्ष चुनावको परिप्रेक्ष्यमा भन्नुपर्दा यो पनि भन्न सकिन्छ कि राष्ट्रिय सम्मेलनको बेला नै चुनावमार्फत मतदान गर्ने अधिकार सम्पन्न पार्षद् चुनौँ भन्ने कुराहरू पनि आए । त्यसले कमसेकम चुनावमा हुने खर्चलाई कम गर्ने थियो । त्यो बाहेक अनलाइन मतदानमा जान पनि सकिन्छ ।

तर सदस्यहरूको डाटा सुरक्षाको पूर्ण ग्यारेण्टीको कुरामा विश्वस्त हुने आधारहरू अझै भरपर्दा छैनन् । त्यसैले सदस्य बन्न धेरै ससंकित हुनुलाई अस्वाभाविक मान्न सकिँदैन ।

प्रत्यक्ष चुनावबाटै नेतृत्व चुन्ने हो भने अनलाइन पद्दति सुलभ र कम खर्चिलो हुन सक्छ । त्यसले चुनावमा हुने किनबेच तथा आर्थिक प्रलोभनबाट मतदान प्रभावमा पार्ने अहिलेसम्मको स्थितिबाट राहत पाउन सकिन्छ । त्यसबाहेक सबैको सहमतिबाट अन्य विश्वासयोग्य पद्दतिको विकल्प पनि रोज्न सकिने भयो ।

३) एनआरएनएका नेतृत्व वर्गले देशमा लगानी गर्ने बहानामा कर छल्ने र राज्यलाई कालो धनको मारबाट थला पार्ने गरेको पूर्ववत दृष्टान्त धेरै छन् । यसबारे समेत बहस हुनु र सम्बन्धित पक्षसँग जानकारी मागिनु सर्वथा जायज हुने थियो । राज्यले समेत डायस्पोराका नेपालीहरूको आवाजलाई अनुसन्धानको दायरामा लगेर कारवाही चलाउन सक्थ्यो । तर दुःखको कुरा ! जनचासो हुँदाहुँदै पनि ती कुरामा उचित ध्यान दिइएन वा दिइँदैन । त्यो बहस पनि बैठकमा चलाइनु पर्दथ्यो ।

४) संगठनलाई अदृश्य नियन्त्रणमा चल्ने सिण्डिकेट (राजनैतिक, माफिया, ब्यापारी)को इच्छाले हैन, पद्धतिले चलाइने आवाज अझै जोडले उठ्नुपर्छ र उठिरहेको छ । यो आवाजलाई पनि एनआरएन अभियन्ताहरूले क्यास गरिनु आवश्यक छ ।

पुरानो पहलको कुरा गर्दा, नेपाली नागरिकताको निरन्तरताको कुरा धेरै अगाडिदेखि उठेको हो । एनआरएनएले सामुहिक रूपमा, केन्द्रको डेलिगेट्समार्फत र विभिन्न फोरमहरूमार्फत नेपाल सरकारसँगै यो माग रहिरहेको सर्वविदितै छ । नेपाली पासपोर्टसँगैै पूर्ण अधिकारसहितको नागरिकताको पहल छाड्न हुँदैन र सांस्कृतिक नागरिकताको सट्टा अधिकारसहितको नागरिकता र पासपोर्टको माग निरन्तर उठाइरहनु अझै आवश्यक छ ।

५) खर्चिलो सम्मेलन, उपलब्धि कति ? भन्ने प्रश्न यो संस्थाको अर्को समस्या हो । क्षेत्रीय मिटिङमा झन्डै करोडको आसपास खर्च गरिँदै आएको छ र अहिले पनि त्यस्तै कुराहरू आइरहेका छन् । तर उपलब्धि एउटा अन्तरक्रिया कार्यक्रममा भन्दा ज्यादा देखिएको छैन । यो श्राद्धेमा बिरालो बाँध्ने प्रथाको अन्त्य हुनु आवश्यक छ ।

क्षेत्रीय सम्मेलनहरू प्राय पाँचतारे होटलहरूमा गर्नुको अभिप्राय सम्मेलनका पाहुनाहरूको व्यवस्थापन मात्रै नभएर नेपालबाट बोलाइने पाहुनाहरूको भिषासँग जोडिएर आउने समस्या हो । त्यसमा एनआरएनएमै जोडिएकाहरूले युरोप, अमेरिका, अष्ट्रेलिया लगायतका स्थानहरूमा संस्थागत आडमा मानव तस्करी गर्ने गरेको आरोप प्रायः लाग्ने गरेको छ । त्यसले के संकेत दिन्छ भने कमजोर यात्रीका लागि राम्रा होटलहरूको बुकिङले भिषा लगाउने आधारलाई मजबुत बनाउने भएकोले त्यसो गरिएको हुन सक्छ । यी यावत कुरालाई ख्याल गर्दा क्षेत्रिय मिटिङहरूको सिस्टम र संस्कृति दुवैलाई परिमार्जन गर्न आवश्यक थियो र छ । एजेन्डाहरूमा पनि परिणाममुखी बहस हुने गरेको देखिँदैन । यो मानेमा अहिलेको बैठक पनि खासै फरक देखिएन ।

६) संस्थागत सुधारका योजनाहरूबारे ः एजेन्डाले कसको हितको प्रतिनिधित्व गर्नुपर्ने हो र सारमा अबको एनआरएनको अल्पकालिन र दीर्घकालिन बाटो के हो ? यी मुद्धाहरू बैठकहरूमा आउनुपर्थ्यो । यो बैठकमा पनि केही जटिल मुद्धाहरू बहसमा आए र निर्णयार्थ प्रस्तुत भएका छन् । यी मुद्धाहरूबाट आगामी नेतृत्व चाहेर पनि भाग्न सक्ने अवस्थामा रहने छैन भन्ने विश्वास गरिन्छ । त्यस्तै निशर्त रूपले घले समुहसँगको एकताको कुरा जोडले उठेको छ । खास गरेर वर्तमान नेतृत्वको एक समुहले एकता चाहेको छैन भन्ने पनि सुनिन्छ । त्यो राम्रो कुरा हैन । रूपान्तरण त अहिले टाढाको कुरा भयो । सुधारको लामो श्रृङ्खलालाई पुँजिकृत नगरी संघको आन्तरिक तथा बाह्य रूपान्तरणको गुञ्जायस नै छैन । तत्काललाई संगठनात्मक पद्दति र संरचनागत सुधारका विषयमा निम्नानुसार तर्क गर्न सकिन्छ ः

क) पंजीकृत सदस्यता शुल्क र मजदूर वा निम्नआय भएका ब्यक्तिले पनि नेतृत्वमा पुग्न सक्ने कुरालाई मध्यनजर गर्दै उम्मेदवार शुल्कबारे रूपान्तरण योजना ।

ख) अधिवेशनमा डेलिगेट निःशुल्क बनाउने योजना

ग) डाटा सुरक्षाको पूर्ण ग्यारेन्टीसहित अनलाइन भोटिङ र भोटरसम्बन्धी नयाँ योजना

घ) केन्द्रदेखि राष्ट्रिय समन्वय परिषदसम्म वार्षिक बजेट विनियोजन तथा खर्चको अडिटिङ योजना

ङ) डिपार्टमेन्ट सिस्टम (पदाधिकारीको विभागीय जिम्मेवारी)को योजना

च) सर्वशक्तिमान अनुशासन तथा न्यायिक आयोगको निर्माण

निष्कर्षमा भन्नु पर्दा एनआरएनएले आफ्ना टुटेका भंगालाहरू जोड्दै कार्यक्रमहरूलाई लयमा फर्काउनु आजको पहिलो आवश्यकता हो । कार्यक्रमको दिशामा तात्कालिक र दीर्घकालिक चरित्रलाई जोड्नु पनि आवश्यक छ । मानविय, नेपाली पहिचान र लगानीका मुद्धामा समुदायको इन्ट्रेष्ट जोडिनुले संघको भविष्य तय गर्दछ । समुदायको प्राण मानविय मुद्धामा टिकेको हुन्छ, परिचय पहिचानमा टिकेको हुन्छ भने आर्थिक प्रगति पर्यटन, लगानी र ज्ञान–सिपको प्रयोगमा टिकेको हुन्छ ।

संघको अन्तरिक जीवन समुदायको बिश्वासमा टिकेको हुन्छ । विश्वास गतिविधिको इमान्दार प्रयोग र पारदर्शितामा टिकेको हुन्छ । संघको सम्पूर्ण प्रणाली घोषणा गरिएका कुराहरूको कार्यान्वयनको इमान्दारितामा टिकेको हुन्छ । संघमा अहिलेको बैठकले यिनै उज्याला आशाहरूलाई जोड्न कति सफल भयो वा भएन ? माथिका कुराहरूलाई मापदण्ड बनाएर मापन गर्न सकिन्छ । बाहिरी सिंगारपटारले भन्दा कार्यक्रमको आन्तरिक गुणले एक देश, समाज र संघ संगठनलाई रूपान्तरणको दिशामा लैजान्छ ।

रूपान्तरणको दिशा समात्नको लागि समुदाय वा संघका सदस्यहरूको पनि गहन जिम्मेवारी हुन्छ । एनआरएनएमा सबैतिरको बेथितिविरुद्ध खबरदारी निरन्तर आवश्यक छ र निरन्तर आवश्यक रहन्छ । अर्को समूहसँग निशर्त एकताको लागि दबाब सृजना गर्न आवश्यक छ । संगठनभित्र झ्याङ्गिदै गएका गलत परम्पराको तार्किक प्रतिकार गर्ने हिम्मत भएन र संगठन सुध्रने लक्षण देखिएन भने संघभित्र पुनः विद्रोहको बिज हुर्कंदै जाने सम्भावना रहन्छ । चुनावको बेला पूराना अग्रज तथा नेपालका नेताहरूको आशीर्वाद, शर्त र संकट एकै साथ मडारिने भएकोले नेतृत्वका दावेदारहरूको मनमा पस्ने भुत निकाल्नु आवश्यक छ । कतै उनीहरूका शर्त मान्दा वा नमान्दा चुनाव हारिने हो कि भन्ने भुत ? कतै उनीहरूको आशीर्वाद नलिँदा रिङआउट भइने हो कि भन्ने भुत ? कतै अर्कै भवितब्यले सम्पत्ति र लगानी चुर्लुम्म हुने हो कि भन्ने भूत ? त्यो भूतको भयले नै एनआरएनहरूको संगठन नेपाली प्रवाशीहरूको आफ्नो र प्यारो घर बन्न नसकेको हो । अब त्यो सब डर त्यागेर भिजनरी नेतृत्वले संगठन जिम्मा लिने हिम्मत नगर्दासम्म भत्काउने बनाउने ‘भाँडाकुटी’को खेल टुङ्गिने सम्भावना देखिँदैन । यो पटक सबै एनआरएनहरू जुर्मुराउन सक्यौँ भने गुटमा रमाउने तत्वहरू लगायत नोकरशाह तथा कमिसनखोरहरूको चक्रब्युह तोड्न सकिन्छ, एकताको लागि दबाबदिन सकिन्छ । एनआरएनहरूले सबैतिरबाट राम्रोको लागि हस्तक्षेप गरौँ । धन्यवाद !!