गतिशिलता, श्रम र आयुबीचको अन्तरसम्बन्ध

गतिशिलता, श्रम र आयुबीचको अन्तरसम्बन्ध


शारीरिक तथा मानसिक श्रममार्फत समुदायलाई गतिशील बनाउने विश्व ब्यवस्था र श्रमलाई प्रेम गर्ने मानवलाई सदैव प्रोत्साहन गरौँ । हरेक किसिमका शारीरिक श्रममा नियमित सहभागी भएर आफ्नो आयु बढाऔँ ।

✍ डिल्ली अम्माई

गतिशिलता वा श्रम, शारीरिक र मानसिक आवश्यकता पूर्तिको लागि मात्र नभएर ज्ञानको लागि पनि आवश्यक शर्त हो । श्रमले मानिसको स्वास्थ्यमा मात्र रुपान्तरण नगरी बाँच्नको लागि गाँस, बास र कपासको परिपूर्ति पनि गर्दछ । श्रमबाट प्राप्त अनुभवले जिउने कलामा समेत रुपान्तरण गरिदिन्छ । श्रमकै कारण, मानिसद्वारा मनदेखि मस्तिष्कसम्मको समन्वयात्मक सम्बन्ध झन् भन्दा झन् निखारिएर गहन हुँदै जान्छ ।

खगोलको गतिशीलताले ब्रमाण्ड टिकेको छ, अझ गहन र बिस्तार हुँदैछ । ब्रहमाण्डको गतिशिलताले हाम्रो मन्दाकिनीमा निरन्तर अनगिन्ती उर्जापिण्डहरूको श्रृष्टि भइरहेको छ । श्रमको गतिशीलताले खगोलामा अनगिन्ति क्रिया-अन्तरक्रिया भइरहेका छन् । हाम्रो सौर्यमण्डल सूर्यसँगै निरन्तर संघर्षरत छ र पृथ्वीमा जीवको अस्तित्व सम्भव भएको छ । पदार्थको केन्द्रीकरण र उर्जा निष्काशनको नियमिताताले सूर्य चम्किरहेको छ । जीव-जगतमा पनि ब्रह्माण्डको त्यही नियम लागु हुन्छ । हामी मानवमा पनि गतिशिलता र श्रमबीचको त्यही क्रिया-प्रतिक्रिया हाबी हुन्छ । मानव अंगमा पनि श्रमले जीव तत्वलाई आयु प्रदान गर्दछ । खाना पाचनको लागि श्रम र लामो आयुको लागि श्रम-गतिशिलता आवश्यक मात्र नभएर अनिवार्य छ । गतिशीलताको आधारमा ब्यक्ति वा जीवको आयु निर्धारण हुन्छ । कम गतिशील, कम श्रम गर्ने जीव वा ब्याक्तिको आयु छोटो र धेरै श्रम गर्ने अधिक गतिशील जीव वा ब्यक्तिको आयु बढी हुनुको रहश्य यही हो । स्वास्थ्य र श्रमबीचको यो सम्बन्ध बुझ्न श्रमले अंगमा पार्ने अन्तरक्रियालाई बुझ्नुपर्ने हुन्छ ।

मानिसको मानसिक स्वास्थ्यको पनि विधि छ, शारीरिक स्वास्थ्यको पनि विधि छ । स्थिर वा गतिहीन शरीरमा पोखरीको पानीमा जस्तै लेउ जम्दछ । त्यो लेउले मानव स्वास्थ्यलाई प्रतिकुल असर पार्दछ । स्थिरताको प्रतिकुल असरले हाम्रो शरीरमा क्यान्सर जस्ता विशाक्त फोहरहरू जम्मा हुन थाल्दछन् । जसरी स्थिर तलाउलाई जलकुम्भीले समाप्त पारिदिन्छ, त्यसैगरी श्रम र गतिशीलताको अभावले हाम्रो स्वस्थ शरीरलाई समाप्त पार्दछ ।

शरीर स्वस्थ नभएसम्म हाम्रो दिमाग स्वस्थ हुन सक्ने सम्भावना नै हुँदैन । शारीरिक विकार मुख्यतया श्रमको अभावले उत्पन्न हुने हो । त्यस्तै, त्यसको प्रत्यक्ष असर दिमागमा पनि पर्दछ । हाम्रो सोचाइलाई सफा राख्न पनि श्रमको साथै योगाको विशेष महत्व छ ।

अब कुरा आउँछ शारीरिक श्रम र भोजनबीच हुने सन्तुलनको । हामी जीवित रहनको लागि मात्र नभएर शरीर स्वस्थ राख्न खानपानको विशेष महत्व हुन्छ । कति खाना खाने भन्ने कुरा पनि श्रमको गतिशीलताले निर्धारण गर्छ, शारीरिक गतिशीलता प्राप्त उर्जामा निर्भर हुन्छ । शरिरको लागि कति उर्जा चाहिन्छ त्यो हाम्रो गतिशीलतामा निर्भर हुने कुरा हो । खोलाको ढुंगा भन्दा नदीका ढुंगाहरू सुकिला हुन्छन् । खोलाको पानी भन्दा नदीको पानी गहन र निर्मल हुन्छ । त्यसको मुख्य कारण गति हो । उच्च गतिको पानीले आफ्ना अणुभित्रको मयल समेत पखाल्छ र आफूलाई कञ्चन बनाउँछ । शरीर पनि ठ्याक्कै त्यही हो ।

श्रमद्वारा उत्पन्न पसिनाले हाम्रो शरीरका प्रत्येक अंगहरूको विकार हटाउँछ र अंगहरूलाई कञ्चन बनाउँछ । त्यसले अंगहरूको सहन गर्ने क्षमतालाई बढाइदिन्छ । प्रतिरोधात्मक क्षमतालाई रुपान्तरण गरिदिन्छ । निरन्तरको श्रमले अंगहरूमा आयु थप्दै लैजान्छ । अंगहरूको आयु वृद्धिले मानव आयुमा सकारात्मक असर पार्दछ । यो श्रम र शरीरबीचको चक्रले जीव तत्व र शारीरिक उर्जाबीच नयाँ सन्तुलन बनाउँदै लैजान्छ । शरीरको यो चक्रलाई स्वास्थ्यमा चासो राख्ने हरेकले ख्याल गर्नै पर्दछ ।

खानु, लगाउनु, बस्नु, शिक्षा, स्वास्थ्य र रोजगार मान्छेका आधारभूत आवश्यकता हुन् भन्दैमा श्रमलाई कदापि छोड्नु हुँदैन । श्रम चाहे सामुहिक होस् वा ब्यक्तिगत, यसलाई कमाइको माध्यमबाट नहेरी स्वास्थ्यको माध्यमबाट पनि हेर्नु पर्छ । शरीरले खपत गरेको बोसो कमसेकम दैनिक रूपले समाप्त पार्नु पर्दछ । शरीरमा उत्पादित उर्जाको सम्पूर्ण अंश दैनिक श्रमबाट उत्सर्जन गर्न सकिएन भने त्यो क्रमशः जम्मा हुँदै जान्छ र एकदिन महारोगको रुपमा बिष्फोटन हुन्छ । त्यसको समाधान डाक्टरको उपचारले मात्र हुन सक्दैन । जसरी दिमागी फोहर योगाको माध्यमबाट उत्सर्जन गरिन्छ त्यसैगरी शरीरले खपत गरेको उर्जा श्रमको गतिशिलताबाट उत्सर्जन हुन्छ । यदि श्रमको गतिशिलता धिमा पर्न गयो भने समय मिलाएर व्यायाम गर्नुपर्छ ।

आधुनिक राज्यमा श्रमको कुरा फेरि पनि राज्यले मेसो मिलाउने कुरामा अधिक निर्भर हुन्छ । श्रम गर्ने स्थान र आधार नभएका मानिसलाई गतिशील बनाइराख्न राज्यले उपयुक्त नीति-निर्माणमा ध्यान दिनुपर्छ । श्रमका अवसरहरू निरन्तर प्रदान गर्नुपर्छ । पुँजीवादी समाजमा श्रम र त्यसको मूल्य ब्यक्तिगत हुन्छ । त्यसको अनिवार्यतामा राज्यले नियन्त्रण गर्न पनि सक्दैन । त्यसको अलावा समाजवादी अर्थतन्त्र भएका मुलुकमा सामुहिक श्रम गर्ने चाँजोपाँजो सरकारले मिलाएको हुन्छ । त्यो अवस्थामा मानव स्वास्थ्यलाई गतिशील बनाइराख्ने नियमित रोजगार सरकारद्वारा ब्यवस्थित हुन्छ । आधुनिक मानव समाजमा मानसिक र कम्प्युटर कार्य बढ्दै गएको अवस्थाले व्यायामको अनिवार्यता तथा नियमित ब्यवस्थाको पनि अनिवार्यता बढ्दै गएको छ ।

विकासको चरणअनुशार श्रमका रुपहरू फेरिनु स्वाभाविक हो । तर शारीरिक गतिशिलताका आधारहरूको सन्तुलनले आयुको निर्धारण गर्ने हुनाले यसको महत्व फेरिन सक्दैन । शिकारीयुगमा मानव धेरै सक्रिय हुने हुनाले मानिसको आयु पनि लामो हुन्थ्यो । शारीरिक बनावट पनि आधुनिक मानवको भन्दा ठुलो हुन्थ्यो । कृषि र दास युगपछि एक वर्ग बसिखानेमा रुपान्तरण भयो भने अर्को वर्ग श्रम गर्ने भयो । त्यसपछि श्रम र गतिशिलताले मानव आयुको चित्र पनि वर्गीय बनाइदियो । बसिखानेहरू कम बाँच्न थाले भने श्रमिक वा दासहरूले आफ्नै जीवनकालमा धेरै मालिक पुस्ताहरूको सेवा गरे । गतिशीलताको यो अवस्थाले श्रमको महत्वलाई स्वास्थ्यबाट अलग्याइदियो । गतिशिलता निश्चित वर्गमा लगेर थुपारिदियो र ऐश-आरामको जिन्दगीलाई एक वर्गले अधिक महत्व दिन थाल्यो ।

अन्त्यमा, श्रमभित्र ज्ञानको भण्डार रहेको हुन्छ भन्ने तथ्य संसारभर सर्वस्वीकार्य छ । श्रम र गतिशीलताले अनुभवलाई जन्माउँछ भने निरन्तर अनुभवको शृंखलाले ज्ञानको जन्म गराउँछ । ज्ञानलाई प्रयोग गर्दै जाँदा नयाँ नयाँ कुरा पत्ता लाग्दै जान्छन् । यसले श्रमको रुपमा परिवर्तन गर्दछ । पुरानो श्रम गर्ने तरिकामा रुपान्तरण गर्ने माध्यम ज्ञान तथा शिप नै हो । ज्ञान, शिप र अनुभव अनि फेरि नयाँ ज्ञान/शिप प्रयोगको अनुभवले समाजको र, अन्त्यमा विश्वकै रुपान्तरण गर्दछ । श्रमले आन्तरिक रूपमा मानवस्वास्थ्यको रुपान्तरण गरी आयुलाई प्रभाव पार्दछ भने अर्कोतिर सामाजिक रुपान्तरणमा सोच्नै नसकिने छलाङ लगाउँछ । श्रम विज्ञान मात्र नभएर कला र सौन्दर्य पनि हो भन्न हामी पेरिस पुगिरहनु पर्दैन, त्यसका लागि एक मेहनती किसानको खेत नै काफी छ । त्यसैले शारीरिक तथा मानसिक श्रममार्फत समुदायलाई गतिशील बनाउने विश्व ब्यवस्था र श्रमलाई प्रेम गर्ने मानवलाई सदैव प्रोत्साहन गरौँ । हामी पनि हरेक किसिमका शारीरिक श्रममा नियमित सहभागी भएर आफ्नो आयु बढाऔँ । श्रमको सम्मान गरौँ । मानव समुदायको जय होस् !

श्रमबारेको अघिल्लो लेख पढ्न तलको लिङ्क हेर्नुहोस्-