अनुपस्थित शिक्षक र कर्मचारी पदमुक्त गर्ने कामनपा प्रमुखको चेतावनी

अनुपस्थित शिक्षक र कर्मचारी पदमुक्त गर्ने कामनपा प्रमुखको चेतावनी


file photo

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताएका छन् ।

प्रमुख साहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पु¥याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिँदै भनेका छन्, ‘अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।’

प्रमुख साहले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पु¥याउने काम भएमा समिति विघटन गर्ने बताए । यस्तै, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाइ फौज्दारी मुद्दा चलाउन पहल गर्ने उनको भनाइ थियो ।

सरकारले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरेको तथा विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ अनुसार कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हड्ताल र पठनपाठनमा अवरोध गर्नेजस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको उल्लेख गर्दै उनले महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्ति क्षेत्रको अवधारणाविपरीत हुनेगरी कुनै पनि कार्य गर्न बन्देज गरिएको स्मरण गराए ।