बाठा स्यालहरू

बाठा स्यालहरू


✍ दुर्गाकिरण तिवारी

स्याल र बाघका कथाहरू
हिजोआज फेरि दोहोरिन थालेका छन्
राती लुटिने चिज
अब दिनमै बिना धक लुटिन थालेका छन्
बजारमा बिक्री उनैको छ
चर्चा सबैतिर उनैको छ
निकै चलाख भएका छन् आजकल यी स्यालहरू !
आफूलाई बाघ हैन
सेर नै साबित गर्न तम्सिँदै छन्
त्यसैले त दिउँसै सहर पसेर
बिन्दास बुर्कुसी मार्दै
गाउन थालेका छन् हुइयाँका गीत ।
कथाहरूमा बाठोमा गनिएका उनीहरू
आफुलाई मै बाठोमा उभ्याउन
अचेल निकै प्रयासरत छन्
त्यसैले त दिनरात नभनी
मौका छोपी रङ्ग फेर्दै चरित्र देखाउँछन्
चाटुकारिताको आलाप अलापेर सभाहरूमा
आफ्नो चर्तिकला प्रदर्शन गर्न माहिर छन्
हुइयाँ हुङ्कारमा बदलिएको छ
अब कराउनलाई रातपर्खनु पर्दैन तिनलाई
दिनदहाडै रजाइँ गर्दै छन्
आफंै अनैतिक बनेर
अरूलाई नैतिकताको पाठ पढाउँदै छन्
हुइयाँ हुइयाँको जातीय रटानले
बिचित्र गाजेको छ र यसैमा
नाङ्गो चाच नाचिरहेका छन् !
नेपाली आकाश गुञ्जायमान छ आज
राता टाउके स्यालहरूको चकचकी
कमिलाका प्वाँख उमारिरहेको छ ।
थाहै छ कमिलालाई प्वाख लाएपछि के हुन्छ?
यिनको रवाफ
अचम्मैसित बढेको छ अचेल
बाघ र सिंहले छाडेको सिनोमा
थुतुनो गाड्ने स्यालहरू
फलेको चामलमा आँखा लगाउँछन्
तीखो झोलसँग डम्म हुनलाई
जहाँ पाइन्छन् सुरालय
उतै सम्झौता गर्छन् र निर्धक्क हुइयाँ गर्छन् दिउसै
उनीहरूलाई लाग्दो हो आफ्नो हुइयाँ अझै चलेकै छ
फलेका बास्मतीको चामल यसै मिलेकै छ
चोर्न जानेकै छ
कालाबजारमा नौटङ्की चलेकै छ !
सुनेकी थिएँ बाघ बुढो र स्याल तन्नेरी
कहिल्यै हुँदैनन्
तर यहाँ त उल्टो जमाना चलिरेहको छ
स्यालहरू आजकल आफुलाई
निकै तन्नेरी सम्झन्छन्
र त दन्दनाउन थालेका छन् हुइयाँमा
धेरै बुझेर होला कुखुरा चोर्न छोडेका छन् !
अचेल
उनीहरू कागको फुल चोर्छन्
कोइलीको गुँडमा हालिदिनलाई
कागलाई कोइली बनाउनमा व्यस्त छन्
तिनलाई थाहा छ दुबैको रङ्ग कालै छ
आखिर सबैका आँखामा छारो हाल्नु छ
हामीलाई उल्लु र भेडा बनाउँछन् उनीहरू
अलि अलि बाठाहरू सबैलाई स्याल नै देख्छन्
लाग्छ उनीहरू मदमत्त छन्
त्यसैले त निर्धक्क दिउसै
हुइयाँ गर्न थालेका छन् मानव बस्तीहरूमा ।