- विशेष प्रतिनिधि, कपिलवस्तु
कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान् संजय भन्ने धीरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृतसहित कर्मचारीहरुलाई गालीगलौज गरी दुर्व्यवहार समेत गरेको भन्दै कपिलवस्तु नगरपालिकाका कर्मचारीहरुले शुक्रबार दिउँसोदेखि पेनडाउन गरी विरोध प्रर्दशनमा उत्रेका छन् ।
असार १० गते नगरको नीति तथा कार्यक्रमका लागि सभा हुने मिति तय गरिएको छ । नगरसभाकै पूर्वसन्ध्यामा कर्मचारीहरुले गरेको पेनडाउनले कामकाज प्रभावति हुने देखिएको छ ।
नगरपालिकाको प्रमुख प्रशाकीय अधिकृत गणेशप्रसाद अर्यालको कार्यकक्षमा आगामी वर्षको नीति कार्यक्रम तथा बजेटका विषयमा छलफल चलिरहेका बेला उममेयर गुप्ताले आफ्नो श्रीमान् संजयलाई समितिमा राख्न आग्रह गरिन् । तर, बैठकमा सहभागी रहेका वडाध्यक्षहरुले त्यो नमिल्ने भन्दै आपत्ति जनाए । प्रमुख प्रशासकीय अधिकृत अर्यालले यो विषयमा निर्णय दिने अधिकार मेयर सुदीप पौडेलको भएकाले यसमा आफूले केही भन्न नसक्ने बताए ।
नगरपालिकाको भुइँ तलामा पहिलेदेखि बसिरहेका संजय त्यही विषयमा आक्रोशित भएका थिए । त्यसपछि संजयले प्रमुख प्रशासकीय अधिकृत अर्याललाई तथानाम गालीगलौज गरेको कर्मचारीहरु बताउँछन् । मेयर सुदीप पौडलसँग समेत संजयको केहीबेर भनाभन भएको थियो ।
नगरपालिका कर्मचारीहरुका अनुसार गुप्ताले दादागिरी शैलीमा पहिलेदेखि नै कर्मचारीहरुलाई गालीगलौज गर्ने, अख्तियारमा अनावश्यक मुद्दा हालेर मानसिक तनाव दिँदै आएका थिए । दिउँसो कर्मचारीहरुले विरोध प्रर्दशन गरी काम गर्ने वातावरण हुनुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए । नगरपालिकाका कर्मचारीहरु भेला भइ काम गर्ने वातावरण नभएसम्म पेनडाउन गर्ने निर्णय गरको हुन् ।

यस्तै उनीहरुले घटनाको संजयउपर प्रचलित कानुनअनुसार कारवाहीको माग गरेका छन् । नगरपालिकाका इञ्जिनीयर राजेश सैनीले संजय गुप्ताले पहिलेदेखि नै कर्मचारीहरुलाई दुर्व्यवहार र गालीगलौज गर्दै आएको बताए । उनले यस्तो कार्यले आफुहरुको मनोबल खसेको र काम गर्ने वातावरण नै नभएको दुःखेसो पनि गरे ।
उता प्रमुख प्रसाकीय अधिकृत अर्यालले कर्मचारीहरुमाथि गालीगलौज र दुर्व्यवहार गर्ने गुप्तामाथि प्रचलित कानुनअनुसार कारबाही गर्न प्रहरी कार्यालयमा पत्राचारसमेत गरेका छन । यस विषयमा जानकारी लिन खोज्दा संजय गुप्ताले फोन उठाएनन् ।
यहाँ स्मरणीय कुरा के छ भने मेयर र उपमेयर दुवै जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि भएतापनि नगरपालिकाको कतिपय कार्यक्रम सन्चालन गर्दा विवाद हुनुमा उपमेयरका श्रीमान् गुप्ताले नगरपालिकाको विषयमा हस्तक्षेप गर्नु मुख्य करण रहेको नगरपालिका स्रोतको दाबी छ।
प्रतिक्रिया