श्री ३ जङ्गबहादुर राणाको २०७औँ जन्मजयन्तीका अवसरमा राजधानीमा एक प्रवचन कार्यक्रमको आयोजना गरियो । नागरिक शक्ति नेपालद्वारा प्रज्ञा भवन कमलादीमा ‘श्री ३ जङ्ग बहादुर राणा र आजको नेपाल’ विषयमा असार ७ गते आयोजित समारोहमा वक्ताहरूले जङ्गबहादुर राणाले नेपालमा पुर्याउनु भएको योगदानबारे स्पष्ट गरेका थिए ।

उक्त समारोहमा ख्यातिप्राप्त इतिहासकार दिनेशराज पन्त र प्रशिद्ध संस्कृतिविद् डा. जगमान गुरुङ्गले जङ्गबहादुर राणाको बहुआयामिक पाटोको उजागर गर्नुभएको थियो । उहाँहरूले जङ्गबहादुरमाथि न्यायिक दृष्टिकोण नराखिएको बताउँदै उनको योगदानबारे सबै नेपाली जानकार हुनुपर्ने धारणा प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य माननीय भिक्षु आनन्दले जङ्गबहादुर राणाले इतिहासमा पुर्याएको योगदान स्मरणीय रहेको बताउँदै देशमा विभिन्न प्रकारले योगदान पुर्याउने हरेकको उच्च मूल्याङ्कन हुनुपर्ने स्पष्ट गर्नुभएको थियो । उहाँले राष्ट्रमा अहिले उत्पन्न सङ्कट मोचन गर्न अब विलम्ब गर्न नहुने बताउनुभएको थियो ।
नागरिक शक्ति नेपालका वरिष्ठ उपाध्यक्ष डा. मनोहरलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा अध्यक्ष देवप्रकाश त्रिपाठीले कार्यक्रमको औचित्य स्पष्ट गर्दै जङ्गबहादुर राणालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने बताउनुभएको थियो ।

पार्टीका केन्द्रीय सदस्य गीता सेढाईंले सञ्चालन गर्नुभएको सो समारोहमा महिला विभाग प्रमुख अन्जना (अक्षता) प्रधान, केन्द्रीय सदस्य हेमकुमारी थपलिया र जङ्गबहादुरका सन्तति एवम् ख्यातिप्राप्त ब्यवशायी विकाशजङ्ग राणाले पनि आ-आफ्ना धारणा राख्नुभएको थियो।
नागरिक शक्ति नेपालले गत वर्षदेखि जङ्गबहादुर राणाको जन्मजयन्तीका अवसरमा औपचारिक समारोहको आयोजना गर्न थालेको हो ।
प्रतिक्रिया