चेतना र विचार कसरी जन्मन्छन् ?

चेतना र विचार कसरी जन्मन्छन् ?


✍ डिल्ली अम्माई

चेतना भनेको मानिसको मनभित्रको जागरण हो, अर्थात् मनको त्यो अवस्था जब उसले आफ्नो वा संसारको अस्तित्व महसूस गर्छ, उसलाई चेतन व्यक्ति भनेर सम्बोधन गरिन्छ । अर्को शब्दमा, हामीले चेतनालाई मनभित्र हुने अन्तरक्रियाको परिणाम पनि भन्न सक्छौँ ।

चेतनामा सँधै दुई आयामहरू रहन्छन्, जसमा पहिलो आयाम व्यक्तिपरक हुन्छ भने दोस्रो उद्देश्यपरक हुन्छ । जब कसैलाई ‘म छु, मैले विभिन्न अनुभवहरू गरिरहेको छु’ भन्ने लाग्छ तब त्यो चेतना व्यक्तिपरक हुन्छ । जब चेतनाले वातावरणबाट सिकेर अरुको भविष्यको लागि समेत सोच्न थाल्दछ त्यो उद्देश्यपरक बन्दछ ।

तर जब हामीले संसारमा कुनै वस्तु वा व्यक्तिलाई देख्छौँ, त्यो हाम्रो लागि त्यो पनि बस्तुगत बन्छ । यसरी मनभित्रको चेतनाले आफूलाई र यो संसारलाई अलग ठान्छ । त्यसैले मानिसका चेतनामा दुई आयाम हुने कुरालाई स्वीकारिएको हो ।

जीवले यस संसारबाट कहिले सुरक्षाको कारणले, कहिले डरको कारणले आफ्नो रक्षा बारे सोच्दछ । हामी मनले जिउने भएकाले मनले जिउने मानिसको हरेक कर्ममा डर लुकेको हुन्छ । यसर्थ, केही चिजको बारेमा सचेत हुनुको गुणवत्ता अवस्था, विशेषगरी आफैंभित्र भावनाले ब्युँझनु, बाह्य बस्तु, अवस्था वा तथ्यका बारेमा सचेत हुनुको अवस्था वा प्राप्त तथ्य, यी सबैको योग चेतना हो । चेतना हाम्रो मनको त्यो शक्ति हो जसद्वारा हामीले भित्री भावना, विचार र घटनाहरूबारे बुझ्दछौँ ।

चेतना दिमागमा रहेको शक्ति हो जसले भित्र र यसको वरपरको वातावरणका अवस्थाबारे बुझ्न र त्यसको मूल्याङ्कन गरी आफूलाई सचेत गर्दछ । चेतनाको विकास एक गहिरो अनुभवको श्रृङ्खलाबाट प्राप्त हुन्छ, जुन सरलताबाट जटिलतातर्फ निरन्तर अगाडि बढिरहन्छ । यदि साँचो अर्थमा बुझ्ने हो भने, हाम्रो चेतनाको विकासले चीजहरूलाई वास्तविक रूपमा बुझ्न, हेर्न वा अनुभव गर्न सक्षम बनाउँछ । यसमा जति निपुण हुँदै जान्छौँ, त्यति नै हाम्रो चेतना विकसित हुँदै जान्छ । मानसिक वैज्ञानिकहरूका अनुसार फोक्सो जसरी श्वासप्रश्वासको अंग हो, त्यसरी नै मस्तिष्क शारीरिक सूचनाको अंग हो । यो नै चेतनाबारेको यथार्थ परिभाषा हो ।

हाम्रो चेतना कहाँबाट आउँछ ?

न्यूरोवैज्ञानिकहरू विश्वास गर्छन् कि, मानव र स्तनपायीहरूमा, सेरेब्रल कोर्टेक्स ‘चेतनाको अवस्थिति’ जटिल हुन्छ, जबकि मिडब्रेन जालीदार गठन र केही थैलेमिक न्यूक्लीले कोर्टेक्सको गेटिङ र अन्य आवश्यक कार्यहरू प्रदान गर्न सक्छ । न्यूरल सूचनाका शारीरिक नेटवर्कहरू हुन् जसले ठूलो डेटासेटहरूबाट जटिल ढाँचा र विशेषताहरू सिक्न र विचार निकाल्न सक्छन् । यी मोडेलहरू त्यसमा जोडिएका सम्पर्कहरू, नोडहरू, वा न्यूरोन्सका धेरै तहहरू मिलेर बनेका हुन्छन्, जसले परिणाम (आउटपुट) उत्पन्न गर्न आगमन डेटाको विश्लेषण र परिवर्तन गर्दछन् । इनपुट डेटा मोडेलको इनपुट तहमा सूचना प्रवाह हुन्छ, जसले त्यसपछि परिणामबारे सम्भाव्य जानकारी प्रदान गर्नु अघि धेरै लुकेका तहहरू मार्फत सूचना डेटा पास गर्दछ ।

थालमसलाई एक उदाहरणको रूपमा लिन सकिन्छ जुन मस्तिष्कको एक महत्त्वपूर्ण भाग हो । यो मस्तिष्कको सबभन्दा ठूलो संरचना हो, तर यो मस्तिष्कको बीचमा अवस्थित छ । हामी यसलाई मस्तिष्कको थालम ‘भित्री कोठा’ भनेर पनि चिन्दछौँ । मस्तिष्कको सक्रियता र ब्यवस्थापनमा पनि यसले अत्यन्त सान्दर्भिक भूमिका खेल्दछ जुन हामीलाई हाम्रो अस्तित्व र हाम्रो वरिपरि के भइरहेको छ भनेर सचेत गराउन जिम्मेदार छ । यसकारण थालामसलाई ‘चेतनाको स्विच’ मानिन्छ ।

यो भागले मस्तिष्कको बाँकी भागहरूसँग कुराकानी गरेर चीजहरू बुझ्ने र वातावरणमा क्रियाशील हुने हाम्रो तरिकालाई आकार दिन्छ । प्रत्येक लुकेको तहले अर्को तहमा सूचना डेटा पास गर्नुअघि इनपुट डेटामा गणितीय कार्यहरूको एक श्रृङ्खला निर्माण गर्दछ, जसले आफ्नो आन्तरिक अन्तरक्रिया सकेपछि अन्तिम निर्णय दिन्छ ।

आज विज्ञानले भन्छ कि चेतना मस्तिष्कद्वारा उत्पन्न र स्थानीयकृत हुन्छ किनभने यो मस्तिष्क गतिविधिबाट उत्पन्न हुनुको अर्को विकल्प छैन ।

मानव चेतना गतिविधिका तीन घटकहरू जस्तै- सञ्चार, खेल र उपकरणहरूको प्रयोगबीचको आपसी सम्बन्धमा देखापर्दछ । यी तीन घटकहरू प्रायः अग्रिम अनुभवको आधारमा अन्तरक्रिया गर्छन्, जुन मानिसमा जटिल र पशु जीवनमा अलिक सामान्य जस्तो लाग्दछ ।

चेतनामा पहुँच :

हाम्रो मन र शरीरको अन्तरक्रियामार्फत चेतना शक्तिशाली रूपमा प्रकट हुन्छ । चेतनाले सधैं हाम्रो जीवनलाई प्रभाव पार्छ । प्रश्न यो होइन कि हामीसँग चेतनाको पहुँच छैन, चेतना सबैसँग हुन्छ । चेतनालाई हामीले केही गरिरहेकोले हुँदैन, यो केवल हामीले हुन दिएको अघिल्लो कारण र परिणामले उत्पन्न हुन्छ ।

चेतना पौराणिक कालदेखि नै एउटा रहस्य बनेर आएको छ । चेतनालाई पहिले पहिले परम शक्तिको देन मानिन्थ्यो र चेतना कसरी उत्पन्न हुन्छ ? भन्ने कुरामा गहन अध्ययन भएको पनि थिएन । तर न्युरो वैज्ञानिकहरूले अहिले चेतनाको उत्पत्तिबारे गहन खोज गरेका छन् । जसअनुसार चेतना न्युरोनहरूको तरङ्ग र त्यसको ब्यवस्थित फाइलिङसँग मात्र सम्बन्धित छ । दिमागबाट टाढा कतै यसको सार्वभौम सत्ता छैन । तर चेतनाको विषयमा विज्ञान र चेतनावादीहरू बीच उल्टो धारणा छ । चेतनाको सार्वभौम सत्ता स्विकार्नेहरूले अज्ञात सूचना माथिल्लो सत्ता वा इश्वरबाट आउने कुरा स्विकार्छन् ।

यो मानसिक प्रक्रियालाई केवल क्वान्टम पदार्थबिचको अन्तरक्रिया मात्र मान्न अध्यात्मवादीहरू तयार हुँदैनन् । उनीहरूका अनुसार दिमागी जागरण र परम सत्ताको सूचना सम्प्रेषणलाई कुनै डिटेक्टरले समात्न सक्दैन । यो कहीँ अन्यत्रबाट आउँछ ।

चेतनासम्बन्धी एक अर्को मान्यताअनुसार विचार उत्पादनको यस्तो प्रक्रियालाई ‘युनिभर्सल कन्सस्नेस’ भनिन्छ । सार्वभौमिक मन वा विश्वव्यापी चेतना ब्रह्माण्डमा सबै अस्तित्व र सृष्टिको अन्तर्निहित सार एक मेटाफिजिकल अवधारणा हो । सार्वभौम दिमागको अवधारणा ४८० ईसा पूर्व पछि एथेन्समा सुकरात पूर्वका दार्शनिक एनाक्सागोरसद्वारा प्रस्तुत गरिएको थियो । उनका अनुसार जीवित चीजहरूको वृद्धि जीवहरूमा दिमागको शक्तिमा निर्भर गर्दछ जसले जिवलाई वरपरका पदार्थहरूबाट सजग बनाउन सक्षम बनाउँछ ।

अलग-अलग धार्मिक सम्प्रदायहरूमा चेतनाको भिन्दाभिन्दै प्रकारले व्याख्या गरिएको छ । तर, चेतनाको परम सत्तालाई सबै धर्मले स्वीकारेका छन् । हिन्दु धर्ममा द्वैत, त्रैद र अद्वेत रूपमा चेतनालाई स्विकारिन्छ । वैज्ञानिकहरूले सूचनाको संकलन, विकास र धारणामा हुने रूपान्तरण अनुभवको मानसिक संग्रहका कारणले चेतना पैदा गर्ने कुरालाई मान्दछन् । उनीहरूका अनुसार दिमाग क्वान्टम कम्प्युटर जस्तै हुन्छ र हरेक अनुभवका धाराहरूलाई संग्रह गर्दै दिमागमा जागरण पैदा गर्दछ । भिन्न-भिन्न वेभलाई रेडियोको एन्टिनाले झैँ समात्छ, पÞmाइलिङ गर्छ र मानसिक अन्तरक्रिया पछि निर्णयको लागि प्रस्तुत गर्दछ ।

चेतनाको प्रकटीकरण र बिस्तार :

माथि बताइएअनुसार, चेतना आफ्नो आसपासको भूगोल, अध्ययन, अबलोकन र जगत भित्रका सूचनाबाट प्राप्त ज्ञान हो । ज्ञान आफ्नैबारेमा गरिने सजगतादेखि उत्पन्न हुँदै चेतनाको रूपमा प्रकट हुन्छ । चेतना, जीवले आफ्नो अस्तित्वको लागि विकास गरेको हुन्छ र अन्तमा, त्यसले सम्पूर्ण समुदाय र सृष्टिको लागि सोच्ने हदसम्म सोच्न थाल्दछ ।

आज हामी कृत्रिम बुद्धिमत्ताको दुनियाँमा सूचनाको उच्च अवस्थासहित बाँचिरहेका छौँ । कित्रिम बुद्धिमत्ताभित्र रहेका गजेट र मसिनी प्रविधिबाट हामी लेस छौँ । यो प्रविधिमा भएको क्रमिक विकाशको फल हो । कम्प्युटरले अलगोरिदमको सहायताले काम गर्छ । गणित र कम्प्युटर विज्ञानमा, एक एल्गोरिदम जटिल निर्देशनहरूको एक सीमित अनुक्रम हो, जसलाई सामान्यतया गणितीय समस्या हल गर्न कम्पुटिङ सिष्टममा प्रयोग गरिन्छ ।

त्यसले पनि अहिले क्वान्टम कम्प्युटरको रूपमा फड्को मार्दैछ । त्यसैले जीव जगतमा दिमागको काम पनि केही हदसम्म एल्गोरिदम र क्वान्टम सूचनाको आधारले काम गर्ने कुरा न्युरो वैज्ञानिकहरूले बताई सकेका छन् ।

यसबाट के थाहा हुन्छ भने चेतना पनि सरलबाट जटिल हुँदै जान्छ । चेतनाले मात्राको एक श्रृङ्खला पार गरेपछि गुणमा फड्को मार्दछ । दुनियाँभरका सूचनाको सङ्ग्रहबाट मानवकार्य प्रभावित हुँदै जाँदा धारणाले पनि विकास गर्ने मौका पाउँछ र चेतनाको रूपमा फुल्दै अघि बढ्छ ।

चेतनाको सवालमा जीव र मेसिनबीच फरक :

कृत्रिम बुद्धि भएको मेसिन तथा जीवबीचको चेतनामा एउटा फरक भनेको अस्तित्वसँग छ । मेसिनलाई आफू अर्कोको भेउ हुँदैन । मेसिनले अह्राएको काम गर्ने हो । त्यसले अस्तित्वसँग सम्बन्धित भएर काम गर्दैन । अस्तित्वसँग सजग भएर काम गर्ने जीव र मानिसले मात्रै हो ।

अस्तित्वप्रतिको सजगता जीवको अनुभवले निर्धारण गर्दछ । त्यसको स्वभाव ब्यक्तिगत हुने भएकोले प्रविधिबाट मात्र चेतना सम्भव देखिन्न । प्रविधिले चेतनाको नियन्त्रण पनि गर्न सक्दैन ।

फेनोमेना के हो ?

अस्तित्वको बोध, जिज्ञासा, घटनाको परिणामले पार्ने असर र तथ्यबोधलाई फेनोमेना भनेर बुझ्न सकिन्छ । मानिसको मानसिक अवस्थालाई हार्ड फेनोमेना कन्सेसनेस भनिन्छ । जसलाई ब्यवहारमा प्राक्टिस गर्ने अहिलेसम्म कुनैपनि साधन छैन । यही मानसिक अवस्थामा धारणाको निर्माण हुन्छ । त्यही धारणाको छनौटबाट चेतनाले जन्म लिन्छ ।

किट-पतङ्ग, चरा, जलचर र जनावरहरू पनि वातावरण र आफ्नो सुरक्षाप्रति हमेसा सतर्क हुन्छन् । तर हामीले आफूबाहेक अन्य मानिस वा जीवको धारणाबारे खालि अनुमान मात्र लगाउन सक्छौँ । तर अरु जीवले के कसरी धारणाको निर्माण गर्दछन् हामीलाई थाहा हुँदैन ।

फिलोसोपर्स डिस्कार्सेसले शरीरलाई भौतिक र आत्मालाई अभौतिक रूपमा मान्दथे । आत्माले शरीरको नियन्त्रण गर्ने कुरालाई उनले आफ्नो दर्शनमा उल्लेख गरेका छन् । मनलाई पदार्थको रूपमा गणना गर्नु उनकानुसार मुर्खता हो । यो विचारलाई हामीले बोडी डुवालिज्म (शारीरिक द्वेदवाद) भनेर बुझ्दछौँ । तर आधुनिक विज्ञानले उनको तर्कलाई अस्विकार गरिसकेको छ ।

चेतनाको अनुमान वा नाप तौल :

जसरी ब्ल्याक इनर्जी र ब्ल्याक म्याटरको हामीले अनुभूति गर्न नसके पनि त्यसको प्रभाव देखिन्छ, त्यस्तै अनुभूतिको प्रभावलाई ब्याक्टोरियादेखि मानवसम्म पारेको प्रभावलाई अनुभव मात्र गर्न सकिन्छ । तर त्यसलाई नाप्ने इकाई पनि हामीले निर्माण गर्न सक्दैनौँ । त्यस्ता प्रश्नहरूको हामीसँग तार्किक जवाफ पनि हुन्न ।

शुक्ष्म तरङ्ग र फोटोनका सुक्ष्म ईकाइहरू, जसलाई हामी फोटोन वा क्वान्टम भन्दछौँ, त्यस्ता क्वान्टम पदार्थहरूले पदार्थ र उर्जाबीच कसरी समन्वय गर्दछन् ? त्यो नबुझ्दासम्म हामीले दिमागमा रहेका प्रोटिन क्वान्टमहरूको ब्याबहारबारे अनुमान पनि गर्न सक्दैनौँ । अस्थिर चरित्रका तरङ्गहरूको अवस्थिति र स्वभाव हामीले बुझ्न नसकिने प्रकारको हुन्छ । इलोक्ट्रोनका क्वान्टम पार्टिकलहरूले अबलोकन गर्दा एक स्वभाव देखाउँछन् भने अवलोकन नगर्दा अर्को स्वभाव देखाउँछन् । हेर्दा त्यही फोटोन प्रकाश जस्तो देखिन्छ भने नहेर्दा पदार्थ जस्तो । इलोक्ट्रोनको यस चरित्रले महान् वैज्ञानिक अल्बर्ट आइस्टाइनसमेत चकित परेका थिए ।

सन् १९६० मा युगेने पाउल विग्नरले यसरी हुने वेभ कोल्याप्सको कारण चेतना हो भनेका छन् । क्वान्टम संयन्त्रको यो मात्र चरित्र हुन सक्दैन । त्यसमा धेरै अन्य चरित्रहरू पनि हुन सक्छन् । त्यसैले चेतनालाई हिसाबको सुत्र जस्तो सोझो अर्थमा बुझ्न हुँदैन ।

जीवको दिमागमा एक जटिल प्रणाली हुन्छ । त्यही जटिल रासायनिक प्रणालीअन्तर्गत जीवको उत्पत्ति सम्भव भएको हो । हाम्रो दिमागमा भएका क्युविला प्रोटिनले पनि क्वान्टम पार्टिकलले जस्तै ब्याबहार देखाउँछन् । त्यसैले दिमागको क्वान्टम पोजिसनलाई बुझ्न धेरै गाह्रो हुन्छ । दिमागको क्रिया प्रतिक्रिया धेरै जटिल अन्तरक्रिया र प्रतिक्रियाको बीचबाट गुज्रन्छ । यसलाई केही हदसम्म दिमागमा चल्ने सामान्य न्युरोनल गतिविधिबाट व्याख्या गर्न सकिन्छ । तर दिमागले कसरी सूचनाको प्रोसेस गर्छ वैज्ञानिकलाई पनि थाहा छैन ।

विचार उत्पादन :

दिमागका वैज्ञानिकहरूको भनाइअनुसार दिमागले जति सूचनाहरू अनुभव र वातावरणबाट प्राप्त गर्दछ तिनै डाटाहरूको विश्लेषणबाट चेतना र ज्ञानको उत्पादन गर्दछ । हाम्रो दिमागका डाटाहरूमा जति जानकारी संरक्षण गरेर राखिएको छ, त्यसैले नै भविष्यको लागि विचार उत्पादन गर्न सघाउँछ अथवा हामीले गर्ने निर्णयलाई प्रभावित पार्दछ । अनुभवको श्रृङ्खला बढ्दै जाँदा दिमागमा डाटालाई राख्ने संरचनाको पनि विकास गर्दै लैजान्छ । त्यही मोडेल हाम्रो अनुभवको लागि जिम्मेवार हुन्छ । त्यसैलाई हामीले चेतन अनुभूतिको बिकास भन्दछौँ । जसलाई अङ्ग्रेजीमा क्वालिया भनिन्छ । त्यसैले चेतना भनेको दिमागमा हुने संयुक्त अनुभूतिको अभिब्यक्ति हो । यसले दिमागका सबै क्रिया-प्रतिक्रिया जोडेर एक नयाँ विचार पैदा गर्दछ ।

अन्त्यमा, सन् १९७० को दशकअघि प्रकाशलाई पनि रहस्यमय चिजको रूपमा बुझिन्थ्यो । तर अब प्रकाश रहस्यको विषय रहेन । प्रकाश अब इलेक्ट्रो म्याग्नेटिक रेडियसन रहेछ भनेर वैज्ञानिकहरूले प्रमाणित नै गरिसके । प्रकाश फोटोनका मलिकुलबाट बनेको जटिल आन्तरिक प्रणाली (क्लोज कम्प्लेक्स सिष्टम) हो । यसले आफ्नो प्रभावलाई बढाउन सक्छ र नयाँ सृजना पनि गर्छ । प्रकाशलाई यस्तो काम गर्न काल्पनिक देवता जस्तो मेजिकल शक्तिको आवश्यकता पर्दैन । त्यस्तै, विचार, भावना र चेतनाको उत्पादन पनि कुनै रहस्यमय तत्व हैन । जीवको पहिलो प्रयास बाँच्न खोज्नु नै हुन्छ  । जीवको पहिलो चेतनाको प्रारम्भ भनौँ । चेतनाको क्रम्बद्धतामा अरु जीव भन्दा मानिस धेरै अगाडि छ । उसले बाँचेपछि आफ्नो नियन्त्रित क्षेत्र र समाजका लागि केही गर्न खोज्छ  । त्यही बाँच्न खोज्ने सचेत प्रयासलाई जिजीविषा भनिन्छ । जिजीविषा पनि दिमागभित्र हुने क्रिया प्रतिक्रियाको परिणाम वा चेतनाको नै उपज हो ।

बाह्य शक्तिको पछि लाग्दा हामी वास्तविकताबाट धेरै टाढा पुग्दछौँ । हामी विज्ञान र प्रमाणिक तथ्यहरूबाट भाग्न पुग्दछौँ । प्रमाणिक आधार नभएका कुरालाई हामीले तुरुन्त अस्विकार गरिदिनु पर्दछ र, खोजको लागि अग्रसर हुनुपर्छ । सकिँदैन भने नयाँ खोज हुने बेलासम्म पर्खनुपर्छ । भनिन्छ, प्रश्न उठाउन नसक्ने काल्पनिक उत्तरभन्दा अज्ञानी बन्नु धेरै वेश ।