असारे अमर फूल

असारे अमर फूल


✍ रामेश्वर राउत मातृदास

खेतको रोपो मनको धोको जीवनको जुहार
पसिना झुल्छन् धानका बाला मंसिरको मुहार
खोलाको पानी आँखाका नानी बाउसे, रोपार
ब्याडे र बाउसे खेताला खेतका सहकाल ओसार
।।१।।
मनको हाँसो यो जीवन नासो मनका पालुवा
हाँसखेल गरी सिर्जना चुमौँ नहुँदै बालुवा
असारे बेठी मेघलाई भेटी छहरा छुटेका
जवानी जुहार तङ्ग्रिए लहर निर्झर उठेका
।।२।।
सपनाजस्तो यो जिन्दगानी फूलमा झुलेका
को आयो ञहाँ विपना बोकी जूनतारा खुलेका
घामका डोली सुनका झोली फाँटमा डोलाई
लिंडुल्को लम्के हली र गोरु इन्द्रेणी बोलाई
।।३।।
स्युपुरी सिउरी घट्टे र सिन्धु खोलाले नाचेका
शिवाङ्गी-धौलेश्वरीले अमर पिरती गाँसेका
सभ्यता हाम्रो सृष्टिमा राम्रो असारे धान रोपो
निराश कहिल्यै हुँदैनन् हाम्रा जुनेली मनधोको
।।४।।
जून र घाम यै धरती धाम सृष्टिको शिरमा
बाँसुरी बज्छन् कृष्णको ओठ त्रिशूली तीरमा
असारे मूलले भकारी भर्छन् नेपाली हाम्रो कुल
रचना उन्नत ईशले सारे असारे अमर फूल ।