नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पाँच व्यक्तित्व पुरस्कृत

नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा पाँच व्यक्तित्व पुरस्कृत


नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले पाँच जनालाई पुरस्कृत गरेको छ । गुठीद्वारा शुक्रबार आयोजित पुरस्कार तथा सम्मान वितरण समारोहमा सङ्गीत तथा बालसाहित्यलगायतका क्षेत्रबाट नेपाली साहित्यको उन्नयनमा पुरऱ्याएको योगदान स्वरुप पुरस्कार प्रदान गरिएको हो ।

गूठीले नूर-गङ्गा स्थापित राष्ट्रिय बालसाहित्य पुरस्कार, संयुक्तरुपमा साहित्यकार गेहेन्द्रमान उदास र कन्हैया नासननीलाई रु. एकलाख नगद राशि प्रदान गरेको छ । त्यस्तै नूर-गङ्गा स्थापित क्षेत्रीय लोकगायन पुरस्कार, लोकगायक पुष्कल शर्मालाई रु. तीस हजार नगद राशि प्रदान गरेको छ भने नूर-गङ्गा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार रामकुमार नेपालीलाई रु. पच्चीस हजार नगद राशि प्रदान गरेको छ । नूर-गङ्गा नवप्रतिभा क्षेत्रीय साहित्य पुरस्कार आयुष्मा तिवारीलाई रु. बीस हजार नगद राशि प्रदान गरेको छ ।

उक्त समारोहमा जापानका लागि नेपाली पूर्वराजदूत तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. केदारभक्त माथेमाले बालसाहित्य, लोकगायनमार्फत नेपाली साहित्यको उन्नयनमा पऱ्याएको योगदानको कदर राज्यले गर्नुपर्नेमा गुठीले गरेको बताउनुभयो । गुठीका अध्यक्ष प्राडा गोविन्द नेपालले गुठीको अक्षयकोषमा रकम वृद्धि गरी एक करोड पुऱ्याउने योजना रहेको बताउँदै पुरस्कृत हुने व्यक्तिको संक्षिप्त जानकारी प्रकाशन गर्ने जानकारी दिनुभयो । विसं २०५२ सालदेखि विभिन्न समयमा पुरस्कार प्रदान गदै आएको छ ।

पुरस्कृत साहित्यकार उदासले विगतदेखि बालसाहित्य क्षेत्रमा गरेका योगदानस्वरुप प्राप्त गरेको पुरस्कारले उत्प्रेणाका साथै साहस प्रदान गरेको बताउनुभयो । त्यस्तै साहित्यकार नासननीले आफ्नो अमरत्व कायम राख्न गूठीको पुरस्कार अनुकरणीय रहेको बताउनुभयो । उक्त समारोहमा गुठीमा लामो समयसम्म कामगरी योगदान पऱ्याउनुभएका अग्रज सदस्य बाबुहरि ज्ञवाली, प्राडा तुलसीप्रसाद पाठक, प्राडा विनोदकुमार श्रेष्ठ र यज्ञप्रसाद शर्मा पोखरेल नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीबाट सम्मानित हुनुभएको छ ।