सुन्दर जीवनको सफलताको राज

सुन्दर जीवनको सफलताको राज


संकल्प लिएपछि शुरु हुन्छ सफलताको तत्वबोध

आफूलाई बदल्नका लागि आफ्नो सोच बदल्न सक्नुपर्दछ । लक्ष्य जति नै उच्च भए पनि सुरूवात आफैंबाट गर्नुको विकल्प छैन । ‘विश्व बदल्नुअघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नुअघि आफ्नो परिवार बदल, परिवार बदल्नुअघि आफैंलाई बदल’ भन्ने भावले सफलताको तहगत श्रेणीतर्फ सङ्केत गर्दछ ।
✍ डिल्ली अम्माई

कुनै पनि मान्छे असाधारण हुँदैन, अर्थात् सबै मान्छे हामीजस्तै सामान्य नै हुन्छन् । तर समयको सदुपयोग गर्दै उचित समयको सही निर्णय र संकल्पअनुरुपको मेहनतले मानिस ‘असाधारण’ कहलिन पुग्छ । आफूलाई कता लैजाने भन्ने कुराको निर्क्योल जीवन जिउने कलाले निर्धारण गर्दछ । त्यसका भित्री र बाहिरी दुई आयाम हुन्छन् । भित्री आयाममा स्वयम्भित्र विकास भएका बानीहरू पर्दछन् ।

मानिसको निजी बानीले उसलाई गतिलो बनाउन वा समाप्त पार्न सक्ने क्षमता आफैंभित्र राख्दछ । जीवनका सफलता र असफलता उसले रोज्ने बानीहरूमा निर्भर हुने कुरा हुन् । आन्तरिक बानी र मानिसले लिने संकल्प जसले मानिसको जीवन-दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

दोश्रो आयाम मानिसले लिने संकल्पको कार्यान्वयन पक्ष हो । जब मानिसले मनको अन्तरक्रियाबाट आफ्नो बाटो तय गर्दछ त्यसलाई संकल्प भनिन्छ । संकल्पलाई कार्यान्वयन गर्ने सिलसिलामा मानिसले प्रयोगात्मक अभ्यासको थालनी गर्दछ । आफ्नो निर्धारित लक्ष्यप्राप्तिको लागि गरिने तयारी, सामाजिक अन्तरक्रिया र संकल्पमा सफलता वा असफलता निर्भर हुन्छ । जब मानिस देखिने गतिविधिको चरणमा प्रवेश गर्दछ त्यसपछि उ बाहिरी आयाममा प्रवेश गर्दछ । यी दुवै आयामको एकआपसमा अन्तरक्रियाको साथसाथै अन्तरनिर्भरता पनि हुन्छ । एक व्यक्ति आफ्नो लक्ष्यमा सफल हुनका लागि यी दुवै आयामको तालमेल हुन उत्तिकै आवश्यक छ ।

उदाहरणको लागि, विख्यात लेखक अगस्टिन ‘ओग’ मन्डिनो (डिसेम्बर १२, १९२३-सेप्टेम्बर ३, १९९६) आफ्नो परिश्रम गर्ने बानी र साधनाले गर्दा प्रसिद्ध अमेरिकी लेखक बनेर निस्के । त्यस्तै अर्को उदाहरणमा, मजदुर वर्गप्रतिको असीमित प्रेम र प्रेरणाबाट म्यासिम गोर्कीले विश्वविख्यात उपन्यास ‘आमा’ लेख्न सके । घरेलु नोकरको रुपमा श्रम गर्ने एक अर्धदास म्याक्सिम गोर्की दृढ संकल्पको कारण महान् लेखक बन्न सके । इतिहासमा सफल भएका मानिसहरूका यस्ता अनगिन्ती प्रेरणादायी सङ्घर्षका कथाहरू भेटिन्छन् ।

लेखक ओग मन्डिनोले एक पटक भनेका थिए, ‘असल बानी सफलताको कुन्जी हुन् भने खराब बानी असफलताको लागि खुला ढोका जस्तै हुन् ।’ उनका अनुसार शक्तिसाली आत्मसुधारका बानीहरूले जीवन परिवर्तनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । ती सफलताका कुन्जीहरूलाई हामीले बुँदागत रूपमा निम्नानुसार विश्लेषण गर्न सकिन्छ :

१. अध्ययनको निरन्तरता :

जीवन विकासको लागि पढ्ने बानी पहिलो नम्बरमा आउँछ । दार्शनिक बन्नेहरूको लागि पुस्तकहरू कुलेसा जस्तै हुन्, अन्वेषकको लागि प्रेरणा र नेताहरूको लागि जानकारीका खजाना जस्तै हुन् । जो-कसैले नयाँ कुराको अनुमान गर्न पुरानो इतिहास बुझ्नुपर्ने हुन्छ । तब, दुनियाँबारे विश्लेषण गर्न समकालीन पुस्तकको ज्ञान चाहिन्छ । आफ्नो रुचिअनुसार लक्ष्य हासिल गर्ने सिलसिलामा गरिने पहिलो काम भनेको एउटा किताब खोल्नु हो । पहिलेका राजनेता वा समाज सुधारकहरूको जीवनी, वैचारिक धारहरूको अध्ययन र अध्ययनबाट आर्जित ज्ञानले मानिसलाई राजनीतिलगायत धेरै क्षेत्रमा सफल बनाउछ । संकल्पलाई दृढ बनाउँछ । विज्ञान, चिकित्सा, खोज, साहित्य र संगीत सबैमा संकल्प तिखार्ने र तार्किक बनाउने काम पुस्तकीय ज्ञानले गर्दछ ।

२. रुचिअनुकुल सञ्जालको खोजी :

अहिले सबैका आफ्नो अनुकुलका सामाजिक सञ्जालहरू हुन्छन् । सत्यको बिज खोजी र प्रयोगमा हुन्छ । अहिलेको सामाजिक सञ्जालले रुचिअनुकुलको सञ्जालमा धेरै सहयोग पुऱ्याउन सक्छ । त्यसको निर्माण आफ्नै रुचिअनुकुल हुनेगरी निर्माण गर्न सकियो भने सामाजिक सञ्जालले हाम्रो जीवन विकासमा अवसर प्रदान गर्नेछ । खोज्ने मान्छेले सामाजिक सञ्जालका सबै उत्पादनलाई ग्रहण गर्न हुन्न ।

भनिन्छ, सृजना गर्ने वा खोज्ने मान्छेमध्ये धेरै अन्तर्मुखी हुन्छन् । अज्ञानीहरूले ठूलो भीडको गर्जन मन पराएझैँ जीवन परिवर्तनको संकल्प लिएको मानिसले भीडको प्रोपगान्डालाई वास्ता गर्नु हुन्न । सिक्ने संकल्प बोकेको मान्छे विनयी र धैर्यवान हुन्छ वा हुनुपर्छ । सिक्ने मानिसले पछाडी बस्न र सबै चीज लिन चाहन्छ । उसलाई म कहाँ बसेको छु भन्ने कुराले खासै अर्थ राख्दैन, त्यहाँ जीवन परिवर्तनको लागि के-कस्ता बहस भए भन्ने कुराले मात्र अर्थ राख्दछ ।

यदि मानिसले आफैंलाई विकास भएको हेर्न चाहन्छ भने, उसले आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्कने प्रयास गर्नुपर्छ, अर्थात् जोखिमको पनि परवाह गर्नु हुँदैन । सफलता जोखिमभित्र छिरलिएको हुन्छ । जोखिम मोल्ने साहसले सफलतालाई धेरै नजिक ल्याउँछ ।

यदि सार्थक जीवनको चाहना छ भने जहाँ छौँ त्यहाँबाट बाहिर निस्केर मनसाय मिल्नेसँग जोडिनुपर्छ र आफ्नो नेटवर्क बढाउँदै लग्नुपर्छ । खोजी गर्दै गयो भने हामीले नयाँ साथीहरू, नयाँ सम्भावनाहरू र उसको लागि पर्खिरहेका समान वैचारिक मनहरू फेला पर्नेछन् । त्यसैले सफलताको अर्को महत्वपूर्ण कुन्जी नेटवर्क पनि हो ।

३. कामको समीक्षा :

कामको समीक्षाले परिणाम दिने र नदिने कर्महरूको फरकलाई पुष्टि गरिदिन्छ । त्यही पुष्टिकरणमार्फत आफ्नो मार्ग तय गर्ने अनुभवको उज्यालो प्राप्त हुन्छ । उज्यालोको अनुभूतिले हाम्रो उर्जालाई सकारात्मक मार्गतर्फ केन्द्रिकरण गर्दछ र आफ्नो मार्गमा अगाडि बढ्ने हौसला साथै प्रेरणा दिन्छ । त्यसैले आफ्ना दैनिक अनुभवलाई प्रशोधन गरी संकल्पसँग एकाकार गराएपछि हामी सफल हुने बाटोमा अगाडि जान सक्छौँ । कार्यान्वयन गर्ने सिलसिलामा मानिसले जीवनमा सिक्नुपर्ने धेरै कुरा हुन्छन् । सिकाइ क्षमता र समयानुकुल हुनु आवश्यक हुन्छ ।

जस्तो कि, आधुनिक समयमा हामीलाई सफलताको बाटोमा लैजान उन्नत प्रविधिको ज्ञान हासिल गर्नु उत्तिकै आवश्यक छ, जति हामीले पढेर वा अनुभवको प्रशोधन गरेर विषयगत सैद्धान्तिक ज्ञान आर्जन गर्दछौँ । आधुनिक युगमा आफ्नो जीवनलाई सफल बनाउन यन्त्र/प्रविधिको सहाराबिना सम्भव नै छैन ।

जस्तोसुकै सफ्टवेयर तथा यन्त्र किन नहोस्, त्यसले जीवनको अभौतिक आयामलाई चुनौती दिन सक्दैन । उदाहरणको लागि अहिले विकास भइरहेको आधुनिक टेक्नोलोजी र कम्प्युटर प्रविधिलाई लिन सकिन्छ । मानवीय संकल्प वा लक्ष्यको सहायक बन्नु नै च्याट जिपिटि वा अन्य अत्याधुनिक सफ्टवेयरको सीमा हो । यी सबै आधुनिक प्रविधिहरू पनि मानिसकै दिमागका उपज हुन् । त्यसलाई प्रयोग गर्ने उपयुक्त तरिकाले मानिसको सफलतामा हवल टेलिस्कोपले झैँ महत्वपूर्ण योगदान गर्न सक्छ ।

४. शारीरिक र मानसिक सक्रियता :

शारीरिक सक्रियताले शरीरलाई सन्तुलनमा राख्छ । शारीरिक सक्रियताको नियमितताले मानिसको मानसिक वृद्धिलाई समेत सकारात्मक प्रभाव पारिरहेको हुन्छ । श्रममा सक्रियताले शारीरिक ब्यायाम हुनुको साथै नयाँ खोज र आविस्कारलाई जन्म दिन्छ । त्यसैले, समयले निश्चित लक्ष्यप्राप्तिको लागि गतिशीलताको माग गर्दछ । अतः घरमा बसिरहनु भन्दा खुला आकासतल घुम्नु, दौडिनु, प्रकृतिको अवलोकन गर्नु र ताजा हावा लिनु पनि नयाँ अनुभवको लागि आवश्यक छन् । भन्न खोजेको कुरा, लक्ष्यको लागि अनुकुल समयमा सम्बन्धित विषयलाई ध्यानमा राखेर आफूलाई शारीरिक र मानसिक रूपले सक्रिय बनाउनु अति आवश्यक हुन्छ ।

थाकेको मानिसले जीवनमा केहि गर्न सक्दैन । नयाँ विचार पैदा गर्न मात्र नभएर त्यसको कार्यान्वयनको लागि पनि योजना निर्माण, कर्म, आराम र पुनः कर्मको लय मिल्नुपर्छ । त्यस्तै, समान भावना र लक्ष्यको लागि हिँडेका मित्रहरू बीचको विचारविमर्शले बाहिरको संसार चियाउन सक्ने विश्लेषणात्मक क्षमता प्रदान गर्दछ । कहिल्यै थाहा नभएको अज्ञात ज्ञानलाई आफ्नो बनाउने यो एक काइदा हो ।

५. आराम :

जीवनको दौडमा मानसिक थकान र शारीरिक थकानका समस्याहरू आइरहन्छन् । यी थकानहरूको सन्तुलित हल गर्ने विभिन्न विधिहरू हुन्छन् । शारीरिक र मानसिक थकान सन्तुलनको लागि योगा, ध्यान र विचारविमर्श पनि अति आवश्यक मानिन्छन् । एउटा सफल जीवनको लागि सङ्गीत सुन्ने बानी, खेलहरू हेर्ने बानी पनि थकान मेट्ने माध्याम हुन सक्छन् ।

सन्तुलित र सुरक्षित श्रम, योजनाहरूको समीक्षा र मनोवादको लागि थाकेको शरीरले काम नदिन सक्छ । त्यसैले, हामी सबैलाई हाम्रो जीवनमा ब्रेक चाहिन्छ । भन्नाले, नयाँ विचार र योजनाको लागि बेलाबेलामा सुस्ताउनु, एकान्तमा चिन्तन गर्नु र भड्केको मनलाई एकीकृत गर्नु जरुरी हुन्छ । सार्थक जीवन विकास र आत्मसहायताका गुरुहरूले हामीलाई भन्नुभए झैँ हामी गो-गो-गोका लागि बनाइएका मेसिन जस्ता होइनौँ । बेला-बेलामा मानसिक तनावमुक्तिको लागि रमण र रेस्ट अति आवश्यक हुन्छ । त्यसैले शारीरिक विश्रामलाई हामीले पूर्ण, आंशिक भागमा विभाजन गरेझैँ मानसिक ब्रेकलाई योगा, विपस्यना तथा चिन्तनको संयोजनबाट थप उर्जावान बनाउन सक्दछौँ ।

६. सेवाभाव :

अहिलेको दुनियाँमा सेवाको भावनाले राजनीति तथा दर्शनलाई सफलतामा पुऱ्याएका धेरै उदाहरणहरू छन् । उदाहरणको रूपमा मदर टेरेसा, सिसेरो, एंगेला मार्केल, लेनिन, महात्मा गांधी, नेल्सन मण्डेला, फिडेल क्यास्ट्रो, चे ग्वाभारा, विन्स्टन चर्चिल, मार्टिन लुथर किङ्ग, अब्राहम लिंकन, नेपोलियन बोनापार्ट, जर्ज वासिङ्टन, जुलियस सिजर्स, कुब्ला खाँ, मार्क्स, माओत्सेतुङ आदि महामानवहरूलाई लिन सकिन्छ । सबै क्षेत्रका सफल व्यक्तिहरू सार्वजनिक सेवा अथवा जनसेवाको माध्यमबाट नै लोकप्रिय बने । सेवाले प्रारम्भिक चरणमा अरुलाई सहारा दिन्छ भने निर्णायक समयमा त्यो सेवाले आफ्नै करियरलाई पनि माथि उठाइरहेको हुन्छ । सेवाको अनुभव ब्यवसायिक तथा सृजनात्मक सफलताको तहमा सदैव हितकारी हुन्छ । अनुभवको लागि मात्र नभएर मान्छेहरूको मन चिनेर आफ्नो सञ्जाल बनाउन पनि सेवा सहायक हुन सक्छ ।

माथि नै भनियो कि सिप प्राविधिक क्षमता (गणितीय/अगणितीय) मात्र नभएर मानवजातिको समुच्च ज्ञान सम्पदाको योगफल हो । सामुदायिक सेवालाई (प्राविधिक र मानवीय) सीमित व्यक्ति, कर्पोरेट हाउस र सरकारको पेवा बन्न दिनुहुँदैन । सेवा मानवजातिको साझा हितमा सदुपयोग गर्नुपर्दछ । यसो गरियो भने मात्र मानव सभ्यता थप समुन्नतितिर अघि बढ्न सक्छ । मानवीय सेवाले स्वयम्को जीवन पद्धतिलाई मात्रै प्रभाव पार्दैन, समग्र समुदायको जीवन पद्दतिमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ ।

७. सूचनाहरूको नियमित ग्रहण र समीक्षा :

भनिन्छ, सुख खोज्नुपर्दैन, दुःखको सदुपयोग गरे पुग्छ । मानिस आफू कहाँनेर छु भन्ने महसूस गर्न नियमित आत्मसमीक्षा र विगतको सिंहावलोकन गर्नु पर्दछ । आफ्नो सफलताका आँकडाहरूलाई भित्री रूपमा प्रतिबिम्बित गर्नको लागि जर्नलिङ एक उत्कृष्ट माध्यम हुन सक्छ । बाहिरी वातावरणबारे पूर्ण जानकारी लिनु पनि जर्नलिङको एक भाग हो । आफ्नो आत्मगत हैसियत र बाह्य सूचनाहरूको समीक्षाले भविष्यको बाटोबारे निर्णय गर्न सघाउँछ । त्यसैले सफल जीवनको लागि यी दुवै अवस्थाको उचित संयोजन हुनु आवश्यक हुन्छ । यस्तो समीक्षाले सर्वप्रथम, आफू कहाँ छु भन्ने कुराको अनुमान गर्न सिकाउँछ भने अर्कोतर्फ यथास्थितिबाट अघि बढ्न के-कसरी सकिन्छ भन्ने आत्मज्ञान पैदा गराउँछ ।

त्यसलाई दर्शन साहित्यमा सूचना सम्वाहनको द्वन्द्वात्मक तरिका भनिन्छ । सूचनाबाट लिने र लक्ष्यको लागि प्रयोग गर्ने यो तरिकाद्वारा नै धेरै मानव अग्रजहरूले सफलतालाई चुमेका हुन् ।

साहित्यमा आफ्नो सृजनात्मक उद्देश्य हासिल गर्न पाठकले साहित्य पढ्दा पाठमा रोचक, यादगार वा महत्त्वपूर्ण अंशहरूको नोट बनाउनु पर्दछ । त्यस्ता प्रभावकारी हरफहरूलाई आफ्नो लेख रचनामा प्रभावकारी रूपले प्रयोग गर्दा नवनिर्मित लेख वा साहित्यको प्रभावकारिता बढ्न जान्छ । जसरी आधुनिक सफ्टवेरबाट उपलब्ध डाटा तथ्याङ्क र अनुसन्धानका रिपोर्टहरू लिँदा लेख विश्वासिलो हुन्छ, त्यसै गरेर साहित्यमा पनि पूर्ववत रचनाबाट प्रभावकारी शैली र उद्धरणहरू लिन सकिन्छ ।

आफ्ना कमजोरीहरू त्याग्ने, बहसमा आएका दुई विपरीत तर्कहरूबाट आफ्नो विश्लेषण तयार गर्ने सृजनात्मक तरिका नै सूचना निचोर्ने ‘द्वन्द्वात्मक’ कला हो । ‘द्वन्द्वात्मक’ शब्द बौद्धिक अनुसन्धानको एक विधि हो । जब पाठकले पाठको बारेमा आफ्ना विचारहरू लेख्छ, जुन कुरालाई अङ्ग्रेजीमा ‘एनोटेटिङ’ भनिन्छ, उसले अर्थ बुझ्ने आफ्नै तरिका विकास गर्न सक्दछ । द्वन्द्वात्मक जर्नलमा सही वा गलतबारे जवाफहरू हुँदैनन् । त्यसमा प्रयोग हुन्छ अनि आफ्नो क्षमताको पाठ र बुझाइको स्तर हुन्छ । समग्रमा भन्दा द्वन्दात्मकताभित्र मौलिक समालोचना हुन्छ । समालोचना भन्नाले बुझ्न सक्ने क्षमताका सकारात्मक तहहरू र नकारात्मक अवस्थाहरूको बीचको आन्तरिक द्वन्द्वलाई बुझाउँछ । सफल जीवनको लागि परिस्थिति र बस्तुस्थितिबारे द्वन्द्वात्मक विश्लेषण कला हुनु आवश्यक मानिन्छ ।

८. कोण :

कोण भन्नाले आफ्नो गन्तव्यको दिशा भनेर बुझ्नुपर्छ । दिशा निर्धारण गर्न पनि आफ्नो क्षमताबारे अन्तर्ज्ञान हुनु आवश्यक छ । अन्तर्ज्ञानको पारखले मात्र हामीलाई आफ्नो गन्तव्यको लागि अध्ययन गर्न, तथ्यहरू संकलन गर्न र यात्राको पूर्वतयारी गर्न प्रेरित गर्दछ ।

सेवा वा श्रमको अनुभवले पनि मानिसको दृष्टिकोणलाई प्रभावित पार्दछ । पुस्तकीय ज्ञानले पनि मानिसको दृष्टिकोणलाई प्रभावित पार्दछ । त्यस्तै, सञ्जालको अन्तरक्रियाले पनि मानिसको ज्ञानको क्षेत्रलाई सकारात्मक प्रभाव पार्दछ । तिनै प्रभावहरूको जोडले मानिसको संकल्पलाई अझै बलियो बनाउँछ । मानिसले आफ्नो क्षमता चिनेर अघि बढ्ने हौसला, बाटो पहिचान गर्ने आत्मबोध र प्रेरणाले ‘कोण’ निर्माण हुन्छ । प्राप्त चेतनाको कारण हामी हाम्रो संघर्ष, पीडा र चुनौतीहरू साझा गर्न सक्छौँ । सफलताबारे सोच्ने र बुझ्ने सन्दर्भमा, हाम्रो मस्तिष्क नै सबैथोक हो । भनिन्छ, हामी जे सोच्दछौँ त्यही बन्दछौँ ।

९. प्रियजनहरूसँगको हेलमेल :

दैनिक कार्यबाट हुने थकान र तनाव कम गर्न प्रियजनहरूसँग समय बिताउनुभन्दा ठुलो औषधि केही छैन । प्रियजन भन्नाले आफ्नो भलो चाहने परिवार र साथीहरू भनेर बुझ्नुपर्छ । मुस्किलका समयहरूमा साथी वा परिवारसँग सुख-दुःख पोखेर रिफ्रेस गर्नु आफूलाई रिचार्ज गर्नुसरह हो ।

जब हामीले प्रियजनहरूसँग समय बिताउछौँ तब थाह हुन्छ कि आफ्नो गन्तव्यको बारेमा परिवार वा साथीहरूले कसरी मुल्याङ्कन गरिरहेका छन् । अरुको समीक्षाले स्वयम्को बारेमा आत्मसमीक्षा गर्न मद्दत गरिरहेको हुन्छ । कतिपय अवस्थामा, आफ्ना गल्ती आफैंलाई थाहा नहुन सक्छ, त्यस्तो अवस्थामा आफन्तका टिप्पणीहरू अमृतसमान हुने हुन्छन् । त्यस्ता टिप्पणीहरूले कठिन परिस्थितिहरूको सामना गर्ने प्रेरणा दिन्छ ।

१०. एक सल्लाहकारको खोजी :

असफलताका दुई कारण छन्- एक, कसैको सल्लाह नमान्नु र अर्को, सबैको सल्लाह मान्नु । आफैंलाई विकास गर्ने एक राम्रो तरिका उपयुक्त सल्लाहकार खोज्नु पनि हो । विशेषगरी राजनीतिमा धेरै सफल नेताहरूले भनेका छन् कि व्यक्ति सफल हुन गतिलो सल्लाहकारको नितान्त आवश्यक हुन्छ । सल्लाहकार त्यस्तो होस्, जसले आफ्नो खराव निर्णयलाई सच्याइदिन सकोस्, आफ्ना कमजोरी पहिल्याइदिन सकोस् र, सामाजिक प्रभावलाई नबङ्ग्याइकन सम्बन्धित व्यक्तिसम्म पुऱ्याइदेओस् ।

सल्लाहकारले गर्ने आलोचना भनेको आगो जस्तो पनि हुनुभएन जसले कागजलाई नै खरानी बनाओस्, बरु कैँचीजस्तो होस्, ताकि कागज काटेर आवश्यकता अनुसारको आकार दिन सकियोस् । त्यस्तो आदर्श सल्लाहकारले अवश्य पनि सफलता चुम्न चाहने जो कसैलाई मार्गदर्शकको भूमिका निर्वाह गर्ने छ । जय-जय मात्र गरिरहने सल्लाहकार छ भने तुरुन्त उसको सल्लाह र भजन सुन्न इन्कार गरिदिनु पर्छ ।

हाम्रो जीवनको उकाली-ओरालीहरूमा विभिन्न प्रकारका व्यक्तिगत सल्लाहकारहरू, भर्चुअल सल्लाहकारहरू र प्रविधिविज्ञ सल्लाहकारहरू हुन सक्छन् । उनीहरूले सल्लाह दिइरहेका छन् भनेर आफैंलाई थाहा नहुन सक्छ । त्यस्ता सल्लाहबारे आत्मिक अन्तरक्रियामार्फत आफैंले समीक्षा गरि निक्र्योल गर्नुपर्छ ।

अन्तमा, सफल जीवनका लागि माथिका कुराहरू बाहेक पनि अन्य धेरै तत्वहरूले भूमिका निभाइरहेका हुन सक्छन् । जस्तो कि यात्रा, नागरिकको दैनिकी, प्रकृतिका तमाम क्रिया-अन्तरक्रियाहरू, माहुरीहरूको एकता, मह निर्माण प्रक्रिया, वातावरण आदिबाट पनि हामीले सिकिरहेका हुन सक्छौँ । अहिले तापक्रमको वृद्धिले पनि धेरै बौद्धिकहरूलाई आफ्नो पूर्ववत लक्ष्यमा प्रभाव पारिरहेको छ । केही वैज्ञानिकहरूले पृथ्वीको विकल्पमा अध्ययन गरिरहेका छन् भने केहीले वातावरण बिनास रोक्न जीवनपर्यन्त अभियान चलाइरहेका छन् । त्यसैले अहिले जीवको सफलता पृथ्वीको आयुसँग, वातावरणको चिन्ता र जीव जगतको रक्षासँग पनि सम्बन्धित बनेर आइरहेको छ ।

यसर्थ, सफलताको निष्कर्ष एउटा व्यक्तिको सफलतासँग मात्र सम्बन्धित नभएर समग्र समुदायको सफलतामा अन्तर्निहित रहेको कुरा अहिले निर्विवाद जस्तै देखिन्छ । ‘विश्व बदल्नुअघि देश बदल, देश बदल्नुअघि आफ्नो समाज बदल, समाज बदल्नुअघि आफ्नो परिवार बदल, परिवार बदल्नुअघि आफैंलाई बदल’ भन्ने भावले सफलताको तहगत श्रेणीतर्फ सङ्केत गर्दछ । आफूलाई बदल्नका लागि आफ्नो सोच बदल्न सक्नुपर्दछ । लक्ष्य जति नै उच्च भए पनि सुरूवात आफैंबाट गर्नुको अर्को विकल्प छैन । अस्तु ।