सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा बाहेक बहस नगर्ने
अदालतभित्रै कर्मचारी कुट्ने कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा नेपाल बार एसोसिएसनले आज सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा ‘यही असार १८ गते दशैभरिका अदालतहरूमा बन्दीप्रत्यक्षीकरणका मुद्दामा बहस पैरवी नगर्ने’ उल्लेख छ ।
जिल्ला अदालत ललितपुरकी कर्मचारी प्रेमिका तामाङलाई हातपात गरेको आरोपमा कानुन व्यवसायी अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । सोही विरोधमा बारले उक्त घोषणा गरेको हो ।
बारले थुनामा रहेका अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्नुपर्ने, सिसी टिभी फुटेज सार्वजनिक गर्नुपर्ने, लामिछानेले दिएको जाहेरी दर्ता गर्नुपर्ने मागसमेत अघिसारेको छ ।
यही असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै विरोधस्वरुप देशभरका अदालतका कर्मचारीहरूले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए । लामिछानेविरुद्ध नासु तामाङले घटना भएकै दिन जिल्ला अदालत ललितपुरमा अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै निवेदन दिएपछि अधिवक्ता लामिछानेलाई पक्राउ गरिएको थियो ।
प्रतिक्रिया