एनआरएनए बेल्जियमको एकता अधिवेशन सम्पन्न !

एनआरएनए बेल्जियमको एकता अधिवेशन सम्पन्न !


धेरै पदमा निर्विरोध चयन, मुख्य नेतृत्वमा पनि सहमतिको सम्भावना !

  • विशेष प्रतिनिधि, बेल्जियम

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको ‘एकताको राष्ट्रिय महाधिवेशन’ आइतबार (२ जुलाई २०२३) भब्य रूपमा सम्पन्न भएको छ । संस्थापन र शेष घले समूहबीच एकताको सन्देश प्रवाहित हुनेगरी संयुक्त रूपमा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनका प्रमुख अतिथि बेनेलक्सका लागि राजदूत गेहेन्द्र राजभण्डारीले बेल्जियमका अभियन्ताहरूको नेतृत्वकलाप्रति आफू विश्वस्त रहेको बताए । आफ्नो मन्तव्यको क्रममा उनले विगतमा एनआरएनए बेल्जियमसँगको सहकार्य राम्रो भएको भन्दै नेपाली समुदायलाई दुतावासले आफ्नो बुताले भ्याएसम्म सहयोग गर्ने बचन दिए ।

उक्त अधिवेशनमा जर्मनीबाट युरोप संयोजक, नेदरल्याण्डबाट केन्द्रिय उपाध्यक्ष, कोषाध्यक्षलगायत पदाधिकारीहरू विशेष अथितिको रुपमा उपस्थित देखिन्थे । त्यस्तै, सम्मेलनमा केन्द्रिय सचिवदेखि पूर्वअध्यक्षहरू, आइसीसी तथा एनआरएनए बेल्जियमका संस्थापकसम्मको आतिथ्यता रहेको थियो । दुवै समितिका युरोप संयोजकहरू र राष्ट्रिय समन्वय परिषदहरू मर्ज गराएर भएको सम्मेलनमा घले समुहका बेल्जियम संयोजक पदम गुरुङले पनि एकताबाट आफू खुशी भएको बताएका थिए । उनले सम्मेलनमा केन्द्रिय सचिव गंगाधर गौतमलगायतले एकताको लागि गरेको पहलको प्रशंसा गर्दै सबैको अस्तित्वलाई स्वीकार्दै अघि बढेमा समुदायमा सकारात्मक प्रभाव पर्ने धारणा राखे ।

सम्मेलनमा नेपाली समुदायलाई विभिन्न रूपले योगदान गरेका, संघ संस्था र ब्यक्तिहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो भने बेल्जियमको बडी बिल्डिङ-२०२३ राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा दुईवटा गोल्ड मेडल जित्ने बडी विल्डर पशुपति कँडेललाई बेनेलक्सका नेपाली राजदूत गेहेन्द्र राजभण्डारी र एनआरएनए बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीबाट संयुक्त रुपमा विशेष सम्मान गर्दै कदरपत्र प्रदान गरिएको थियो । त्यस्तै, विदेशबाट आएका अतिथि तथा मान्यजनहरूलाई मायाको चिनो प्रदान गरियो ।

मनोनयन :

त्यस्तै, गैरआवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकाल २०२३-२०२५ का लागि जुलाई १६ तारिखमा हुन गइरहेको निर्वाचनका लागि अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा क्रमशः अनुजा प्रधान, नायायण सिलवाल, तीर्थ धमला र सीता सापकोटा रहेका छन् ।

उपाध्यक्ष पदमा उम्मेदवारी दिएका क्रमशः पुष्प नेपाल (लोकेन्द्र) र कासी दनै निर्विरोध निर्वाचित भइसकेका छन् भने जनजातिको कोटाबाट उपाध्यक्षको रुपमा इन्दिरा चाम्लिङ राई पनि निर्विरोध निर्वाचित भएको जनाइएको छ । त्यस्तै, युवा उपाध्यक्षमा रिवु बस्नेत र महिला उपाध्यक्षमा सावित्रा गिरी पनि निर्विरोध निर्वाचित भएका हुन् ।

महासचिवमा राजेन्द्र कार्की र रुविना शर्माको उम्मेदवरी रहेकोले सहमति नभए निर्वाचनमा जानुको विकल्प देखिँदैन । त्यसैगरी, आवश्यक दुई सचिवका लागि रमेश दाहाल, ईश्वरा शर्मा र सञ्जय देव श्रेष्ठ गरेर तीन जनाको उम्मेदवारी रहेको छ । महिला सचिवमा जमुना शर्मा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

कोषाध्यक्षमा अजित तुलाचन र हरि रोकाको उम्मदवारी परेकोले प्रतिस्पर्धाको सम्भावना देखिन्छ, तर सहकोषाध्यक्षमा डा. राजु श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् ।

क्षेत्रीय संयोजकहरूमा गेन्ट क्षेत्रबाट हरि लामिछाने, लुभेन क्षेत्रबाट सुरज खरेल, ब्रुगे क्षेत्रबाट देवीकुमारी शर्मा, अन्त्वेर्पेनबाट चित्र गुरुङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिबाट जानकारी दिइएको छ ।

त्यस्तै, महिला संयोजक पदका लागि सरु गुरुङ र शारदा धितालले उम्मेदवारी दिएका छन् । युवा संयोजकमा भने सुदीप चौधरीको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएका छन् । समितिको महिला सदस्यमा सीता कुमारी दाहाल र अशोक केसी पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

६ जना खुल्ला सदस्यका लागि क्रमशः रमेश सापकोटा, सुर्य प्रसाद सापकोटा, गंगा प्रसाद गुरुङ, रोशन गौतम, दीपिका केसी, बिकी मल्ल, दिनेश भण्डारी, विनोद शाही, शम्भु अधिकारी, नीता सुब्बा, जानु नेपाल खरेल, रश्मी निरौला, सुरेश खड्का क्षेत्री, तेज अर्याल, गजेन्द्र बोगटी, चित्रकुमारी खतिवडा, सरोज आचार्यको उम्मदवारी परेको छ ।

आईसिसी सदस्य पदका लागि भीम सुवेदी, मदन दवाडी र हरि भट्टराईको उम्मेदवारी परेको छ । एनआरएनएहरूको सदस्य संख्या तीन हजार पुगेमा तीनै जना निर्विरोध हुने सम्भावना रहेको छ ।

निर्वाचन समितिका सचिव विनोद न्यौपानेका अनुसार जुलाई ३ तारिख राति एघार बजेसम्म दाबीविरोधको लागि समय निर्धारण गरिएको छ भने ९ जुलाई बेलुका ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । तसर्थ, जुलाई ९ को राति ११ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।