मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन

मनोरञ्जन शुल्क डिजिटल प्रणालीमा ल्याउन महानगरको निर्देशन


काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका चलचित्र भवनलाई मनोरञ्जन शुल्क समावेश गरेर ३० दिनभित्र डिजिटल प्रणालीमा ल्याउन निर्देशनसहित पत्राचार गरेको छ ।

महानगरभित्र रहेका १७ चलचित्र भवनलाई मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क सङ्कलन गरेको भए तीन दिनभित्र त्यसमा पहुँच दिन र डिजिटल प्रणालीमा कर सञ्चालन नगरेकाले भने पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणालीमा ल्याई उक्त प्रणालीमा राजस्व विभागलाई पहुँच दिलाउन भनिएको छ ।

डिजिटल प्रणालीबाट बिक्री गरिने टिकटको युजर आइडी र पासवर्ड मागिएको महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिएका छन् । कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

ज्ञातव्य छ, चलचित्र भवनमा प्रवेश शुल्कबापत बिक्री हुने टिकटमा पाँच प्रतिशत मनोरञ्जन कर राखिएको हुन्छ ।