गैरीगाउँले कान्छाको नाति

गैरीगाउँले कान्छाको नाति


✍ श्यामकृष्ण लम्साल

कहिले आफ्ना भनिएकाहरूले
कहिले पराइ ठानिएकाहरूले पनि
घन ठोकेको,
पाइन भर्ने नाममा थिल्थिलो बनाएको
खुकुरी हो, गौरीगाउँले कान्छाको नाति
जसलाई अझ पाइनवाला बनाउने नाममा
ठोक्न हुनेले पनि ठोके
ठोक्न नहुनेले पनि ठोके
थुक्न हुनेले पनि थुके
थुक्न नहुनेले पनि थुके
मुत्न नहुनेले पनि टाउकैमा मुते
भुक्न नहुने पनि भुके
गर्न, भन्न हुने जति हुनेले पनि गरे
नहुनेले, गर्नै नहुनेले पनि गरे
जे-जे नहुनुपर्ने जति सबै पनि भए
ऐया भन्ने मौकासमेत नदिइ
लुट्न सक्नेले लुटे
भुट्न सक्नेले भुटे
भुट्नै नहुनेले पनि भुटे
आजको निरीह नेपाली जनताको प्रतिनिधि पत्र/प्रतिविम्व

जंगलको तीखो काँडो
ऊ अर्थात् गौरीगाउँले कान्छाको नाति
चाहिएको बेला भाँडो भएछ
नचाहिएको बेला ठाँडो भएछ
युगौँयुग बित्दासमेत
ऊ जहाँको त्यहीँ नै अल्मिलिरहेछ,
यही नै हामी नेपालीको तीतो यथार्थ रहिरहेछ ।

  • दिङ्ला, भोजपुर