शिन्जो आबेको हत्या भएको वर्षदिन पूरा

शिन्जो आबेको हत्या भएको वर्षदिन पूरा


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको आधुतिक इतिहासमै कालो दिनको रुपमा चित्रित हुन पुगेको दिन हो जुलाई ८ अर्थात् शिन्जो आबेको हत्या भएको दिन । किनभने, जापानको इतिहासमा आबे नै सबैभन्दा उच्चपदस्थ अधिकारी हुन् जसको गोली हानी हत्या गरियो । गत वर्ष आजकै दिन शिन्जो आबेको हत्या भएको थियो ।

पूर्वप्रधानमन्त्री आबेको पश्चिमी शहर नारामा चुनावी भाषण दिने क्रममा गोली हानी हत्या भएको थियो । गोली प्रहार गर्ने अभियुक्तमाथिको मुद्दा जारी छ भने आबेको हत्यासँगै जापानमा भित्रभित्रै खोक्रो बनाउँदै गएको युनिफिकेसन चर्चको कथित चन्दाअसुली घटनाको चर्चा अझै उस्तै छ ।

आबेहत्याको वर्षदिनमा मध्य टोकियोको जोजोजी मन्दिरमा बिहानै श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिँदा वर्तमान प्रधानमन्त्री किशिदा फुमियो पनि उपस्थित भएका छन् ।

सर्वसाधारणले पनि आवेको तस्बिरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्न सक्ने बताइएको छ । आबेको हत्यापछि विवादित युनिफिकेसन चर्चमाथिको अनुसन्धान जारी छ ।

आबेलाई गोली हानेर हत्या गरेका संदिग्धले अन्वेषकहरूलाई उसले आवेको उक्त चर्चसँग सम्बन्ध रहेको विश्वासले हत्या गरेको बताएका छन् ।

त्यसयता सरकारले ६ पटक संस्थाको बारेमा अनुसन्धान गर्न कानूनी अधिकार प्रयोग गरिसकेको र हाल यसलाई धार्मिक संस्थाको रूपमा विघटन गर्न अदालतको आदेश खोज्ने कि के गर्ने भनेर निर्णयको तयारी गरिरहेको छ ।

आबेको नेतृत्वमा रहेको मुख्य सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीको एउटा गुटले पनि शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गर्नेछ ।

पूर्वप्रधानमन्त्रीको निधनले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टि भित्रको गुट नेतृत्वको संघर्षलाई बढाएको बताइन्छ ।