‘सुनाखरी’को लोकार्पणसहित बेल्जियममा आदिकविको जन्मजयन्ती

‘सुनाखरी’को लोकार्पणसहित बेल्जियममा आदिकविको जन्मजयन्ती


  • विशेष सम्वाददाता, बेल्जियम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बेनेलक्सका तृतीय सचिव रमेश गैह्रेको प्रमुख आतिथ्यतामा २१०औँ भानु जयन्ती कविता वाचन गरी भब्य रुपमा मनाएको छ । २१०औँ भानु जयन्तीका अवसरमा आयोजित सो समारोहका सभापति डिल्ली अम्माई र दुतावासका तृतीय सचिव रमेश गैह्रेद्वारा संयुक्त रुपमा मैनबत्ती बालेर राष्ट्रिय विभुति भानुप्रति श्रद्धासुमन अर्पण गरिएको थियो।

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती गजल संग्रह ‘सुनाखरी’को लोकार्पणसहित बेल्जियमको सांस्कृतिक नगरी अन्त्वेर्पेनमा मनाइएको हो । नेपालको राष्ट्रिय गानपछि महासचिव लोकनाथ शर्माले भानुजयन्तीको सञ्चालन गर्दै स्रष्टाहरुलाई सृजना वाचनको अनुमति दिएका थिए ।

भानु जयन्तीमा उपस्थित पाहुना र श्रष्टाहरुको सम्मान गर्दै अनेसासकी महिला सदस्य मुना ताम्राकारले स्वागत मन्तब्य दिएकी थिइन् । त्यसको लगत्तै अनेसासका संस्थापक कविवर विमल गिरिद्वारा रचना गरिएको र नेपाल हाइकु केन्द्र, ललितपुरद्वारा प्रकाशित हाइकु संग्रहुसुनाखरीुको लोकार्पण भएको थियो।

त्यस्तै, उपन्यासकार पंचम अधिकारीले कथाकार सिन्त पराजुलीद्वारा सिर्जित कथा संग्रह ‘मोम्चो’ दुतावास र अनेसासलाई हस्तान्तरण गरेका थिए ।

लगत्तै, कार्यक्रममा अध्यक्ष र दूतावास सचिवले लोकार्पण गरेको ‘सुनाखरी’ हाइकु संग्रहको समीक्षा मन्तब्यसहित भानुको जीवनीबारे प्रकाश पार्दै अनेसासका पूर्वअध्यक्ष दीपेन्द्र केसीले आफ्नो सृजना बाचन गरेका थिए । त्यस्तै, मन्तव्यको क्रममा ‘सुनाखरी’ कृतिबारे अधिकतम बक्ताहरुद्वारा चर्चा गरिएको थियो ।

कवि केसीले रामायण, बधु शिक्षा, राम गीता आदिका कृति तथा कविताहरुले पाठकलाई ज्ञान दिनुका साथै सामाजिक, नैतिक र चारित्रिक शिक्षा समेत प्रदान गरेको बताउँदै उनका थुप्रै कृति र फुटकर कविता रचना गरेर पनि वास्तवमा उनी रामायणमा बाँचेको बताए ।

कार्यक्रममा साहित्यकार तथा अनेसासका आजीवन सदस्य पंचम अधिकारी, अनेसासका पूर्वअध्यक्ष विमल गिरि, उपाध्यक्ष सौरभ कारंजित, सचिव गोपाल दाहाल, सदस्य जमुना गैरे बास्तोला, निवर्तमान अध्यक्ष परमानन्द सापकोटा, सल्लाहकार मोहन खत्री, महासचिव लोकनाथ शर्मा, अध्यक्ष डिल्ली अम्माई लगायतले आफ्ना रचना बाचन गरेर भानुभक्तको स्मरण गरे ।

प्रवाशी नेपाली समुदायमा नेपाली भाषाको महत्वबारे प्रकाश पार्दै भाषा गुरु तथा साहित्यकार ब्रम्ह वाग्लेले पनि आफ्नो कविता बाचन गरेर नेपालका राष्ट्रिय विभूति आदिकवि भानुभक्तको सम्झना गरेका थिए ।

दूतावासका सचिव गैह्रेले मन्तव्यको क्रममा अनेसासको साहित्यिक र भाषिक कार्यक्रमले आफू प्रभावित भएको बताउँदै नेपाली समुदायद्वारा गरिएको मातृभाषाको जागरणमा व्यक्तिगत रुपमा र दुतावासको तर्फबाट सकेको सहयोग एवम् समर्थन दिने प्रतिवद्धता जनाए ।

कार्यक्रमका सभापति अम्माईले आफ्नो साहित्यिक अनुभवबारे छोटो मन्तब्य दिँदै कार्यक्रमको समापन गरेका थिए ।