एनआरएनए अष्ट्रिया अध्यक्षको लागि ध्रुव पौडेलको उम्मेदवारी घोषणा

एनआरएनए अष्ट्रिया अध्यक्षको लागि ध्रुव पौडेलको उम्मेदवारी घोषणा


  • घटना र विचार , युरोप 

गैरआवासीय नेपाली संघ (आईसीसी) को केन्द्रिय अधिवेशनपूर्व विश्वभर रहेका यसका संगठनहरूको अधिवेशन र निर्वाचनका कार्यतालिका प्रकाशन भइरहेका छन् । विश्वभरजस्तै मध्य-युरोपेली मुलुक अष्ट्रियामा पनि अधिवेसन र चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।

यसै क्रममा गैरआवासीय नेपाली संघ अष्ट्रियाको आगामी नेतृत्व २०२३-२०२५ कार्यकालको निमित्त यहाँ विगत २५ वर्षदेखि बसोबास तथा ब्यवसाय गर्दै आउनुभएका ध्रुव पौडेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । आज अपरान्ह उहाले सामाजिक संजालमा आफ्ना केही भनाइहरूलाई राख्दै अष्ट्रियावासीसँग सहयोगको अपिल गर्नुभएको छ ।

आगामी नेतृत्वको लागि सहमतिय पद्धति अपनाउँदा अष्ट्रिया जस्तो थोरै गैरआवासीय नेपालीहरू बसोबास गर्ने मुलुकमा एकताको सन्देश जाने भन्ने यहाँका अगुवाहरूको चाहना रहेको पाइएको छ । तर पनि सहमतिको ढोकालाई अन्तिमसम्म पनि खोलेर हरेक विचार र समूहसँग वार्तालाप गर्दै अगाडि बढ्ने अध्यक्षका प्रत्यासी ध्रुव पौडेलले बताउनुभएको छ ।

उहाँले आफ्नो उम्मेदवारी घोषणाबारे सामाजिक संजालमार्फत प्रेसित गर्नुभएको सन्देश जस्ताको तस्तै –

सम्भावनाको खोजीमा लाखौँ युवाहरूले आफ्नो जन्मभूमि छोडेजस्तै मैले पनि आफ्नो जन्मभूमि छोडेर आएको आज २५ वर्ष भएछ । हिजोजस्तै लाग्थ्यो यहाँ आएको प्रथम दिन । तर समयले कोल्टो फेरेको महसूस नहुँदै आज मध्य-युरोपेली राष्ट्रको एक सवल मुलुकमा २५ वर्ष बिताउनु भनेको पक्कै पनि सहज थिएन । तर पनि म कहिल्यै नेपाली समुदायबाट बाहिर रहेको छैन । नेपालको माओवादी द्वन्द्वकालपश्चात मुलुक छोडेर यहाँ आउनुभएका दोश्रो पुस्ताको नेपालीहरूका लागि विदेशी भूमिमा पनि आफ्नो कला र संस्कृतिलाई जोगाइराख्न संगठित बनेको सामाजिक संस्था नेसास अष्ट्रियासँगै हरेक सामाजिक कार्यमा सदैव म कुनै न कुनै भूमिकामा यहाँहरूकै साथ रहेको छु । म तपाईंहरूभन्दा अलग नभएको साथै यसै समाजको एक हिस्सा भएको कारण मैले कहिले पनि समाजबाट अलग भएर हिँड्ने प्रयास गरिनँ, सफलता-असफलता जे भए पनि सबैलाई स्वीकार गर्दै आजसम्म पनि म तपाईंहरू समक्ष र साथमै उभिइरहेको छु ।

अष्ट्रियाको सानो नेपाली समाजमा मेरो व्यक्तित्व खुला किताब रहेको मलाई महसूस हुन्छ । यो हिसाबले भन्दा यसै समाजको नेतृत्व गर्छु भन्ने विगतको अपेक्षा जस्तै आज पनि म तपाईंहरूसमक्ष फेरि पनि तपाईंहरूको साथसँगै उभिने प्रयास गरेको छु । मेरो यस अपेक्षामा यहााँहरूको साथ पाउने मा विश्वस्त समेत रहेको छु ।

पछिल्लो २ वर्षको मेरो पहल र प्रयास भनेको सहमतिको सम्भावनालाई पहिलो प्राथमिकता दिनु भन्ने हो । प्रजातान्त्रिक प्रक्रिया एक उत्तम विकल्प भएता पनि जित र हारले समाजलाई दुई भागमा लगेको कयौँ उदहारण हाम्रासामु छन् । मैले महसूस गरेका ती कयौँ उदाहरणलाई आजको दिनमा सम्पूर्ण अष्ट्रियावासी नेपाली समुदायका व्यक्तित्वहरूले समेत महसूस गर्नुहुनेछ भन्ने म विश्वस्त छु ।

मैले यी-यी कार्यहरू गरे भनेर गरेको कर्मलाई प्रचार गरेर आफू लाइभमा आउनुभन्दा कर्म गर्दै गर फल प्राप्त हुँदै जान्छ भन्ने मान्यतालाई मैले सदैव आत्मसात गरेर काम गर्दै आइरहेको छु । कर्मभूमि अष्ट्रिय र जन्मभूमि नेपालको कुनै पनि आवश्यकतामा सदैव मेरो आफ्नो हैसियतको सहयोग आजका दिनसम्म गरिरहेको छु र भोलिका दिनमा समेत मेरो यो कर्मको निरन्तरता हुनेछ भन्नेमा म दृढ छु ।

आजको मेरो आवश्यकता भनेको तपाईंको सहयोग र सुझावको हो ।

मैले यो गर्छु भनेर घोषणा पत्र तयार गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्नुभन्दा यहाँहरूको सुझावको आधारमा मेरा कार्ययोजनाहरू केही दिनमा नै यहाँहरूसमक्ष प्रस्तुत गर्नेछु ।

यहाँहरू सबैको साथ र सहयोगको अपेक्षामा-
तपाईंहरूकै
ध्रुव पौडेल
अध्यक्ष पदको प्रत्यासी
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् अष्ट्रिया