बेल्जियममा धुमधामले मनाइयो किराँतहरूको पर्व उभौली

बेल्जियममा धुमधामले मनाइयो किराँतहरूको पर्व उभौली


  • विशेष सम्वाददाता, बेल्जियम

बेल्जियममा बसोबास गर्ने किराँत समुदायको पुरानो संस्था संयुक्त किराँत समाज बेल्जियमले गत मंगलबार आन्ट्रोप शहरमा उभौली पर्व धुमधामका साथ मनाएको छ ।

बेल्जियमका लागि नेपाली दुतावासका तृतीय सचिव रमेश गैरे र समाजका अध्यक्ष कविता साउदेनद्वारा संयुक्त रूपमा पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरिएको समारोहमा प्रमुख अतिथिको आशनबाट बोल्दै दुतावासका तृतिय सचिव गैरेले विदेशी भूमिमा नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्नु प्रशंसनीय काम भएको बताए । यस्ता सांस्कृतिक पर्वका बारेमा आफ्ना सन्ततिहरूलाई समेत जानकारी गराउन सके राईहरुको मौलिक संस्कृतिको संरक्षण हुने उनको धारणा थियो ।

कार्यक्रमका विशेष अतिथि नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष वीरमान घर्ती मगरले उभौली पर्व किराँतहरुको प्राचीन पर्व भएको र यो पर्व भूमिसँग जोडिएको तथा भूमिपुजकहरू संसारभरी फैलिएको बताए ।

एक फरक प्रसङ्गमा अध्यक्ष मगरले गैरआवासीय नेपाली संघले प्रवासीहरुका लागि नागरिकताप्राप्तिको प्रकृया सहज र सरल बनाउन नेपाल सरकारलाई तत्काल दबाब दिन आवश्यक रहेको सुझाव दिए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वउपाध्यक्ष तीर्थराज धमला, जनप्रगतिशील मोर्चा युरोपका संयोजक वदन योङहाङ, प्रवासी नेपाली मञ्च बेल्जियमकी अध्यक्ष चन्द्रकुमारी गुरुङ (इसा), नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष पूर्ण तिमल्सिना र सीता सापकोटाले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममाको आरम्भमा नेपाल र बेल्जियमको राष्ट्रिय गीत बजाइएको थियो भने पुपुसा फागो चोगबाङ, बदन योगहाङ, शीला कुरुङबाङ, इन्द्रमाया लिम्बु र कविता साउदेनले संयूक्त रुपमा भूमिपुजन गरेका थिए ।

कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष लोकेन्द्र (पुष्प) नेपाल र गायक लाहुरे कान्छालाई स्वागत गरिएको थियो भने बालिकाद्वय दीपशिखा सुब्बा र स्मारिका सुब्बाले संयुक्त रुपमा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सभापति एवं समाजकी अध्यक्ष कविता साउदेनले आफूहरुले प्रवासमा पनि यो कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

कार्यक्रममा राई समुदायको विशेष नाच साकेलालगायत अन्य नाचहरु प्रस्तुत गरिएको थियो भने नाच हेर्न बेल्जियमस्थित सामाजिक संघसंस्थाका पदाधिकारी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटनशत्रपछि बेल्जियमका दोश्रो पुस्ताका कलाकारमध्ये अत्यन्त लोकप्रिय गायक ‘लाहुरे कान्छा’ले आफ्नो बेजोड प्रस्तुति पस्किए । युरोप-नेपाल कलाकार समाज बेल्जियमका महासचिव समेत रहेका ‘लाहुरे कान्छा’ पछिल्लो समयमा बेल्जियममा मात्र नभइ युरोपभरी लोकप्रिय बनेका छन् । उनका गायन कला पहिलो पुस्तामा मात्र नभइ दोश्रो पुस्तामा समेत निकै लोकप्रिय बन्दै गएको छ ।