सम्झना

सम्झना


✍ राचन्द्र ढकाल ‘कोमल’

अबदेखि मलाई भेट्न, तिमी एक्लै आए पुग्छ
रमाएर मेरो मुटु, कुटु-कुटु खाए पुग्छ
गर्नु के नै छ र यहाँ, चित्रगुप्त लेख्ने भावी
खुशी हुनु रमाउनु, तिम्ले मिठो गाए पुग्छ ।

तिम्रा लागि सबै सकेँ, मैले आफ्ना नाताहरू
घाम वर्षा भन्दाभन्दै, मक्किएछन् छाताहरू
यि विधाता फकाएर, खोला बगर् जान थालेँ
अब भेट्ने मन भए, घाटतिर धाए पुग्छ ।

माटो पनि रमाउँदछ, ढुङ्गा साथ भयो भने
तारा उस्तै खुशी देख्छु, उल्का झरी गयो भने
अब म त चाहन्न है, यस्तो उस्तो केही पनि
क्षतिजबाट सधैं सधैं, तिमी देख्न पाए पुग्छ ।

मन छैन भने मेरो, मुख देख्न तिमीलाई
कहीँ कतै अबदेखि, हेर्नु छैन भने मलाई
आँशु झार्नु पर्दैन है, दुःख-कष्ट अरू केही
हावा बन्द हुने गरी, धुरी टम्म छाए पुग्छ ।

बादलभन्दा माथि-माथि, घुम्ने मन भयो मेरो
देख्ने मन होला तिम्रो, त्यसैभित्र चाँदी घेरो
तिमी खुशी म नि उही, धर्म हाम्रो एकै होला
श्रद्धाञ्जली दिँदा नाम, एकचोटि बाए पुग्छ ।