✍ राजेन्द्र पाठक
नकल्पेका दुःखहरू भोगीसकेँ मैले !
नअल्पेका सुखहरू खोजीसकेँ मैले !!
दःख-सुख हाँसो खुसी भोगीसकेँ मैले !
तेत्तीसकोटी देवीदेवता ढोगीसकेँ मैले !!
कति बोलाएँ देवतालाई बोल्दै बोलेनन् !
जिउँदा छन् कि मुर्दा मुख खोल्दै खोलेनन् !!
प्रसाद भेटी फुल-अक्षता चढाइसकेँ मैले !
जिउँदै भए बोल्दा हुनन् खुसी हुँदा कैले !!
भुत प्रेत मशानघाटमा देखिसकेँ मैले !
मन्दिरभित्र देवतालाई भेटिसकेँ मैले !!
जिउँदै हुँदा डराउने मन डराएन ऐले !
सयौँ भारी दाउरा जल्दा कराएन ऐले !!
दन्दन जल्यो कोमल तन पोल्दै पोलेन !
मायालुले डाँको छोड्दा बोल्दै बोलेन !!
मनको इच्छा मनैभरि पोको खोलेन !
मलामीलाई पोलीसक्यो उसलाई पोलेन !!
खरानी’भो प्यारो तन पखालिन्छ ऐले !
फोटो चित्र बाँकी रह्यो जीवन छैन ऐले !!
हाँसोखुशी भरी दिन्थ्यो ज्युँदो छँदा पैले !
चौबाटोमा भेट हुँदैन अब जैलेतैले !!
प्रतिक्रिया