जापानमा दुई नेपाली युवाको नदीमा डुबेर मृत्यु

जापानमा दुई नेपाली युवाको नदीमा डुबेर मृत्यु


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानको यामागुची प्रान्तको इमाजु नदीमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका दुई नेपाली युवा कृष्ण कँडेल र प्रितम खरेलको अन्तेष्टि शुक्रबार जापानमा नै गरिने भएको छ ।

बुधबार दिउँसो काम सकाएर घरनजिकको नदीमा चार जना साथीसहित पौडी खेल्न गएका बाग्लुङ बिहु घर भएका २८ वर्षीय कृष्ण कँडेल र गुल्मी दलल्का घर भएका २२ वर्षीय प्रितम खरेलको डुबेर मृत्यु भएको थियो ।

दिउँसो (लन्च समय) रेष्टुरेन्टको काम सकाएर नदीमा पौडी खेल्न गएका कँडेल र खरेल एक घन्टाको बीचमा खोलामा डुब्न पुगेको सँगै गएका युवाहरुले जानकारी दिएका छन् ।

गुल्मी घर भएका धनपति खरेलका माहिला छोरा २२ वर्षीय प्रितम खरेल चार सन्तानमध्ये जुम्लिया सन्तान हुन् ।

कुक भिषामा श्रीमतीसहित जापान बसोबास गरेका कृष्ण कँडेल पारिवारिक सदस्यहरु पनि जापानमा रहेको बुझिएको छ ।

प्रितमका बुबा र आमा एक हप्ताअघि नेपाल गएकोमा यो घटनापछि बिहीबार नै जापान आइपुगेका छन् ।

शुक्रबार अन्तेष्टि गरिने

पौडी खेल्ने क्रममा मृत्यु भएका कँडेल र खरेलको शुक्रबार बिहान श्रद्धान्जलीसभाको आयोजना गरिने एवं सहभागी भइदिन सबैमा परिवारले अनुरोध गरेको यामागुचीबाट विपिन कँडेलले जानकारी दिएका छन् ।

बिहीबार प्रितम खरेलका बुबा आमा नेपालबाट जापान आइपुगेपछि प्रहरीले कृष्ण कँडेल र प्रितम खरेलको शव परिवारलाई बुझाएको थियो । शुक्रबार बिहान ८ः३० बजेबाट श्रद्धान्जलीसभा हुने र त्यसपछि अन्तेष्टि शुरुहुने बताइएको छ ।

मंगलबार पौडी खेल्ने क्रममा दुवै नेपाली युवाको मृत्यु भएको थियो ।